थारू समुदायमा महिलाहरूले श्रीकृष्ण जन्माष्टमी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन्।
भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा यो पर्व पर्ने हुँदा थारु भाषामा यसलाई ‘अष्टिम्की’ भन्ने गरिन्छ।
अष्टमी पर्वमा थारू महिलाहरू एकाबिहानै घरका सदस्यहरू सँगै बसेर सामूहिक रुपमा दर खाने गर्छन्। त्यही दरको आडमा किशोरी तथा महिलाहरू दिनभर निराहार व्रत बस्छन्। किशोरीहरू योग्य वर पाउने कामनासहित व्रत बस्छन् भने विवाहित महिलाहरू आफ्नो पतिको दिर्घायु र सुश्वास्थ्यको लागि व्रत बस्ने गर्छन्।
कृष्णको जन्मोत्सवमा विशेष पूजा आराधना तिनै कृष्ण (कान्हा) को गर्ने गरिन्छ। बेलुकी पख सामूहिक रूपमा गाउँको अगुवा महटावाँको घरमा गएर बर्तालुहरूले पालैपालो श्रीकृष्णको पूजा आराधना गर्छन्।
घरको कूल देवतालाई घरमूलीले सम्झेर बत्ती बालेर थालीमा अक्षता, छेउछेउमा घुन्यासरको फूल,सालको पातमा सिन्दुर (सेन्डुर), माटोको पालामा बत्ती बालेर राखिन्छ।
यसरी जाँदा उनीहरूको टाउकोमा बत्तीको उज्यालोमा थारु महिला र गोपिनीहरूको अनुहार राधाको प्रतीकको रूपमा हेर्ने गरिन्छ।
अष्टिम्की पूजा गर्न जाँदा सबभन्दा पहिले घरमूलीले सुरूमा थाली उठाइसकेपछि मात्र अरुले क्रमशः लाइनबद्ध तरिकाले उठाउने गरिन्छ।
पूजा गर्ने स्थान पुगेपछि पनि घरमूलीदेखि नै सुरू हुन्छ। घरमूलीले पूजा नगर्दासम्म कसैले पूजा गर्न पाउँदैन।
यसरी कृष्ण (कान्हा) को पूजा गर्ने बेला थारु समुदायका महिलाहरूले भगवान कृष्णको सम्झनामा गीत पनि गाउने गर्दछन्।
गीत गाउँदै पूजा गर्ने र पूजा गरिसकेपछि पुनः सबै दिदीबहिनीहरू आ-आफ्नो घरमा गई थारुहरूको परम्परा अनुसार विशेष गरी कृष्णलाई मन पर्ने परिकार दही, केरा,काँक्रा, अम्बा लगायतका फलफूलले कृष्णलाई पूजा गर्ने गर्दछन्।
साँझ घर फर्किएर घरमा तयार पारिएको परिकार पहिले आफ्ना दाजुभाइका लागि आफ्नो भागबाट छुट्याएर राख्छन्।
थारुहरूले हरेक पर्वमा पुज्ने अग्नि देवताको लागि पनि भाग छुट्याइन्छ। परिवारका सबै सदस्यसँगै बसेर रमाइलो गर्दै एकअर्कामा माया र सद्भाव साटासाट गर्दै खाने र रमाउने गरिन्छ।
पूजा समापनपछि विशेष परिकारका साथ रमाइलो गरी एक आपसमा बाँडीचुँडी खानपिन गर्ने चलन थारु समुदायमा छ।
रातभरि कृष्णको अगाडि बालिएको बत्ती निभ्यो भने मागेको मनोकांक्षा पूरा नहुने विश्वास थारु समुदायमा छ। त्यसैले बत्ती निभ्न नपावस् भन्दै रातभरि जाग्राम बसेर कृष्णको सम्झनामा गीत गाउने गरिन्छ।
अग्रासनको महत्व
अष्टमीमा दिदी बहिनीले दाजुभाइलाई दिने कोसेली (अग्रासन)को विशेष महत्व छ। यसले दाजुभाइ र चेली बीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास छ।
अग्रासन विवाहित वा अविवाहित दुवैले आफ्ना दाजुभाइका लागि छुट्याउने गर्छन्।
कृष्णको पूजा गरेर अग्रासन छुट्टाएर अविवाहित युवतीहरूले घरको दाजुभाइलाई खान दिने र विवाहित महिलाहरूले माइतीमा रहेका आफ्नो दाजुभाइलाई अग्रासन (उपहार)दिन जाने प्रचलन छ।
सबै चेलीबेटी जम्मा भएर रमाउने र एक अर्कामा माया र सद्भाव साटासाट गरेर यो पर्व मनाइन्छ।
थारू जातिको इतिहास प्रारम्भ भएदेखि थारू महिलाहरुले अष्टमी पर्वलाई उत्साहका साथ मनाउँदै आएको थारु अगुवाहरू बताउने गर्छन्।
थारू जातिको उत्पत्ति कहाँ र कसरी भयो ? थारूहरुको सभ्यताको विकास कसरी भयो ? भन्ने जस्ता कुराको स्पष्ट चर्चा अष्टमीमा गाइने गीतमा पाउन सकिन्छ।
सधैं काममा व्यस्त रहने थारू समुदायका महिलाहरूले अष्टमी पर्वको दिन रमाइलो गर्दै कामको थकान मेट्ने दिनको रूपमा पनि लिने गरर्छन्।
थारु चित्रकलाको महत्व
अष्टमीको दिन बिहानै गाउँको अगुवा, महटावाँ, भलमन्साको घरमा बैठक कोठा (बह्री)मा उत्तरतिरको भागमा भित्तामा चित्र बनाइन्छ।
अष्टमीमा बनाइने ती हरेक चित्रको महत्व फरक फरक हुन्छ। सबभन्दा माथि ४ वटा मान्छेको टाउको बनाइएको हुन्छ। जसलाई थारू भाषामा ‘बरमुन्हा’ भन्ने गरिन्छ।
‘बरमुन्हा’ रामायणको रावणको थारू नाम हो। भित्तामा बनाइने तस्वीरहरु फ्रेममा हुन्छ। फ्रेम आकारको छेउछेउमा त्रिभुज आकारको रंगीविरंगी बुट्टा भरिएको हुन्छ।
एक लाइनमा द्रौपदीको चित्र कुँदिएको हुन्छ भने अर्को एक लाइनमा पाँच पाण्डवहरूको तस्वीर हुन्छ।
पाण्डव थारू समुदायको सबभन्दा ठूलो देवता भएकाले जन्माष्टमीमा पनि पाण्डवको तस्वीर अनिवार्य रूपमा बनाउनु पर्ने हुन्छ।
पहिले थारु समुदायका घरले छुट्टै पहिचान बोकेका हुन्थे। साना र झिझाले बेरेका घरहरू हुन्थे। आज घरको बनावटमा पनि परिवर्तन आएको छ। जसले गर्दा चित्र बनाउने ठाउँको अभाव पनि देखिन थालेको छ।
थारु जातिको मौलिक तथा प्राचिन कला, संस्कृति हराउने चिन्ता बढेको कतिपय थारु अगुवाहरू व्यक्त गर्दै आएका छन्।
अष्टमीको दोस्रो दिन
अष्टमीको दोस्रो दिन बिहान पनि थारू समुदायका लागि महत्वपूर्ण दिन मानिन्छ। रातभरि जाग्राम बसेका महिलाहरू बिहानै भाले बासेसँगै घरमा कोही भान्सा पस्छन् भने कोही दैनिक दिनचर्यामा व्यस्त हुन्छन्।
विस्तारै उज्यालो भएसँगै पुनः कृष्णको पूजा गर्छन्। रातभर जाग्राम बसेका बर्तालुहरूले आठौं अवतारको रूपमा कंशको नाश गर्न जन्म लिएका मानिने कनैया (कृष्ण) को पुनः बिहान पूजा गर्छन्।
मौलिक भेषभूषामा महिलाहरु सजिएर लामबद्ध तरिकाले अष्टिम्की पूजा सामग्रीलाई गाउँको अगुवाको घरतिर लैजान्छन् । पूजा सकेपछि सामूहिक रूपमा सबैजना मिलेर नजिकैको जलाशय, खोला, नदी, तालमा फुलपाती सेलाउन (बगाउन) जान्छन्।
फूलपाती सेलाएर रमाउँदै पुनः घर फर्किने र घरमा पकाएको मीठा परिकार दाजुभाइको लागि छुट्याएर अग्नि देवतालाई पूजा गरी बर्तालुले खाने गर्छन्।
यो दिन घरमा जोडा तरकारी पकाउन नमिल्ने प्रचलन पहिलेदेखि थारु समुदायमा रहँदै आएको छ। त्यसैले विजोडा तरकारी ३, ५ तथा ७ वटासम्म विभिन्न किसिमका गेडागुडी, सागपातको तरकारी पकाउने प्रचलन छ। अन्य पर्वमा थारु समुदायले माछा मासुलाई महत्व दिने गरेता पनि यो पर्वमा भने सागपातलाई विशेष प्राथमिकता दिने गरिन्छ।