नेपालकी पहिलो महिला प्रहरी
त्यो बेला देशमा भर्खर प्रजातन्त्र आएको बेला थियो। ७० वर्षअघिको नेपाली समाज आजभन्दा धेरै पितृसत्तात्मक थियो। अधिकांश महिला घरको चौघेरामा सीमित थिए।
सरकारी कार्यालयमा महिलाको उपस्थिति शुन्यजस्तै थियो।
निजामति कर्मचारीमै महिला भर्ती हुन नसकेको जुगमा बन्दुक बोक्नु पर्ने, डन्डा चलाउनु पर्ने सुरक्षा निकायमा महिलाको सहभागिता धेरैले कल्पना नै गर्दैनथे।
त्यही बेला नेपाल प्रहरीमा भर्ना भएकी हुन्-चैतमाया डंगोल।
उनी पनि जानेर बुझेर प्रहरीमा गएकी भने होइनन्।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको कार्यालयमा लैजाने भन्दै २००८ सालमा डंगोललाई झुक्याएर प्रहरीमा भर्ना लिइएको थियो। तत्कालीन कांग्रेसका काठमाडौंका नेताहरूले उनलाई प्रहरीमा जागिर लगाइदिएका हुन्।
‘हामीलाई त सुरूमा कांग्रेसकै कार्यालय हो भन्दै खेल्न लगाए, रमाइलो भयो। त्यसमै भुल्यौं। चार महिनापछि हामीलाई सिंहदरबारमा लगेर प्रहरी बनेको जानकारी गराइयो,’ चैतमायाले सेतोपाटीसँग भनिन्,‘सुरूमा जागिर नखाने भन्यौं तर तालिम गरेको पैसा फिर्ता दिनु पर्ने नभए जेल जाने भनेर तर्साए। बाध्य भएर प्रहरी बन्यौं।’
त्यतिबेला नेपाल प्रहरीमा महिलाका लागि २५ दरबन्दी तोकिएको थियो। चैतमायासँगै १२ जनामात्र प्रहरी बनेका थिए।
चैतमायाका श्रीमान् केदारबहादुर श्रेष्ठ व्यापार गर्थे। श्रीमती प्रहरी भएको थाहा पाएपछिले उनले जागिर छोड्न भने।
चैतमायाले खाइसकेको जागिर छोड्न मानिनन्।
जागिर नछोडेकै कारण उनी र उनका श्रीमानबीच झन्डै पाँच महिना बोलचाल नै भएन। उनी माइत गएर बसिन्।
चैतमायाले खाइसकेको जागिर नछोड्नुका पछाडि कारण प्रहरीको जागिर भए पनि केही काम गर्न पर्दैनथ्यो।
‘हाम्रो त अफिस जाने आउनेमात्रै काम थियो। खेल्न पाइन्थ्यो। पैसा पनि आउँथ्यो। प्रहरीको ड्रेससमेत लगाउन परेन,’ उनले भनिन्,‘महिला कर्मचारी नभएको त्यो समयमा महिला प्रहरीलाई सबैले साथ दिएका थिए। सजिलो भएकैले मैले जागिर छोडिनँ।’
प्रहरीलाई त्यो समयमा पुलिस भनेर बोलाउने चलन थियो।
चैतमायालाई त झनै ‘ए पुलिस, ए पुलिस’ भनेर हैरान पार्थे रे।
‘त्यो बेला त लाजै हुन्थ्यो। ए पुलिस, ए पुलिस भन्दै जिस्क्याउँथे। म हिर्काउन जान्थें। मान्छे भाग्थे र पो,’ उनी फिस्स हाँसिन्,‘त्यस्तो बेला काम गरेको भएरै होला अहिले पनि मान पाइरहेको छु।’
त्यो बेलामा प्रहरीलाई ड्रेस लगाउन पनि पर्ने थिएन।
१० बजे कार्यालय गएर ५ बजे फर्किन पाइन्थ्यो। काम परेको बेलामा र कुनै बेला महिलाहरूलाई पक्रिन पर्ने भयो मात्रै हिँड्नपर्थ्यो।
३२ वर्ष प्रहरी हुँदा चैतमायाले अधिकांश समय काठमाडौंमै बिताइन्।
चुनावको समयमा मात्रै सरकारले महिला प्रहरीलाई काठमाडौं बाहिर खटाउँथ्यो।
पञ्चायतकालमा हुने चुनावमा जनताले ठूलो मान सम्मान गर्ने गरेको बताइन्। पञ्चायतकालमा धेरै जिल्लाका सदरमुकामहरू सारिएका थिए। त्यही क्रममा उनी तनहुँको बन्दीपुर गएकी थिइन्। सदरमुकाम दमौली सार्ने भएपछि बन्दीपुरका स्थानीयहरूले २२ दिनसम्म आन्दोलन गरे। प्रहरीलाई पानीसम्म रोकेको समयमा दमौली सदरमुकाम सार्ने क्रममा आफू पनि बन्दिपुर गएको उनले बताइन्।
जागिरे हुँदा उनले यस्ता थुप्रै कुराको अनुभव गर्न पाइन्।
पञ्चायतविरोधी आन्दोलनमा सहभागी महिला नेतृहरूलाई गिरफ्तार गरेकोदेखि उनीहरूलाई अस्पतालमा निगरानी गर्नेसम्ममा उनी खटिएकी थिइन्।
‘वीपी कोइरालाको श्रीमती (सुशीला कोइराला), भाइ बुहारी(नोना कोइराला), भान्जी (शैलजा आचार्य)लगायतलाई प्रहरीले गिरफ्तार गरेर लान्थ्यो। जेलमा साँघुरो भएपछि उहाँहरू बिरामी भएँ भनेर अस्पताल जानुहुन्थ्यो,’ उनले भनिन् ,‘ हामी उहाँहरूलाई कुरेर वीर अस्पतालमा बस्थ्यौं। अस्पतालबाहिर हतियार बोकेका प्रहरी खटिन्थे।’
त्रिभुवन विश्वविद्यालय स्थापना गर्ने क्रममा कीर्तिपुरका स्थानीयले विरोध गरेका थिए।
२०१६ सालमा भएको आन्दोलनलाई नियन्त्रण लिने क्रममा पनि चैतमाया धेरै दिन त्यहाँ गइन्। उनका अनुसार कीर्तिपुरवासीले नापी मालपोतका महत्वपूर्ण कागजात नै च्यातेर आन्दोलन गरेका थिए।
‘विश्वविद्यालयको जग्गा लिने क्रममा सरकारको धेरै नोक्सान भएको थियो। कीर्तिपुरेहरू जग्गा दिने पक्षमा थिएनन्। उनीहरूले हामीलाई लुकेर हिर्काउने लडाउने गरेका थिए,’ उनले भनिन्,‘बिहान गएर बेलुकामात्रै फर्किन्थ्यौं। धेरै दुःख गरेर युनिभर्सिटी बनेको हो।’
२००८ सालमा प्रहरी जवान बनेकी चैतमाया २०३२ सालमा प्रहरी सहायक निरीक्षक(असई) बनिन्।
उनले लामो समय असईको जागिर खाइनन्। २०३९ सालमा रिटायर्ड भइन्।
केही समय सेवामा रहेको भए प्रहरी नायब निरीक्षक (सई) बन्ने पक्का थियो। तर उनले अचानक जागिरबाटै राजीनामा दिइन्।
राजीनामा दिनुका पनि कारण थिए।
२०३९ साल मंसिरमा उनी जनकपुर गएकी थिइन्। जनकपुरबाट काठमाडौं फर्किने क्रममा रातारात काठमाडौं बोलाइयो। काठमाडौंमा रमाइलो मेला हुन लागेको रैछ।
त्यतिबेला हुने रमाइलो मेलामा रानीसहित राजपरिवारका महिला सदस्यहरू पनि जान्थे।
त्यही भएर उनलाई हतार-हतार बोलाइएको थियो। उनी रमाइलो मेलामा खटिइन्।
‘काम गर्ने मान्छेलाई धेरै पेल्ने गरिन्छ। मलाई पनि त्यस्तै भयो त्यसपछि मैले जागिर छोडें। राजीनामा दिएको ६ महिनापछि मात्रै स्वीकृत भयो,’ उनले भनिन्, ‘मेरो घरमा पनि जागिर छोड्न पर्ने अवस्था आएको थियो। त्यसपछि जागिरमा बसिरहन मन लागेन।’
पहिलो महिला प्रहरी भएकाले अचेल धेरै कार्यक्रमहरूमा उनलाई सम्मान गर्न बोलाउँछन्।
‘पहिलो महिला प्रहरी भनेर धेरै ठाउँमा सम्मान गर्छन् अनि तपाईंले गर्दा हामी यो ठाउँमा आउन सकेका छौं भन्छन्,’ उनले हाँस्दै भनिन्, ‘मैले राम्रै गरेको रैछुजस्तो लाग्छ।’
अहिले चैतमायामा आफन्तसँगै चावहिल आफन्तसँगै बस्छिन्।
उनका सन्तान छैनन्। श्रीमान बितेको १० वर्ष भयो।
‘८७ वर्ष भएँ। काम गर्न केही सक्दिनँ। चुप लागेर बस्छु, खाना थोरै खान्छु,’ उनले भनिन्,‘पेन्सनबाट आउने पैसा अनि घरबहालले गर्दा दुःख छैन।'