बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा करिब पाँचसय जनालाई लालपुर्जा वितरण गरेको छ। साविकको मोतिपुर र सेमलार गाविसका विभिन्न टोलमा ब्लकका घर बनाएकालाई जग्गाको लालपुर्जा वितरण गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
प्रमुख सुवेदीले उपप्रमुख र कार्यपालिका सदस्य समेतको टोली लिएर मोतिपुरका ज्येष्ठ नागरिक जगन्नाथ ढकाल र उनका दुई भाईलाई लालपुर्जा वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। घरघरमै पुगेर लालपुर्जा वितरण गरिएको हो।
ज्येष्ठ नागरिक हरिप्रसाद ढकालले जति नै जग्गा भएपनि स्वामित्व पाउन नसक्दा निराशा लाग्ने अवस्थाको अब अन्त्य भएको बताए। २०२७ सालमा पाउनुपर्ने लालपुर्जा अहिलेसम्म नपाएकोले समस्या समाधानका लागि अहिले सरकारले यस्तो प्रकृया अगाडि बढाएको प्रमुख सुवेदीले बताए।
जग्गाधनी प्रमाणपत्र पाएकोमा जग्गाधनीलाई बधाइ दिँदै औद्योगिक करिडोर र आसपासमा रहेका सबै अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउने गरि काम तीब्र पारिएको उनले बताए।
सेमलार, मोतिपुर, रानिगञ्ज, पोखराबारी तथा मनोहरापुर क्षेत्रमा गरी चार सय बढीलाई लालपुर्जा वितरण गरिएको हो। फिल्डमै पुगेर जग्गाधनीका हातमै लालपुर्जा उपलव्ध गराइएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।
वडा नं १७, १८ र १९ का वडाध्यक्षहरु सन्तबहादुर राना, हुमनाथ आचार्य र खिमबहादुर खत्रीसहितका जनप्रतिनिधिहरुको रोहवरमा नापी कार्यालयका पदाधिकारीले जग्गाको लगतका बारेमा अध्ययन गरेका थिए।
लामो समयदेखि जोतभोग गरेपनि आफुहरुको स्वामित्व नहुँदा बहुउपयोगका काम हुन नसकेको भन्दै त्यसक्षेत्रका बासिन्दाहरुले गुनासो गरेका थिए। रुपन्देहीमा मात्रै आँकडा अनुसार यो खाले समस्याका करिब दुई हजार दुईसय जति लालपुर्जा तयार भइरहेको र संगसंगै वितरण पनि भइरहेको नापी कार्यालयका अमिन लक्ष्मण गिरीले जानकारी दिए। समस्या समाधानका लागि बुटवलको विशेष पहल गरेर सहज बनाएको अमिन गिरीले बताए।
बुटवलले अव्यवस्थित बसोबास र सुकुम्बासीका अलग अलग तथ्यांक संकलन गरिरहेको छ। अव्यवस्थित बसोबासीको पहिलो चरणको तथ्यांक संकलनका काम पूरा भइसकेको र तिनको कागजातका बारेमा अध्ययन भइरहेको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन्।
बुटववल उपमहानगरपालिकासहित रुपन्देहीका १६ वटै पालिकाका सबै वडाहरुमा जिल्ला नापी कार्यालयले सार्वजनिक जग्गा एकीन गरेर विवरण पठाएको छ। विवरण अनुसार बुटवलका सबै वडामा प्राविधिकसहितको टोली खटाएर थप विवरण अद्यावधिक गर्ने काम भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए।
नापी कार्यालयले एकीन गरी पठाएको र यहाँ भएको विवरणलाई भिडाएर हेर्ने र थप सोधखोजसमेत गरिएको शर्माले बताए। बुटवलसहित यहाँका सबै स्थानीय तहमा सार्वजनिक जग्गाको लगत संकलन गरेर पठाइसकेको नापी कार्यालयले जनाएको छ।