शान्तिनगर गाउँपालिकाकी ३२ वर्षीया निर्मला वली अपांगता भएकी महिला हुन्। उनको एउटा हात र खुट्टामा समस्या छ।
निर्मलाले तुलसीपुरका सडकमा बसेर मकै पोलेर जीवनयापन गर्दै आएकी थिइन्। मकै उनका पतिले झन्डै १३ किलोमिटर दक्षिणको फूलबारीबाट ल्याउँछन्।
मंगलबार दिउँसो पनि उनले तुलसीपुरको बसपार्कको पिपलबोट नजिकै मकै पोल्ने सुरसार गर्दै थिइन्। त्यहीँ बेला तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दिपक कुमाल त्यहाँ पुगे।
निर्मलाले पोल्दै गरेका मकै उठाएर नगरको ट्याक्टरमा हाल्न लगाए।
निर्मलाले विरोध गर्न खोजिन्। धक्काधक्की हुँदा निर्मलाका नाडीका चुरा फुटे। निर्मला नजिकैको नालामा लडिन्। देव्रे खुट्टामा चोट लाग्यो। तर उनले आफ्नो मकै भने फिर्ता पाइनन्।
‘म गरिब दुःखी मान्छे। मलाई लुछलाछ पारे। मेरो दुई बोरा मकै जबरजस्ती लगेर गए, ’वलीले भनिन्,‘हामी जस्ता गरिब दुःखीलाई रुवाउनेलाई पापै लागोस्।’
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी कमला बुढाथोकीले पनि मंगलबारमात्रै सल्यानको कपुरकोटमा लाग्ने तरकारी हाट बजारबाट तरकारी खरिद गरेर ल्याइन्।
तरकारी सडकको पोलभन्दा भित्रै थियो। खोलेर विक्री गर्न सुरसार नगर्दै सबै तरकारी जबरजस्ती उठाएर लगियो। ‘तर नजिकै तरकारी बेचिरहेकी चिनजानका अरुलाई भने केही गरिएन’, उनले भनिन्।
२० हजार बराबरको सामान नगरले उठाएको उनले दाबी गरिन्। न्याय माग्न भन्दै बुढाथोकी पनि उपमहानगरपालिका आएकी थिइन्।
सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ५ जामुनेका अम्मर रेउलेको ४० देखि ४५ हजार बराबरको तरकारी पनि नगरले उठाएर ल्यायो।
उनले पनि बसपार्क जाने सडकखण्डमा हाल नगरले भत्काएको सडक किनारको छेउमा ती सामग्री बेचिरहेका थिए।
रेउलेले कसैको सामान उठाउने र चिनजानका व्यक्तिको सामान छोडिदिने गरेको दोष लगाए। रेउले र कार्यपालिका सदस्य दीपक कुमालका बीचमा पनि सामान लैजाने क्रममा जवाफ सवाल नै भयो।
उधारोमा ल्याएको ४०/४५ हजारको सामान लैजान एकाएक कसले सहजै लैजान दिन्छ? मैले बोल्नु र विरोध गर्न खोज्नु स्वभाविक थियो,’ रेउलेले थपे ‘तर,सरले मलाई तिमी सल्यान-रोल्पाको मान्छे यहाँ बोल्न पाउँदैनौं, व्यापार गर्न पाउँदैनौं भन्नु भयो।’
तुलसीपुरमा जन्मेको व्यक्तिले मात्रै बोल्न र व्यापार गर्न पाउँछ भन्ने कुरा उनलाई चित्त बुझेन छ।
‘तुलसीपुरका मेयरसाप पनि कपुरकोटै जामुनेमा जन्मिनु भएको हो। त्यसो भए अब उहाँलाई पनि मेयरबाट बञ्चित गरिनु ठीक हो ,’ रेउलेले आक्रोश पोख्दै भने, ‘कि त हामी जस्ता ठेला व्यवसायीहरूलाई व्यवस्थित गर्नुपर्यो हैन भने यो अत्याचार बन्द हुनुपर्यो।’
रोल्पाकी रिता पुन मगरका ३ क्यारेट स्याउ उठाएर लगियो।
मगर तुलसीपुरमा आएर सडक किनारामा व्यापार गर्न थालेको हप्ता दिन पनि भएको छैन। मगरलाई ७ हजार बराबरको स्याउ गायब पारेको भन्दा बढी पिर उपमहानगरका पदाधिकारी र कर्मचारीले गरेको वचन लगाएको बढी दुःखेको सुनाइन्।
‘मलाई रोल्पाको मान्छे आएर तुलसीपुरमा व्यापार गर्न पाउने अधिकार छैन,’ मगरले भनिन्,‘हामी जस्तालाई छेउमा बसेर व्यापार गर्न नदिने सरकार हामीलाई चाहिएको छैन।’
शान्तिनगरका ४२ वर्षीय बालाराम वलीले किनेर ल्याएको १ हजार ७ सयको मकै पनि जबरजस्ती उठाए पछि उनी पनि मकै खोज्दै उपमहानगरपालिका आइपुगेका थिए।
यी त प्रतिनिधि पात्र मात्रै हुन्। मंगलबार बेलुका ५ बज्दासम्म पनि वली जस्ता दर्जनौं सडक छेउछाउमा तरकारी तथा फलफूल बेच्ने साना व्यापारी उपमहानगरपालिकाको प्राङ्गणमा भरिभराउ थिए। उनीहरूले आफ्नो गुनासो राख्नको लागि त्यहाँ पुगेका थिए। तर उनीहरू गुनासो न प्रवक्ताले सुने न नै मेयरले।
जफत गरेर ल्याएको ठेलाले उपमहानगरपालिको परिसर भरिभराउ थियो। तरकारी तथा फलफूल, चाट,पानी पुरी, चुरा लगायतका सामग्री बलजफ्ती उठाएर ट्याक्टरमा लोड गर्दा च्यापिएर–थिचिएर आधा बढी काम नलाग्ने भइसकेका देखिन्थे।
उपमहानगरले ठेला व्यापारीबाट १ हजार ५ सय र क्यारेटमा तरकारी व्यापार गर्नेहरूबाट २ सय जरिवाना स्वरूप असुल्दै आएको छ। त्यति तिरेपछि सामान लैजान पाइने तर ठेला भने लैजान नपाइने नियम उपमहानगरपालिकाले बनाएको छ।
तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सूर्य डाँगीले भने ठेला व्यापारीलाई व्यवस्थित गर्न उठाउनु परेको बताएका छन्।
उनले आग्रह गर्दा पनि अटेरी गर्ने ठेला व्यापारीले बजारलाई कुरूप बनाएको तथा चाडपर्वमा दुर्घटनाको जोखिम बढाएको हुँदा नियन्त्रणमा लिनु परेको बताए।
‘तुलसीपुरमा अन्य गाउँपालिका र बाहिरी जिल्लाका मानिसहरू आएर अव्यवस्थित रूपमा सडकमा व्यापार गरेका छन् त्यो गर्न पाइँदैन,’ प्रवक्ता डाँगीले भने।
किन ठेला व्यवसायीका लागि छुट्टै व्यापार गर्न ठाउँ नदिएको ? भन्ने प्रश्न गर्दा उनले त्यसको लागि तयारी भइरहेको बताए। तर पूर्वतयारी नगर्दै उपमहानगरपालिकाले गरिबको नाङ्लो पसल र सामान जफत गर्नु न्यायोचित नभएको सडक व्यापारीहरूको गुनासो गर्दै आएका छन्।