'बुढाथोकी स्टोरबाट थोरै अगाडि बढेपछि तल झर्ने रोड आउँछ, म तपाईंलाई लिन आइरहेकी हुन्छु,' नविनाले यति भनेपछि बल्खु, कुमारी क्लबदेखि थोरै भित्र रहेको त्यो ठाउँमा हामी पुग्यौं। नविना सडकसम्म आइसकेकी थिइन्।
सफा र चिटिक्क तीन तले घरको एउटा फ्ल्याटमा नविनासँग छिर्यौं। भित्र पस्दै गर्दा नविनाका श्रीमान अर्जुन पौडेल भर्खरै नुहाएर निस्किएका थिए। शुक्रबार भएकाले नविना पनि नुहाइसकेर सन्तोषीमाताको पूजाको तयारी गरेकी थिइन्। धुप बाल्नु पहिले मोबाइलमा आरती धुन बजाउन लागिन्। भनेजस्तो फेला परेन।
तुरुन्तै अर्जुनलाई भनिन्, 'कालु, मेरो मोबाइलमा आरती धुन फेला परेन, तपाईंकोमा खोज्दिनुस त।'
उनले भनेजस्तै धुन बजाइदिएर अर्जुन चामल भिजाउनतिर लागे। अर्जुनलाई खाना पकाउन आउँदैन। अरू काममा उनी नविनालाई सघाउँछन्।
नविना धाराबाट तामाको अंखरामा पानी लिएर आइन्, पूजा गरिन्। सकेपछि तरकारी काट्न थालिन्- लौका, आलु, प्याज, टमाटर, खुर्सानी। दुवै जना माछामासु खाँदैनन्।
खाना बनाउन रूचाउने नविना शाकाहारी खानाका धेरै परिकार बनाउन आउने बताउँछिन्।
उनको सपना छ- दृष्टिबिहीनहरूका लागि रेष्टुरेन्ट चलाउने। तत्काल भने दृष्टिबिहीनहरूकै लागि 'कुक' तालिम सञ्चालन गर्ने योजना बनाएकी छन्।
'तयारी भइरहेको छ, सहयोग गर्नेहरू खोजिरहेकी छु,' उनले भनिन्, 'धेरैतिरबाट राम्रो जवाफ आएको छ। जतिसक्दो चाँडो थाल्ने योजना हो। एक जना सामान्य व्यक्तिलाई सँगै राखेर मै तालिम दिन्छु, दृष्टि हुनेहरूले पनि लिन सक्छन्।'
नविना र अर्जुन दुवै दृष्टिबिहीन हुन्।
तर नविनाले खाना पकाएको देख्दा जोकोहीले भन्न सक्छ, 'नविनाका लागि असम्भव केही छैन।' उनका सिपालु हातले तरकारी काटेको देख्दा उनका आँखाले देखिरहेको छैन भन्ने पत्याउनै मुश्किल हुन्छ।
नविनाले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्। अमेरिका र भारतमा पनि अध्ययन गरेर आएकाले उनको आत्मबल बढाएको छ।
बोलक्कड पनि उत्तिकै छन्।
उनीहरू बसिरहेको घरका धनी अमेरिकामा छन् र यसको जिम्मेवारी नविना र अर्जुनलाई नै छ।
यो दृष्टिबिहीन जोडीले घरको जिम्मा कसरी पाए होलान् ?
अफिस र बस्ने कोठा एउटै घरमा हुने गरी फ्ल्याट खोज्न नविना एक दिन साथी संगीता श्रेष्ठलाई लिएर हिँडिन्। कुमारी क्लब क्षेत्रमा खोज्दै गर्दा फ्ल्याट त फेला पर्यो, तर घरका मान्छेसँग कुरा गर्नुपर्ने भयो। दृष्टिबिहीन भनेपछि नम्बर दिनेले 'हामीले दिएको नभन्नुस है' भनेका थिए।
नविनाका अनुसार घर जिम्मा लिएका बद्री श्रेष्ठ सामाखुशी बस्छन्। उनी अमेरिकावासी घरधनीका आफन्त हुन्।
नविनाले बद्रीसँग गरेको फोन प्रसंग सम्झिँदै भनिन्, 'सबै कुरा गरिसकेपछि 'अंकल म दृष्टिबिहीन हो' भनेँ। उहाँले राम्रै कुरा गर्नुभयो। त्यसपछि भेटेरै कुरा गर्न आग्रह गरेँ।'
पहिले भेटमै नविनाले एक महिना घरमा बस्न दिएर 'परीक्षण' गर्न भनिन्।
'घर बसेको एक सातापछि बद्री अंकल आउनुभयो। मैले कालो कफि बनाएर खान दिएँ,' उनले सुनाइन्, 'अंकलले मलाई 'आई एम सो इन्स्पायर्ड' भन्नुभयो।'
उनीहरूलाई बस्न दिएपछि घरधनीले समेत दृष्टिबिहीनहरूको छैठौं इन्द्रीय शक्ति तगडा हुने र घरको रेखदेख राम्रो हुनेमा ढुक्क रहेको प्रतिक्रिया दिएका थिए। यसले उनीहरूलाई सकरात्मक चुनौती थपिएको छ।
'यस्तो सोच सायदै मान्छेहरूसँग हुन्छ। घरै जिम्मा दिएको जस्तो भएको छ,' नविनाले भनिन्, 'हामी आफैं यसको सरसफाइ गर्छौं। एक जना कुचो लगाउने, एक जना पुछ्ने।'
यस्तो सुन्दर जोडी कसरी भेट भए होलान्? हाम्रो जिज्ञासा बढ्यो।
२०७२ सालमा उनीहरूको मागी बिहे भएको रहेछ।
'हाम्रो भेट भएको होइन। एक जना मध्यस्थताकर्ताले हामीबीच कुरा गराइदिए,'अर्जुनले हाँस्दै भने, 'एक साता जति फोनमै कुराकानी भयो। अनि बिहे। जे होस् रमाइलो छ।'
नविनालाई केटा घरमै माग्न आओस्, कुराकानी होस् भन्ने चाहना रहेछ। अर्जुन के कम, कपिलवस्तुदेखि गाडी भाडामा लिएर नवलपरासीस्थित नविनाको घर गएछन्। त्यसयता उनीहरू सँगै छन्।
नेपालीमा स्नातक सकेका अर्जुन नविनाझैं बोल्दैनन्। उनको बाँसुरी बजाउने कला भने लोभलाग्दै छ। आफूसँग ५० वटा जति बाँसुरी भएको उनी बताउँछन्। विशेषगरी धार्मिक कार्यक्रममा उनी बाँसुरी बजाउँछन्।
'पहिले महोत्सवहरूमा पनि बजाउँथेँ। कलाकारहरूले पारिश्रमिक नदिएपछि छाडेँ,' उनले सुनाए।
धार्मिक कार्यक्रममा बाँसुरी बजाउँदै उनी ५० भन्दा बढी जिल्ला पुगिसकेका छन्। यो यात्रामा कहिले मिठा, कहिले तिता क्षण आइरहन्छन्।
गत फागुनमा उनीहरू ताप्लेजुङको पाथीभरा जाने कार्यक्रम थियो। अप्ठ्यारो बाटो भएकाले अर्जुनलाई कसैले 'जान सक्दैन' भन्दिए। अर्जुनले 'सक्छु' भन्दै अड्डि कसे।
'मेरा दृष्टिबिहीन भाइबुहारी पाथीभरा पुगेर आएका थिए। मलाई हिम्मत थियो। तर सबैले जान सक्दैनस् मात्रै भने,' उनले सुनाए, 'मैले पनि 'तपाईंहरूभन्दा चाँडो पुग्छु' भन्दिएँ। सबैले 'यस्तो घमण्डले हुँदैन' भनेका थिए। तर त्यो मेरो आत्मबल थियो।'
उनी टिमसँगै गए। तर कार्यक्रमस्थलमा आफू नै सबभन्दा पहिले पुगेको उनी बताउँछन्।
'दृष्टिबिहीन भएकै कारण धेरै ठाउँमा समस्या आइपर्छ,' उनले भने।
बैंकमा जम्मा गरेको रकम निकाल्ने बेला निकै दुःख पाएको अर्जुन र नविनाले बताए।
'दृष्टिबिहीनका भरमा मात्रै कारोवार गर्न नसकिने' जवाफ बैंकले दिएछ।
'मेरो पैसा मैले निकाल्न नपाए के काम है,' नविनाले भनिन्, 'साक्षी साथी चाहियो भन्ने थाले। मैले साथी भए पनि ल्याउँदिनँ, मेरो पैसाको कारोबार अरूलाई किन भन्नुपर्यो। गोपनीयताको कुरा पनि हुन्छ नि।'
उनीहरू पछि हटेनन्। आफ्नो अधिकारका लागि बैंकसँग पैठेजोरी खेले। अन्तत बैंकले उनीहरूको कुरा मान्यो।
अपांगमैत्री भइनसकेका मान्छेले दिएका चुनौतीले यो जोडीलाई निराश बनाएको छैन। बरू आत्मबल थपेको छ।
'हामी खाल्डोमा पर्यौं भने मान्छे उठाउन आउनुको साटो बिचरा भन्छन्। म त हाँस्दै हिँडिदिन्छु। दुखिरहेको भए पनि उनीहरूका अगाडि देखाएर कामै छैन,' नविनाले भनिन्, 'अहिलेको पुस्ता भने सहयोगी हुँदै गइरहेको छ।'
हिलाम्मे, खाल्डाखुल्डी, जथाभावी खनिएको सडक, छाडा चौपाया जस्ता समस्यासँग जुध्नु उनीहरूको दैनिकी हो।
'आज सग्लै सडक भोलि कतै खाल्डो कतै ढल खनिएको हुन्छ। अचानक नयाँ चिज ल्याएर राखिएको हुन्छ, अनि हामी ठोक्किन्छौं,' अर्जुनले भने, 'सडकपेटी छैनन्, भएका पनि साना र सामानले भरिएका छन्। दृष्टिबिहीनका लागि बनाइएको बाटोमै अवरोध छ।'
कहिलेकाहीँ त उनीहरूलाई नै 'बाटो छोड्दिनु न' भन्दै मोटरसाइकल पेटीमा कुद्छन्। कतिपटक उनीहरूलाई साथ दिने लौरीमा आँखा देख्नेहरू ठोक्किन्छन्, लड्छन्। उनीहरूको लौरी बांगिन्छ, भाँचिन्छ।
अर्जुन काठमाडौं बाहिर गइरहन्छन्। नविना आफ्नै अभियानमा हिँडिरेहेकी हुन्छिन्। फुर्सदका बेलामा अर्जुन बाँसुरी बजाउँछन्। नविना गजल सुनाउँछिन्। मुक्तक पनि लेख्छिन्।
यो जोडी खुसी छ। एकअर्कासँग बिताउने समय जति नै भए पनि कम हुने बताउँछन्।
'हामी दुई जनासँगै भएपछि कहिल्यै अल्छी लाग्दैन। दुई जना जति सँगै भए पनि पुग्दैन। आफैंआफैं एकअर्कालाई जिस्क्याउँदै बस्छौं। रमाइलो हुन्छ,' दुवैले भने।
झगडा पनि हुन्छ होला नि?
'परिहाल्छ नि। तर ठूलो झगडा हैन है, ठाकठुक। त्यो पनि एकैछिनका लागि,' नविनाले हाँस्दै भनिन्, 'त्यही भएर माया बढ्दो रहेछ।'
दुई जनामा निहुँ खोज्ने को हुन्छ?
नविनाले भनिन्, 'को होला कालु?'
अर्जुनले हाँस्दै 'नढाटी भन्दा...'भन्दै थिए, नविनाले 'हजुर नै हो' भनिदिइन्। अर्जुनले फर्काए, 'तिमी नै हो।'
'थाहा हुँदैन, त्यो अवस्था हेरेर हुन्छ। मलाई उसले अलि फकाओस् जस्तो लाग्छ,' नविनाले हाँस्दै भनिन्, 'खासमा त्यही कुरामा ठाकठुक हुन्छ।'
अर्जुनलाई फकाउन खासै आउँदैन रे। यही भएर नविना ठुस्किने रहिछन्।
फकाउन नजान्नुमा अर्जुनका आफ्नै तर्क छन्। मागी बिहे गरेकाले नआएको भन्छन्।
'प्रेम बिहे गरेको भए वा पहिले प्रेममा परेको भए आउँथ्यो कि,' उनको बुझाइ छ। तै पनि कोशिश गर्छन्।
'झगडा हुन्छ, एकपटक फकाउनु पनि हुन्छ। मलाई चित्त बुझ्दैन। अब फेरि फकायो भने पक्का मान्छु भन्ने सोच्छु,' नविना सिधा बोल्छिन्।
एक-दुई पटक फकाउँदा पनि नमानेपछि अर्जुन भने, 'मैले जानेको यत्ति हो' भनेर आफ्नो काममा लाग्ने रहेछन्।
एकअर्काबाट नअघाउने यो जोडी चुप कहाँ बस्थ्यो।
'म फेरि 'फकाउनु न' भनेर पिट्छु। अनि फकाउनुहुन्छ,' नविनाले सुनाइन्।
अर्जुन उनका कुरा सुनेर मुस्काइरहे।