सिमकार्ड खरिदका लागि भरिने फारममा एउटै व्यक्तिको फोटो दर्जनौं संख्यामा छन्। सवारी चालक अनुमति पत्र र नागरिकता पनि धेरै फारममा मिल्ने गरेको छ।
घोराहीको एक डिष्ट्रिव्यूर्टरमार्फत यस्तै फारमबाट एनसेल र स्मार्ट सिमकार्ड वितरण हुने गरेको भेटेपछि प्रहरी नै आश्चर्यचकित बन्यो। त्यति मात्रै होइन बिक्रीका लागि राखिएका सिम पहिले नै एक्टिभ भएको समेत भेटिएको छ। सामान्यतः मोबाइलमा राखेको केही समयको अन्तरालमा मात्रै सिमकार्ड एक्टिभ गरिन्छ।
घोराही उपमहानगरपालिका-१५ बिपी चोकबाट उत्तर तर्फ एनसेलको डिष्ट्रिव्यूटर भन्ने बोर्ड टाँगिएको घरबाट प्रहरीले यस्ता फारम र सिम बरामद गरेको हो। गणेश रेग्मीले आफ्नै घरमा यो सबै गैरकानुनी गतिविध गर्दै आएको भेटिएको हो।
‘डिष्ट्रिव्यूटरको नाममा गैरकानुनी धन्दा चलाएको देखियो,’ दाङका एसपी बेलबहादुर पाण्डेले भने ‘एउटै व्यक्तिका नाममा दर्जनौं फोटो, दर्जनौं नागरिकता फेला पर्नु र सिमकार्ड पनि अलरेडी एक्टिभेट अवस्थामा फेला पर्नुले गैरकानुनी कार्य भएको स्पष्ट हुन आएको छ।’
प्रहरीले यस्तो गतिविधिको अनुसन्धान थालेको छ। अपराधिक समूहलाई सिमकार्ड वितरणका लागि यस्तो गतिविधि भएको हुन सक्ने प्रहरीको आशंका छ। कतैबाट सर्वसाधारणका फोटो, नागरिकता र सवारी चालक अनुपत्र ल्याएर गैरकानुनी रुपमा अपराधिक गिरोहलाई सिमकार्ड बिक्री गरेको हुन सक्ने एसपी पाण्डेले बताए।
शुक्रबार रेग्मीको घरमा खानतलासी गर्नुअघि नै सम्वधित व्यक्ति र उनको परिवार भने फरार भइसकेको प्रहरीले जनाएको छ। अवैध रुपमा गलत कामका लागि सिमहरु विक्रिवितरण हुने गरेको जानकारीका आधारमा छापा मार्न गएको प्रहरीले बताएको छ।
उक्त डिष्ट्रिब्यूटर बाट प्रहरीले विभिन्न व्यक्तिका ४ सय ७८ फोटो, विभिन्न व्यक्तिका १ हजार २ सय ६७ नागरिकताको फोटोकपी र सवारी चालक अनुमति पत्र, स्मार्ट स्टार्टर प्याक ६ सय ७० थान, ४ सय ८० सिमकार्ड फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक राजनकुरमा गौतमले बरामद सामाग्री हेर्दा डरलाग्दो किसिमको अवस्था देखिएको तर्क गरे।
‘अपराध कर्ममा त्यस्ता अवैधानिक रुपमा वितरण गरिएका सिमकार्ड प्रयोग भएमा अपराधी सम्म अनुसन्धान पुग्न चुनौति पर्दछ’ उनले भने। ‘वैधानिक रुपमा दर्ता भएका सिमकार्डहरु भए मात्रै अनुसन्धान प्रभावकारी बन्छ।’
घोराहीमा रेग्मीले घरमा सञ्चालन गरेको एनसेलको डिष्ट्रिब्यूटरमा पनि त्यस्तै डरलाग्दो स्थितिको पर्दाफास भएको प्रहरी निरिक्षक गौतमले तर्क गरे। ‘अपराधमा प्रयोग हुने सिमहरु कल सिडिआर मगाउँदा होस वा बायोडाटाहरु मगाउँदा परिणाम फर्जी हुन आउँछ’ उनले भने ‘प्रहरी त्यो ठाउँमा पुग्दा अपराधी फेला नपर्ने स्थिति हुन्छ।’
निर्दोष व्यक्तिहरु समेत अनाहक रुपमा मुछिन सक्ने भएकाले आफ्नो नागरिकताको प्रतिलिपी, लाइसेन्सको प्रतिलिपी तथा फोटोको प्रयोगका सम्वन्धमा गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।
रेग्मीले असम्वन्धित व्यक्तिको फोटो, नागरिकता, सवारी चालक अनुमति पत्र राखेर अपराधिक गिरोह र राज्यद्धारा प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई समेत सिमकार्ड वितरण भएको हुन सक्ने प्रहरीको आशंका छ।
‘सम्पर्क सम्वन्ध नभएका व्यक्तिहरुको फोटो, नागरिकता राखेर गैरकानुनी रुपमा सिमकार्ड बेच्नुले रेग्मीको अपराधिक गिरोह संग साँठगाँठ भएको आशंका उब्जिएको छ,’ एसपी पाण्डेले भने ‘सम्वन्धित व्यक्तिलाई पक्राउ र अनुसन्धान पुरा भएपछि यसको पर्दाफास हुने छ।’
रेग्मीले मास्टर सिमकार्डको दुरुपयोग गरि पहिले नै सबै सिमकार्ड एक्टिभेट गराइसकेको प्रहरीको बुझाई छ। ‘फरार व्यक्तिको परिवार समेत भाग्नुले पनि काम गैर कानुनी भएको बुझ्न सकिन्छ’ एसपी पाण्डेले भने।
दूरसञ्चार दुरुपयोग कसुर २०५३ को ऐन अन्तर्गत फरार गणेश रेग्मीका विरद्ध अदालतबाट मुद्दा दर्ता गरेर कानुनी कारवाहीको लागि प्रहरी अगाडि बढिसकेको सकेको एसपी पाण्डेले बताए।