तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ थर्कुडाँडा निवासी रामबहादुर सुनार र उनका छोरा कमल मंगलबार बिहान खुसी देखिन्थे। सित्तैमा कपडा पाएपछि उनीहरुमा खुसी छाएको हो। रामबहादुरले मन परेको एउटा पाइन्ट र सर्ट लगे। कमलले टिसर्ट लगे।
पश्चिम दाङको बबई गाउँपालिका अन्तर्गत सुन्दरखाल निवासी १३ वर्षीय दिपक नेपाली पनि सित्तैमा कपडा लैजान पाउँदा खुसी थिए।
‘आफैले छानीछानी सित्तैमा कपडा ल्याउन पाइयो,’ नेपालीले थपे। तुलसीपुर भाउजुको माइतीमा आएको बताउने नेपाली सित्तैमा कपडा लैजान पाउँदा फुरुङ्ग थिए।
उनीहरु जस्तै विपन्न र गरिब परिवारलाई सित्तैमा कपडा उपलव्ध गराउन दाङमा कपडा बैंक संचालनमा आएको छ। राजधानी लगायत देशका विभिन्न स्थानमा सित्तैमा पुराना कपडा लेनदेन गर्ने बैंक खुलेपछि दाङले त्यसको सिको गर्दै जिल्लामा पहिलो कपडा बैंक संचालनमा ल्याएको हो।
तुलसीपुर क्षेत्रका यातायात व्यवसायी, कर्मचारी र मजदुर मिलेर बसपार्कमा ‘गरिव दुःखी लत्ता कपडा साहेता केन्द्र’ स्थापना गरेका छन्। जसको मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र शाहले उद्घाटन गरे।
गरिबीका कारण शरीर ढाक्न समेत मुस्किल पर्ने समुदायलाई लक्षित गरी संचालन गरिएको कपडा बैंकलाई व्यवस्थित गराउन वडाले सघाउने उनले प्रतिवद्धता जनाए।
त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले यातायात व्यवसायी, कर्मचारी र मजदुरले मिलेर कपडा साहेता केन्द्र संचालनमा ल्याएको भएपनि अभियानमा सबैले हातेमालो गर्न जरुरी रहेको बताए।
साहेता केन्द्रको नेतृत्व यातायात व्यवसायी भिमसेन लहरेले गरेका छन्। साहेता केन्द्र संचालन गर्न ९ जनाको कार्यसमिति निर्माण गरिएको छ। सुरुमा कार्यसमितिका पदाधिकारीले कपडा यहाँ जम्मा गरेर सहेता केन्द्र संचालनमा गरिएको हो। ‘निकट भविस्यमा २ वटा कोठा खोज्ने छौं र दुई कर्मचारी राख्ने छौँ’ लहरेले भने।
साहेता केन्द्रका सचिव प्रकाश भट्टले काठमाडौं लगायका स्थानमा यस्तै निशुल्क कपडा पाइने बैंकहरु खुलेको समाचार आएपछि आफूहरुले पनि साहेता केन्द्र खोलेको जानकारी दिए। उनले डम्पिङ साइटमा फाल्नु भन्दा पुराना कपडा आफूहरुलाई ल्याएर दिन र आवश्यक परेका लैजान आग्रह गरे।
साहेता केन्द्रमा कपडा लिएर आएका फेन्सी व्यवसायी सुवर्ण राज भण्डारीले विगतमा नबिकेका पुराना कपडा खोलामा बगाउने गरेको भएपनि अबदेखि त्यसो नगर्ने बताए। ‘म अरु व्यवसायीलाई पनि नबिकेका पुराना कपडा साहेता केन्द्रमा ल्याएर छोड्न आग्रह गर्छु,’ भण्डारीले भने ‘कम्तिमा यहाँ छोड्दा गरिव दुःखीले लगाउन पाउँछन्।’