रोल्पाकी कमला घर्तीमगरका दुवै खुट्टा छैनन्। हात टेकेर र खुट्टा घिसारेर हिँड्छिन्। सानैदेखि यसैगरी विद्यालय आउने-जाने गरिन्।
जन्मथलो रोल्पाको करेटीमा उनले ५ कक्षासम्म पढिन्। पहाडको उकालो-ओरालो गर्नु त्यति सजिलो थिएन।
दैनिक विद्यालय जान मात्रै उनले एक घन्टा बढी हात टेक्दै खुट्टा घिसार्दै हिँड्नुपर्थ्यो। हात दुखेर उनी रातभर निदाउन सक्दिन थिइन्।
‘म बिहानै ७/८ बजे नै घरबाट विद्यालय जान हिँड्थें,’ उनले भनिन्।
कक्षा ६ मा पढ्दा नुवागाउँ आएपछि विद्यालय घर नजिकै भयो र उनले व्यहोर्नु पर्ने कष्ट पनि कम भयो।
यही वर्ष रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. २ नुवागाउँस्थित सामुदायिक विद्यालय श्री अरनिको माध्यमिक विद्यालयबाट उनले एसइई उत्तीर्ण गरिन्। उनको २.२५ जिपिए आएको छ।
‘म खुट्टा छैन भनेर रुँदै बसिनँ। बाल्यकालदेखि नै म यसैगरी संघर्ष गर्दै आएकी छु,’ उनले भनिन्।
थाहा पाउने भएदेखि नै उनले खुट्टामा लगाउने चप्पल हातमा घुसाएर घिस्रिँदै संघर्ष थालेकी हुन्।
घिस्रिँदै कक्षा कोठासम्म पुग्दा उनका पोशाक कहिल्यै सद्धे भएनन्। सुख्खायाममा धुलाम्मे र वर्षामा हिलाम्मे हुन्थे। तै उनी विद्यालय जान छोडिनन्।
ठूलो झरीमा भने कमला आमाको बुइँ चढेर विद्यालय जान्थिन्। यहाँसम्म आइपुग्दा कमलासँग तीता मिठा थुप्रै अनुभव छन्।
धेरैले सच्चा मनले सहयोग गरे पनि कतिले अभ्रद व्यवहार पनि गरेका छन्। यी सबै अनुभूति कमलाले मनमा कैद गरेकी छन्। कसैप्रति गुनासो गर्न चाहिनन्।
साथीसंगीका व्यवहारलाई कमलाले शिक्षाकै रूपमा ग्रहण गरेकी छन्।
‘जीवन सुख–दुःखको संगालो हो। मलाई अप्ठ्यारोमा हात दिने र मलाई हेलाको दृष्टिभाव राख्ने कसैप्रति कुनै गुनासो गर्ने छैन,’ उनले भनिन्।
कसले के भने त्यसको लेखाजोखा गर्नुभन्दा भविष्यमा के गर्दा जीवन सरल र सहज बन्छ त्यसको खोजीमा आफू रहेको उनले बताइन्।
‘साथीभाइले गिज्याउँछन्। विद्यालय जान कष्ट हुन्छ भन्दै मैले पढाइ छोडेको भए आज म यहाँ आइपुग्दैन थिएँ,’ उनले भनिन्, ‘ज्यूँदो मान्छेले हरेक परिस्थितिसँग जुध्दै अगाडि बढ्नु पर्छ।’
कमला जन्मजात अपांग थिइनन्। १७ वर्षअघि रोल्पाको करेटीमा जन्मिँदा कमलाका खुट्टा सद्धे थिए।
एक दिन कमलाकी आमा अमृता घर्तीमगरले छोरीलाई घरभित्र एक्लै सुताएर काममा बाहिर निस्किएकी रहिछन्। नजिकै अगेनो थियो। पहाडतिर अगेनामा २४ सैं घन्टा आगो राख्ने प्रचलन थियो।
त्यतिबेला कमला जम्मा पाँच महिनाकी मात्रै थिइन्। बामे सर्ने अवस्थामा पुगिसकेकी कमला निद्राबाट ब्यूँझेपछि चलमलाउँदै नजिकैको आगोले भरिएको अगेनामा पुगिछन्। कमलाका बुवा प्रसाद घर्तीमगर पनि घरमा थिएनन्।
कामबाट घर फर्किंदा बुवा प्रसादले छोरी कमलालाई अगेनामा डढेको अवस्था भेटे। तत्कालै उद्धार गरे। कमला अचेत थिइन्। उनका दुवै खुट्टा नराम्रोसँग डढेका थिए। जडिबुटी, स्थानीय क्लिनिक हुँदै दाङसम्म कमलालाई उपचारको लागि ल्याइयो। उपचार सम्भव भएन। त्यसपछि काभ्रेको धुलिखेल अस्पतालमा पुर्याइयो। चिकित्सकले काम नलाग्ने भइसकेका कमलाका दुवै खुट्टा त्यहीँ काटेर फालिदिए।
कमला हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरीमा आन्टी भावना बुढामगरसँगै डेरा गरेर बस्दै आएकी छिन्। कमला दाङ आउनुको खास कारण कम्प्युटर सिक्न हो।
कम्प्युटर सिकेर भविष्यमा आफैं कम्प्युटर इन्टिच्यूट खोल्ने उनको धोको छ। कमलाले उच्च शिक्षाको लागि दाङको घोराहीको एक क्याम्पसमा फारम भरेको बताइन्। नाम निस्केपछि घोराहीमै बसेर थप शिक्षा हासिल गर्ने उनको चाहना छ।
आन्टी भावनाले कमलालाई कम्प्युटर कक्षा जाँदा आउँदा तुलसीपुर-घोराही सडकखण्ड वारपार गराउन मद्धत गर्छिन्। भावना नआउँदा उनलाई देख्ने स्थानीयले पनि बाटो पार गर्दा सघाउने गर्छन्।
कमलाका ३७ वर्षीय बुवा प्रसाद घर्तीमगर हाल विदेशमा छन्। उनी विदेश गएको तीन महिना भयो। प्रायः सधैंजसो उनी छोरी कमलालाई फोन गर्छन्। अगाडि बढ्न हौसला दिने गर्छन्।
विदेशमा पैसा कमाएर फर्केपछि छोरीलाई कृत्रिम खुट्टा जडान गरिदिने बाचा उनले दिँदै आएका छन्।
डाक्टरले पनि ५-६ लाख जति भए कृत्रिम खुट्टा जोड्न मिल्ने सल्लाह दिएका रहेछन्।
‘मेरो कृत्रिम खुट्टा जोड्ने पैसा कमाउनको लागि बाबा विदेश जानु भएको हो,’ कमलाले भनिन्, ‘बाबाले मलाई स्कुटर पनि किनिदिन्छु भन्नु भएको छ।’ कमलालाई आफ्नै खुट्टामा उभिने ठूलो चाहाना छ।
‘मलाई आफ्नै खुट्टामा उभिने ठूलो चाहना छ। कृत्रिम खुट्टा हालेपछि आफैं हिँडडुल गर्न सक्ने छु। अलि टाढा जान म स्कुटर चढ्ने छु,’ कमलाले भनिन्। स्कुटर किनेपछि साथीहरूलाई पछाडि बसालेर घुम्न जाने कमलाको रहर छ।
‘म मेरा स्कुले साथीहरू मनिसा र धनिसा लगायतलाई घुमाउन लैजाने छु,’ उनले भनिन्।