भूकम्प प्रभावित विभिन्न जिल्लाका ५७ हजार तीन सय ९ जनाले अनुदान सम्झौता नगरेपछि उनीहरूलाई लाभग्राहीको सूचीबाट हटाइएको छ।
तीन लाख रुपैयाँका दरले घर बनाउन अनुदान पाउने सूचीमा परेका उनीहरूले असार २१ गतेसम्म अनुदान सम्झौता नगरेकोले लाभग्राहीको सूचीबाट हटाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए।
असार मसान्तभित्र पहिलो किस्ता नलिएका लाभग्राहीलाई पनि सूचीबाट हटाइएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म सात लाख ६९ हजार छ सय २४ जनाले अनुदान सम्झौता गरेका छन्। सुरूमा लाभग्राही संख्या आठ लाख २६ हजार नौ सय ३३ थियो।
अनुदान सम्झौता गरे पनि पाँच हजार पाँच सय ४० जनाले अनुदान रकम लिएका छैनन्। घिमिरेका अनुसार अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता पनि नलिने लाभग्राहीको नाम हटाएको जानकारी दिए।
प्राधिकरणले अनुदान सम्झौता गर्ने समयसीमा असार २१ सम्मका लागि तोकेको थियो।