रानीवन बस्ने सुशीला गुरूङ बिहान चारै बजे उठ्छिन्।
नित्यकर्म सकेर घुइँय्य सुजुकीको भ्यान स्टार्ट गर्छिन्। उनको गन्तव्य कहिले बल्खु, कहिले कालिमाटी।
बल्खु-कालिमाटी बजारबाट तरकारी ल्याएर रानीवनकै एउटा पसलमा छोड्छिन्। एकछिन त्यही पसलमा सघाउँछिन्। पहिले यहाँ उनले करिब चार वर्ष काम गरेकी थिइन्। त्यही सम्बन्धले यहाँ काम सघाउन मन लाग्ने सुशीला बताउँछिन्।
यसपछि सुरू हुन्छ उनको दैनिकी।
भ्यानका स्टेरिङमा दिनभर आफ्ना हात घुमाएर विभिन्न ठाउँ ओहोरदोहोर गरिरहन्छिन्। फुर्सदै हुँदैन। कहिले तरकारी त कहिले घरका सामान, ओसार्ने-पुर्याउने चलिनैरहन्छ दिनभर।
आइतबार हामी रानीवन पुग्दा पनि सुशीला घरका सामान ओसार्दै थिइन्। गाडीमा सामान हाल्नेदेखि झार्नेसम्मका सबै काम उनी एक्लै गर्छिन्। चालक पनि आफैं, सहचालक पनि आफैं, भ्यान पनि आफ्नै।
सुशीलाको यो 'भ्यान यात्रा' यतिकै तय भएको होइन।
उनको घर धादिङ हो। दुई महिनाकी छँदा बुबा गुमाइन्। सात वर्षको उमेरमा आमाले छाडेर गइन्। उनलाई ठूलोबा र ठूलीआमाले हुर्काए। सुशीलाका तीन दिदी छन्।
२०७० सालमा एसएलसी पास गरेर धादिङबाट काठमाडौं आएसँगै उनको पढाइ यात्रा रोकियो। पढाइभन्दा आवश्यकता जीवन धान्नु थियो।
काठमाडौं आएदेखि नै उनले रानीवनको तरकारी तथा फलफूल पसलमा काम गर्न थालिन्। पसलकै गाडी सिकिन् र चलाउन सक्ने भइन्। सामान ओसारेर ल्याउन-दिन सक्ने भएपछि आफैं गाडी किन्ने निधो गरिन्।
'पढेको भए त सक्थेँ होला। तर पढाइभन्दा केही काम गर्नुपर्छ भन्ने भयो,' सुशीलाले भनिन्, 'मेरो घरमा पैसा कसैलाई पठाउन पर्दैन। कमाएको सबै पैसा बचत गरेँ। साहुहरूले पनि थपिदिएपछि मैले गाडी किनेँ।'
सुशीलाले भ्यान गत चैतमा किनेकी हुन्। यसले उनलाई राम्रै कमाइ गर्न सघाएको छ। आत्मनिर्भर भएपछि सन्तुष्टि दिएको छ।
'सडकमा हिँड्दा मज्जा पनि आएको छ,' २३ वर्षीया सुशीलाले भनिन्, 'धेरैको नजर ममाथि हुन्छ। भर्खरका केटाहरूले नजर जुधाउँछन्। यसो जिस्काउँछन्। म पनि के कम, मुसुक्क हाँस्दिन्छु। काममा हिँडेको मान्छे, केही भन्न मिलेन।'
सुशीलाले थपिन् ,'वयष्कहरूले भने राम्रो गरेकी छौ नानी भन्छन्। सबैले हौसला दिन्छन्। मलाई पनि ऊर्जा मिल्छ।'
यही ऊर्जा समेटेर उनी आफ्नो यात्रा जारी राख्दैछिन्। काम थाल्नेबित्तिकै मान्छे महत्वकांक्षी भएर धेरै सुविधा खोजे सफलता नपाइने उनको मान्यता छ।
भन्छिन्, 'सबै मान्छे सहनशील हुँदैनन्। सुरूमा काम गर्दा त अलिअलि दुःख भइहाल्छ। कसैले प्याच्च केही भन्लान् पनि। तर काम गर्दागर्दै सिक्ने हो।'
आफूलाई कुनै पुरुषले भन्दा कम काम गर्छु भन्ने नै नलाग्ने उनी बताउँछिन्। काम गर्न चाहिने सबभन्दा ठूलो शक्ति नै आत्मबल भएको उनको बुझाइ छ।
'म आफू पछाडि पर्दिनँ। केटा मान्छेले नै मात्र गर्ने काम आए पनि गर्छु,' सुशीला आत्मविश्वासका साथ भन्छिन्, 'अलिअलि अप्ठ्यारो त भइहाल्छ। तर मिलाउन जान्नुपर्यो नि। सबै काम सजिलो त कहाँबाट हुन्छ र।'
'कसैले यस्तो भन्ला, उस्तो गर्ला भन्ने सोच्यो मान्छेले केही गर्न सक्दैन,' उनले थपिन्, 'म यो काम गर्छु, यस्तो बाटो अपनाउँछु भनेर चिन्ता नलिई काम गर्यो भने जस्तो काम पनि सकिन्छ।'
सामान बोकेर सडकमा भ्यान चलाउँदै हिँड्नु सहज छैन। सडक गतिलो छैन। खाल्डाखुल्डी र अप्ठ्यारा छन्। बेलाबखत टायरको हावा गइदिन्छ।
तै सुशीलालाई थाहा छ, यो उनी एक्लैको समस्या होइन।
'त्यही भएर म धेरै गुनासो नगरी खुरूखुरू काम गर्छु,' उनले भनिन्, 'म जस्ता अरूले पनि त यही सडकमा गाडी चलाएर पेट पालिरहेका छन्।'
अहिले घरका सामान र तरकारी-फलफूल ओसारपसार गर्दै आएकी सुशीलाको योजना चकलेटको 'मार्केटिङ' गर्नु हो। पहिले पनि यो काम थालिसकेकी थिइन्। आर्थिक कारोबारका लागि अनिवार्य प्यान नम्बर चाहिने र पसलहरूले नलिएकाले त्यो काम रोकिएको छ।
'पसल र मेरो प्यानको काम भयो भने छिट्टै यो काम सुरू गर्छु,' उत्साहित हुँदै उनले सुनाइन्।