गत वर्षदेखि बुद्धजन्मस्थल लुम्बिनीमा सुरू भएको बौद्धग्रन्थ त्रिपिटक वाचन कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाउने भएको छ।
भारतको बोधगया र कुशिनगरमा विगत १६ वर्षदेखि त्रिपिटक बाचन भइरहे पनि बुद्ध जन्मस्थल लुम्बिनीमा भने पहिलो पटक गत वर्ष त्रिपिटक गुन्जिएको थियो।
लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पुर्याउने लक्ष्यसहित गत वर्षको कार्यक्रमलाई यस पटक पनि निरन्तरता दिन लागिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक समितिका संयोजक भिक्षु मैत्रेय महास्थवीरले जानकारी दिए।
गत वर्ष पहिलो पटक लुम्बिनीमा वाचन भएको त्रिपिटकको लयले लुम्बिनी क्षेत्र गुन्जायमान भएको थियो। त्यसबेला ३ दिनसम्म स्वदेशी र विदेशी गरी हजारौं बौद्धमार्गी एवं अन्य धर्ममा आस्था राख्ने लुम्बिनीको त्रिपिटक वाचनमा सहभागी भएका थिए।
यसपटक पनि ३ दिननै नोभेम्बर १४ देखि १६ सम्म लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजना गर्ने गरी तयारी सुरू भएको छ। त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ हो।
अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरी त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोस्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो।
त्रिपिटक बाचन कार्यक्रममा लुम्बिनीमा ३ वटै पिटकसँगै गौतमबुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिँदा) गर्दा सुनाएको बसन्त जातक सूत्र तथा शाक्य र कोलिय राज्यहरूबीच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तिका लागि देशना गरेका महासमय सूत्र समेत वाचन हुने जनाइएको छ।
त्रिपिटक पाली, देवनागरी र थाई भाषा आदिमा वाचन गरिने छ। जसलाई सहभागी प्रत्येक देशका भिक्षुहरूले आ-आफ्नो भाषा र शैलीमा पछ्याइ वाचन गर्नेछन्। गत वर्ष जस्तै यसवर्ष पनि थाइल्याण्ड, बर्मा, श्रीलंका, कोरियन, जापानिज, भियतनाम, लाओस, चाइनिज, कम्बोडियाका भिक्षुहरूका साथै नेपाली र हिमालयन भिक्षुहरूको समेत सहभागितामा त्रिपिटक वाचन हुनेछ।
अमेरिकन बुद्धिष्ट एसोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा गतवर्ष कार्यक्रम हुँदा लुम्बिनी विकास कोषसँगै विभिन्न संघसस्थाले कार्यक्रमलाई सहयोग गर्दै लुम्बिनीमा त्रिपिटक गुन्जन गराउन भूमिका निर्वाह गरेका थिए।
२०७६ साललाई प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको रूपमा मनाइरहेको र भ्रमण वर्षको क्यालेन्डरमा पनि त्रिपिटक वाचन कार्यक्रम समावेश भएकाले यस पटकको कार्यक्रममा प्रदेश सरकारको पनि उपस्थिति हुने जनाइएको छ।
यसैबीच, कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय बौद्ध समाजका संस्थापक भिक्षु मैत्रेय महास्थवीरको अध्यक्षतामा लुम्बिनी इन्टरनेशनल त्रिपिटक च्यान्टिङ कमिटी नेपाल गठन भएको छ ।