केहीदिनयता निष्क्रिय भएको मनसुनको प्रभाव सोमबारदेखि फेरि सुरू हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार साँझदेखि देशका पूर्वी र मध्य भागमा झरी पर्ने सम्भावना छ।
‘केही दिनअघि तलतिर सरेको न्यूनचापीय रेखा फेरि नेपालतिर आएको छ। यसले सोमबार साँझदेखि वर्षा गराउँछ,’ महाशाखाका मौसमविद् बरूण पौडेलले सेतोपाटीसँग भने,‘ मध्य र पूर्वी तराई क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ।’
यो मनसुनको देशका पश्चिमी भागमा भने प्रभाव कम हुने उनले बताए।
असार अन्तिम साता भएको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले ९० जना नागरिकको ज्यान गएको थियो भने २९ जना बेपत्ता भएका छन्।
भोलिदेखि सुरू हुने वर्षाले पनि पहाडमा पहिरो र तराईमा बाढी तथा डुबानको सम्भावना भएकाले सतर्कता अपनाउनु पर्ने मौसमविद् पौडेलले बताए।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान:
मौसम विश्लेषण
मनसुन न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भएता पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केही स्थानहरूमा वर्षाको सम्भावना छ।
देशभर समग्र मौसमको अवस्था
हाल देशको पूर्वी तथा पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्यमा आंशिक बदलीको अवस्था छ। पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
तीन दिनको मौसम पूर्वानुमान
आइतबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ।
राती: देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। पूर्व र मध्यका एक दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ।
सोमबार
दिउँसो: देशको पूर्वी र मध्य भु-भागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ। पूर्व तथा मध्यका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
राती: देशको पुर्वी र मध्य भु-भागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
मंगलबार
दिउँसो: देशको पूर्वी र मध्य भागमा पूर्ण बदली साथै पश्चिमी भू-भागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
राती: देशको पूर्वी र मध्य पूर्ण बदली साथै पश्चिमी भू-भागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
आगामी २४ घन्टा लागि चेतावनी तथा परामर्श
देशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ, जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ। पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने देखिन्छ।