दाङ देउखुरीको गढवा गाउँपालिका वडा नं. ३ गोबरढियाको यो ‘दरबार’ आजभन्दा झन्डै २ सय वर्ष अगाडि निर्माण गरिएको हो।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा विघटित राज परिषदका स्थायी सभापति परशुनारायण चौधरीका बाजे जोखनप्रसाद चौधरीले भारतको गोरखपुरबाट कालिगढहरू झिकाएर दरबार बनाउन लगाएका हुन्।
बेलको रस, मासको पिठो, ढुङ्गाको धूलो, इँट्टाको धूलो, बालुवाको घोलबाट यो दरबार बनाइएको हो।
त्यतिबेला इँट्टाको प्रयोग गर्ने चलन थिएन। भारतबाट झिकाइएका कालीगढले इँट्टा तयार पारेपछि प्रयोग हुन थाल्यो। इँट्टामा समेत जोखनप्रसाद चौधरीको नाम उल्लेख छ।
विक्रम संवत १९३८ सालदेखि बनाउन सुरू गरिएको यो दरबार १९४८ सालमा निर्माण पूरा भएको थियो। करिब ५ कठ्ठा जमिनमा बनेको यो दरबारमा ३६ कोठा थिए।
यो दरबार निर्माण गर्नको लागि दर्जनौं कालिगढ दस वर्षसम्म दाङमा बसेका थिए।
यो दरबारको अगाडि आँगनमा चार वटा सिंह बनाइएको थियो र ५५ वटा झ्याल पनि थिए, स्वरूप पनि काठमाडौंको सिंहदरबारजस्तै। त्यही भएर परशुनारायणको परिवारले राजपरिवारबाट मुद्दा खेप्नुपर्यो।
‘मुद्दा परेपछि सिंहका मूर्ति र ५५ झ्यालमध्ये केही झ्याल हटाइयो’, परशुनारायण चौधरीका ४७ वर्षीय भतिजा देवेन्द्रकुमार चौधरीले भने,‘अनि मात्र मुद्दा खारेज भयो।’
विक्रम संवत १९९० को विनाशकारी भूकम्पले तीन तलेयुक्त दरबारमा ठूलो क्षति पुग्यो। दरबारको माथिल्लो एक तल्ला ढल्यो। भूकम्पसँगै ५५ झ्याले दरबारको पहिचान पनि भत्कियो।
तत्कालीन समयमा आफ्ना पूर्खाहरूले काठमाडौंको सिंहदरबार र भक्तपुरको ५५ झ्याले दरबार जस्तै भवन निर्माण गरेको हुँदा पटक/पटक स्थानीय प्रशासन तथा राजपरिवारबाट परिवारले ठूलो सास्ती खेप्नु परेको चौधरी परिवारका सदस्य मनोज चौधरीले बताउँछन्।
भूकम्पले माथिल्लो तला भत्के पनि बचेको दुई तला भवनको माथिल्लो भागमा फेरि सिंह र हात्तीको मूर्ति राखिएका छन्।
स्थानीय सर्वसाधारणले त्यही भएर पनि हालसम्म उक्त भवनलाई ‘सिंहदरबार’ भन्दै आएका छन्।
भूकम्पले भत्काउअघि ३६ कोठायुक्त भवनको स्वरूप एकदम रोचक र मनमोहक छन्। तर उचित संवर्द्धन नहुँदा दरबारको अवस्था दयनीय छ। २/३ वर्ष अघिसम्म पनि चौधरीका परिवार यहीँ भवनमा बस्थे। तर पछिल्लो समय सबैले आ-आफ्नो घर बनाएपछि भवनको रेखदेख गर्ने कोही भएन।
चौधरी परिवारका केही सदस्य अझै पनि यो भवनको केही कोठाहरू प्रयोग गर्छन्। उनीहरूले पनि यसको संरक्षणमा चासो दिएका छैनन्।
सिंहदरबार जस्तै ५५ झ्याले दरबार निर्माण गरेपछि त्यतिबेलै जोखनप्रसाद चौधरीले नजिकै शिखर शैलीको एउटा आकर्षक मन्दिर पनि बनाउन लगाए। त्यो मन्दिर भने अझै पनि जस्ताको तस्तै छ।
भवन संरक्षणमा नहुनुको कारण यस्तो छ
पछिल्लो समय उक्त भवनको संरक्षण नहुँदा भत्कने अवस्थामा पुगेको छ। स्वर्गीय परशुनारायण चौधरी बस्ने गरेको कोठाको माथिल्लो तला पनि खस्ने अवस्थामा पुगेको छ। भित्ताहरू भत्कन थालेका छन्।
भवन अत्यन्त ठूलो हुनु तथा भाइपट्टिको बीचमा अंशवन्डा नभएको हुँदा धेरैको स्वामित्व भएका कारण भाइभाइकै बीचमा कुरा नमिल्दा भवन संरक्षणमा समस्या खडा भएको छ।
यो भवन निर्माण गर्ने जोखनप्रसाद चौधरीका ३ छोराहरू टंकनाथ, लिलाराम र गणेशरामको स्वामित्व हुँदै उनीहरूका छोरा/नातीहरूमा समेत यसको स्वामित्व कायमै छ।
अन्य सम्पत्ति र जग्ग्गा जमिन भाइहरूका बीचमा भागबन्डा भएको भए पनि भवन भने अंशवन्डा गरिएको छैन।
भवनलाई पर्यटकीय रूपमा विकास गर्न सकिने बताउँछन् चौधरी परिवारकै एक सदस्य अञ्जित चौधरी। यो भवनको नजिकै चर्चित धार्मिक स्थल जंगलकुटी छ।
निरीक्षण गरे तर काम भएन
यो भवन संरक्षण गर्न तथा यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न भन्दै जिल्ला विकास समितिका कर्मचारीहरूले स्थलगत भ्रमण गरेका थिए।
विक्रम संवत २०६५/०६६ सालमा जिल्ला विकास समितिबाट डा.गोविन्द आचार्य, स्वर्गीय नित्यानन्द शर्मालगायतका केही व्यक्तिहरू गएर भवनको ऐतिहासिक पक्षका बारेमा समेत जानकारी लिएका थिए। भवनको संरक्षणका लागि पर्यटन बोर्ड तथा पुरातत्व विभागमा कुरा गर्ने आश्वासन दिएका थिए। तर, त्यसपछि फेरि कोही फर्केर नआएको चौधरी परिवारका सदस्य बताउँछन्।
यसको संरक्षणको लागि प्रदेश सरकारबाट २५ लाख रुपैयाँ छुट्याइएको भए पनि त्यसबाट कुनै काम हुन सकेन।
चौधरी परिवारले नमानेको जनप्रतिनिधिको गुनासो
जनप्रतिनिधिहरूले भने चौधरी परिवारले नै नमानेको कारण काम अघि बढ्न नसकेको बताउँछन्।
प्रदेशसभा सदस्य इन्द्रजित चौधरीले चौधरी परिवारले नमानेकै कारण आफूले प्रदेश सरकारबाट भवन संरक्षणको लागि छुट्याउन लगाएको २५ लाख रुपैयाँ काम नहुँदा फ्रिज भएको बताए।
‘भवनलाई थारु संग्रहालय बनाउँ, परशुनारायणजीको मूर्ति राखौं, परशुनारायण पार्क बनाउँ भन्दा परिवारजनले सरकारलाई स्वामित्व हस्तान्तरण गर्न मानेनन्,’ प्रदेशसभा सदस्य चौधरीले भने, ‘त्यही भएर बजेटर फिर्ता गयो। अब फेरि यही हालतमा केही गर्न सक्ने अवस्था छैन।’
परशुनारायणका सन्तानले भवनसहित आसपासको जग्गा संग्रहालय निर्माणको लागि सरकारको स्वामित्वमा दिन राजी भए केही गर्न सकिने नत्र राज्यले केही गर्न संभव नहुने उनले बताए।
‘कि परिवारको सदस्यले केही गर्नुपर्छ कि राज्यलाई दिनुपर्छ,’ प्रदेश सदस्य चौधरीले भने।
सोही क्षेत्रवाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले पनि परशुनारायण चौधरीको राजनीतिक, सामाजिक योगदानको कदर गर्दै उक्त भवनलाई थारु संग्रहालय बनाउन उपयुक्त हुने राय व्यक्त गरे। ‘परशुनारायण चौधरीको परिवारको राणा विरोधी आन्दोलनमा ठूलो योगदान छ। त्यतिबेला सबै उहाँको दरबारमा भेला भएर आन्दोलनको तयारी गरिन्थ्यो। त्यसको सम्मान गर्न उहाँको मूर्ति राखेर त्यसलाई संग्रहालय बनाउनु पर्छ,’ चौधरीले भने ।
भवनलाई थारु साँस्कृतिक संग्रहालयको रूपमा विकास गरेर भवनको संरक्षणसँगै पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने उनले बताए।
दरबार संरक्षण, संवर्द्धन गर्न चौधरीका परिवारले सरकारलाई हस्तान्तरण गर्लान् कि आफैं संवर्द्धन गर्लान् त्यो भने पछिका दिनका थाहा हुनेछ।
को हुन् परशुनारायण ?
नेपाली कांग्रेसका पूर्वमहामन्त्री परशुनारायण चौधरी पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्व सरकारको मन्त्री हुन्।
उनी विक्रम संवत् २०१६ सालमै मन्त्री बनेका थिए। उनी बीपीका विश्वास पात्र मानिन्थे।
नेपाली कांग्रेसभित्र महामन्त्री जस्तो गरिमामय पदमा पुगेका चौधरीको राजनीति एकाएक २०३७ सालमा युटर्न भएको देखिन्छ। उनी दलीय राजनीति छाडेर त्यतिबेला सहयोगीहरूका साथ पञ्चायत प्रवेश गरेका थिए। त्यसपछि उनी शिक्षामन्त्री भए। २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले चौधरीलाई राष्ट्रिय पञ्चायतमा मनोनीत गरे। त्यसपछि स्वर्गीय चौधरीले पुनः विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए।
वि.सं. २०४३ सालमा मरिचमानसिंह श्रेष्ठ प्रधानमन्त्री हुँदा परशुनारायण आपूर्ति मन्त्री थिए। तर फेरि २०४६ सालको जनआन्दोलनपछि चौधरी नेपाली कांग्रेसमा पार्टी प्रवेश गरे।
त्यसपछि कांग्रेसभित्र पनि उनलाई अवसरवादीको संज्ञा दिन थालियो। फेरि उनी दरबारकै नजिकमा पुगेको देखिन्छ। उनी २०५९ साल फागुन ७ गते राजपरिषद् स्थायी समितिको सभापति बने। चौधरी पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय थिए। पिता लीलाराम र माता कृष्णमायाको कोखबाट दाङमा जन्मेका चौधरीको ८६ वर्षको उमेरमा २०६९ मंसिर २१ गते ललितपुरमा उनको निधन भएको थियो।