मुक्तकमैयाहरूले सरकारले आफूहरूलाई उपलब्ध गराएको जग्गाको पूर्जा अझै पाउन नसकेको गुनासो गरेका छन्।
मुक्तकमैया समाज र कमैया महिला जागरण मञ्च दाङको संयुक्त आयोजनामा दाङको लमहीमा आयोजित २० औं मुक्ति दिवसका अवसरमा उनीहरूले सो कुरा बताएका हुन्।
मुक्तकमैयाहरूले मुक्ति घोषणाको लामो समय बितिसक्दा पनि जग्गा धनि पूर्जा र परिचय पत्र राज्यले उपलब्ध गराउन नसकेको बताएका छन्। राज्यले आफूहरूलाई खोला किनार र विकट बस्तीमा जग्गा उपलब्ध गराएको र अझैसम्म पनि जग्गा धनि पूर्जा नपाउँदा अन्यौलता छाएको उनीहरूको गुनासो छ।
कार्यक्रममा सहभागी ४२ वर्षीय मानबहादुर नेपालीले गढवा गाउँपालिका ४ मा सरकारले आफूलाई उपलब्ध गराएको ५ कठ्ठा जग्गाको पूर्जा अझै पाउन नसकेको बताए।
‘अरु सुविधाको कुरै नगरौं, हामीले जग्गाको पूर्जा समेत पाएका छैनौं’, उनले भने, ‘हाम्रो बस्तीमा बिजुली बत्ती, खानेपानीलगायतका सुविधा समेत छैन।’
५३ वर्षीया छुत कुमारी चौधरीले राज्यले आफूहरू जस्ता मुक्तकमैयाहरूलाई बन्धक जस्तै बनाएर राखेको गुनासो पोखिन्।
उनले कतिपय मुक्तकमैयालाई प्रदान गरिएको जग्गाको पूर्जा एक ठाउँमा रहे पनि जग्गा अर्को ठाउँमा देखाइदिने गरेको हुँदा अन्यौल पर्ने गरेको बताइन्।
‘पूर्जा एक ठाउँको हुन्छ अनि जग्गा अर्को ठाउँमा देखाइन्छ’, चौधरीले भनिन्। सरकारले जग्गाको पूर्जा नदिएको हुँदा त्यो जग्गा बैंकमा राखेर ऋण तथा कुनै पनि कारोबार गर्न समेत नपाएको उनले बताइन्।
४५ वर्षीय प्रेमप्रसाद चौधरीले पनि हालसम्म राज्यले बस भनेर दिएको जग्गाको पूर्जा नपाएको बताए।
उनले राज्यले आफूहरूलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरेको दुखेसो गरे।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले एक वर्षभित्रै मुक्त कमैया सुकुम्वासीको पुर्नंस्थापना र व्यवस्थापनको काम नेपाल सरकारले गरिसक्ने दाबी गरे।
यसैगरी, प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रदेश सरकारमार्फत् गाँस, बासको व्यवस्था गरी रोजगारीको व्यवस्था गर्न प्रदेश सरकारले तयारी गरिरहेको बताए।
साविक गाविसको सिफारिस अनुसार जिल्लामा मालिकले प्रमाणित गरेका छुट मुक्तकमैया ३ हजार ३ सय ८५ जना छन्। मालिकले प्रमाणित गर्न नमानेका ५ हजार ४६ जना छुट मुक्तकमैया रहेका छन्।
तथ्याङ्क अनुसार दाङ जिल्लामा मात्रै एक हजार ४२६ जना मुक्तकमैया छन्। उनीहरू १४ वटा शिविरमा बसोबास गर्दै आएका छन्। त्यसमध्ये तत्कालीन गाविसको सिफारिसमा अधिकांशले जग्गाको पोत पनि तिरेका छन्।
दाङमा एक हजार ४ सय २६ परिचयपत्र प्राप्त मुक्तकमैया छन् भने त्यसमध्ये ७ सय ५ लालपूर्जासहितको जग्गा पाएका छन्। १० जना लालपूर्जा भएका तर जग्गा नभएका मुक्तकमैया छन्।