बाजुरा र कालीकोटको सीमा क्षेत्र नजिकै ज्रपाली भन्ने स्थानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
जगन्नाथ गाउँपालिकाको पीलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जीप ज्रपालीमा दुर्घटना भएको हो।
दुर्घटनामा परी जीप चालक रमेश बोगटी, मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाहीको मृत्यु भएको छ। कर्णाली करिडोरको बाजुरा कालीकोट क्षेत्रको ज्रपालीको उकालीमा चिप्लीएर दुर्घटना भएको हुन सक्ने जगन्नाथ गाउँपालिकाका प्रवक्ता डबल विकले बताए।
बिहान साढे ७ बजेतिर दुर्घटना भएको जीपमा १३ जना सवार थिए।
११ जना घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। घाइतेलाई हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज लगिएको बताइएको छ।
घाइते हुनेमा जगन्नाथ गाउँपालिका ५ गोत्रीका टक्क ल्वार, सोही गाउँका अम्मकला ल्वार, महेश्वरी ल्वार, जनु ल्वार, त्यसैगरी हिमाली गाउँपालिका लालवीर चदारा रहेका छन्। ती मध्ये टक्क ल्वार, अम्मकला ल्वारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।