अहिले हाम्रो हात-हातमा घडी छ। नभए मोबाइल। समय जसरी नि थाहा भइहाल्छ।
तीस दशकतिर छ्यापछ्याप्ती घडी कहाँ पाउनु? मोबाइल त छँदै थिएन। त्यो बेला घन्टाघरमा टङटङ बज्ने घडीको महत्व त्यही समयका मान्छेले मात्रै महशुस गर्छन्। अहिलेकाले अनुमानसम्म लाउन सक्छौं।
मध्यसहरबीच वीरशमसेरले घन्टाघर ठड्याएको एक शताब्दीभन्दा बढी भयो। सुरूआतमा घन्टाघर हामीले देखेको स्वरूपमा थिएन। बेलायत, लन्डनको 'बिग बेन' घडीको आकारसँग मिल्दो थियो। आवाज पनि त्यस्तै।
पछि १९९० सालको भुइँचालोले घन्टाघरमा क्षति भयो। मर्मतपछि यसले स्वरूप र आवाज दुवै नयाँ पायो।
त्यो बेला सवारी र मान्छेको घन्चमन्च कम थियो। राजधानीवासीलाई समय जनाउ दिने यसको टङटङ स्वयम्भू, नैकाप र अग्ला ठाउँमा समेत सुनिन्थ्यो। मान्छे त्यही आवाजका आधारमा समय बुझ्थे। विस्तारै सहर कंक्रिट जंगलले ढाक्यो। घन्टाघरको आवाज सुस्ताएर आसपासमै सुनिन मुश्किल भयो। विकल्प भएपछि मान्छेले वास्ता पनि गर्न छाडे।
बलम्बु स्थायी घर भएका गणेश सापकोटाले भने एक्लिएको घन्टाघरलाई २०४४ सालदेखि साथ दिइरहेका छन्।
गणेश घन्टाघरको रेखदेख र स्याहार-सुसार गर्छन्। यसका प्राविधिक पाटा मिलाउँछन्। आफ्ना सन्तानझैं हरपल यसकाबारे सोच्छन्। कतै जाँदा पनि 'केही भयो कि' भन्ने प्रश्नले खाइरहन्छ। यसरी नै उनले ३२ वर्षदेखि घन्टाघरलाई जीवित राखेका छन्।
हरेक दिन बिहान साढे ६ बजेभित्र उनी यहाँ आइसक्छन्। घडी ठीक छ भने अरू काम गर्छन्। बन्द भए फलामको भर्याङ उक्लेर ठूल्ठूला पाटपूर्जा मर्मत गर्छन्।
तर यतिले मात्र घन्टाघर चल्दैन। ब्याट्री वा बिजुलीबाट नचल्ने यहाँको घडीमा हातैले दम दिनुपर्छ। दम दिने भनेको फलामको ह्यान्डलले मिलको चक्का घुमाएजस्तो घुमाउने। जति घुमायो, अचानोजस्तो फलामको डल्लो उति माथि आउँछ। यसकै भारले घडीको सुई घुम्छ। सुई सर्दै जान्छ र त्यो फलामको डल्लो पनि तल झर्दै जान्छ।
घडी चलाइराख्न साताको दुईपटक दम दिनुपर्छ जसका निम्ति छुट्टै कर्मचारी नियुक्त छन्।
गणेशको काम यहाँको प्राविधिक पक्ष हेर्नु हो। २०३७ सालमा उनी त्रिचन्द्र कलेजमा प्राविधिकका रूपमा जागिरे थिए। उनको काम ग्यास, पाइप बनाउने यस्तै-यस्तै थियो।
२०४४ सालमा नेपालले सार्क शिखर सम्मेलन गर्ने भयो। त्यतिखेर घन्टाघर बन्दजस्तै थियो। घडी चलाउने प्राविधिकको खोजी भयो, भनेजस्तो भेटिएन।
कलेजमै काम गरिरहेका गणेशलाई नै प्रस्ताव आयो।
'प्राविधिक काममा सक्दिनँ भन्ने मेरो बानी छैन, त्यसैले सक्छु भनेँ,' उनले घडीको जिम्मा पाएको क्षण सम्झिँदै भने।
आँगन अगाडि नै भए पनि यसअघि उनी एकपटक मात्र घन्टाघर छिरेका थिए। २०३९ सालको आगलागीमा अरू उद्धारकर्ताको मद्दत गर्न माथि उक्लेको उनले बताए। आगलागीले बाहिरपट्टिको घडीमा क्षति पुगेको थियो। मर्मत गर्न भारतबाट प्राविधिक आएका थिए।
मर्मतको यही चटारो गणेशको काँधमा आएको थियो। राजधानीको ठूलो घडीको जिम्मा पाउँदा उनी खुसी थिए। सुरूका केही दिन घडीबारे सिकेरै बिताए। आफूले यसबारे कुनै तालिम नलिएको उनी बताउँछन्। आफ्नो सामान्य प्राविधिक ज्ञानले नै यसलाई चलाइरहेको उनको भनाइ छ।
'मैले पाटपूर्जा हेर्दै सिकेको हुँ,' गणेशले भने, 'सुरूमा १३ दिन १३ रात घन्टाघरमै बसेर घडी चलाएँ।'
त्यसैले होला उनी घन्टाघरको घडीलाई आफ्नो गुरू मान्छन्।
घडी चलाउने जिम्मा पाएका उनीसँग सुरूआती दिनमा हातमा घडी थिएन। एउटा रेडियो दिइएको थियो। त्यही सुनेर समय मिलाउँथे।
'रेडियो पछि क्याम्पस प्रमुखले लगे। मैले ७५ रूपैयाँमा एउटा घडी किनेँ र त्यही हेरेर घन्टाघर मिलाउन थालेँ,' उनले भने।
गणेश आफ्नो काममा कमी नहोस् भन्ने चाहन्थे। कार्यालयबाट १३ किलोमिटर पर बलम्बुमा घर भए पनि न्युरोडमै कोठा लिएर बसेका थिए। राति बन्द भयो भने आउन सजिलो होस् भनेर।
पछि उनी बिरामी भए। परिवारले एक्लै बस्न दिएनन्। अहिले घरबाटै धाउँछन्। कोठा भने छाडिसकेका छैनन्। चाडपर्वले पनि रोक्दैन। दसैं विदामा पनि दिनमा एकपटक आफू यहाँ आइपुग्ने बताउँछन्।
'२०४४ सालयता काठमाडौं बाहिर रात काटेको छैन,' उनले भने।
उनी आफ्नो काममा गर्व गर्छन्। तर कहीँ जान नपाउँदा कहिलेकाहीँ पिँजडामा थुनिएको अनुभूति गर्छन्।
अबको ५ वर्षपछि उनले अवकाश पाउँछन्। भन्छन्, 'म गएपछि घन्टाघर पनि संग्रहालयमा जाने होला।'
आफूले सकुन्जेल समस्या परेका बेला घन्टाघर चलाउन आउने उनको चाहना छ।
'मेरो नाम-इज्जत सबै यहीसँग जोडियो,' उनले भने, 'घन्टाघर निरन्तर चल्नु गौरवको कुरा हो। नयाँ मान्छे आए म सिकाउन तयार छु।'
तर उनलाई नयाँ मान्छे तयार होला भन्ने आश छैन। यसको महत्व सहरको आधुनिकीकरणले मेटाउँदै गएको उनको बुझाइ छ।
घन्टाघर बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्र लथालिंग छ। यत्रतत्र परेवाको विष्टा र भित्ताभर माकुरा जालोले भरिएको छ। भर्याङ जोखिमपूर्ण छ।
'सरसफाई गरौं भनेर कुरा पनि गरेँ, क्याम्पसले हुन्छ मात्र भन्छ। अहिलेसम्म गरेको छैन,' गणेश गुनासो गर्छन्, 'मैले मात्र माया गरेर नहुने रैछ।'
उनले माया प्रस्ट्याउन २०७२ सालको भुँइचालो अनुभव सम्झिए।
त्यो बेला उनी छिमेकीको दाहसंस्कारका लागि घाटमा रहेछन्। त्यहीँ उनले सुने- धरहरा र घन्टाघर ढल्यो रे !
'म आफैं माथिबाट तल खसेजस्तो भयो,' उनले भने, 'हातगोडा लल्याकलुलुक भए। आफ्नो घरकोभन्दा बढी चिन्ता घन्टाघरको थियो।'
त्यही दिन हेर्न उनी आउन सकेनन्। रातभर छटपटिए। भोलिपल्ट बिहानै आएर आँखा परैबाट तन्काउँदै, आत्तिँदै घन्टाघर नियाले।
'अघिल्लो दिनदेखि बढेको सास बल्ल थामियो। घन्टाघर सर्लक्कै थियो,' यो घटना सुनाउँदा अहिले पनि उनको अनुहारमा खुसी देखिन्छ।
भुइँचालोमा 'बाँचेको' घन्टाघरलाई अहिले कोलाहलले थिचेको छ, सहरले वेवास्ता गरेको छ, गणेशको भने गज्जबको मोह छ।
भन्छन्, 'अरूलाई संगीत सुनेर आनन्द आएजस्तै मलाई यसको टङटङ सुन्दा आनन्द लाग्छ। बजेन भने खल्लो हुन्छ, आत्तिहाल्छु।'