रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ।
२०७५ साल वैशाख १ गतेदेखि प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन गर्दै आएको नगरपालिकाले १५ महिनापछि बुधबार प्लाष्टिक निषेधित घोषणा गरेको हो।
प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री घनश्याम भुसालले नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरेका हुन्।
उनले सहभागीहरूलाई प्लाष्टिक झोला प्रयोग नगर्ने संकल्प समेत गराएका थिए।
नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यवसायिक तथा सामाजिक संघसंस्था, सरकारी कार्यालय, आमा समूह, युवा क्लब, टोल विकास संस्था, वन, विद्यालयका प्रतिनिधिलगायतले प्लाष्टिक झोला प्रयोग नगर्ने संकल्प गरेका थिए।
प्लाष्टिक झोलासँगै नगरपालिकाले प्लाष्टिकका कप, प्लेट, चम्चा समेत निषेध गरेको छ।
नगर प्रमुख बासुदेव घिमिरेले प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पारेकाले न्यूनीकरणको अभियान स्वरूप प्लाष्टिकका झोला, कप, चम्चा र प्लेटको विक्रीवितरण, प्रयोग, आयात, निर्यातलाई निषेध गरिएको बताए।
नगरपालिकाले विकल्पमा कपडा, अल्लो, जुट वा अन्य वातावरणमैत्री वस्तुबाट बनेका झोला तथा वैकल्पिक साधन प्रयोग गर्न आग्रह गर्दै आएको छ।
घोषणापूर्व सरोकारवालाहरूसँग पटक-पटक छलफल, अन्तर्क्रिया गरेको नगरपालिकाले अब प्लाष्टिक झोलाको विक्रीवितरण रोक्न कडाइका साथ बजार अनुगमन गरिने जनाएको छ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य भुसालले प्लाष्टिक निषेधित अभियान राष्ट्रिय महत्वको विषय भएकाले समग्र नेपाल नै कुनै एउटा समयमा प्लाष्टिक झोलामुक्त हुने विश्वास व्यक्त गरे। प्लाष्टिक मानव स्वास्थ्यका लागि घातक हो भन्ने प्रमाणित भैसकेको सन्दर्भमा त्यसलाई हटाउने अभियान तिलोत्तमाबाट सुरू हुनु सुखद भएको चर्चा गर्दै उनले यसको अनुसरण अरु पालिकाहरूले पनि गर्नुपर्नेमा जोड दिए।
प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले अभियान चलाइएसँगै प्लाष्टिक झोलाको प्रयोगमा कमी आएको उल्लेख गर्दै सबैले प्रण गर्दा अभियान पूर्णतः सफल हुने बताए ।
प्रदेश सांसद दधिराम न्यौपानेले नगरबासीको इच्छाशक्तिबाटै प्लाष्टिक झोलामुक्त गर्न संभव हुने र यसलाई नगरपालिकाले दृढताका साथ कार्यान्वयन गराउनुपर्ने बताए।
नगर उपप्रमुख जागेश्वरी चौधरीले प्लाष्टिक सडेर वा गलेर नजाने र जलाउँदा पनि वायु प्रदूषण हुनेभएकाले यसको नियन्त्रण अपरिहार्य भएको बताइन् ।
पछिल्ला वर्षहरूमा प्लाष्टिक झोलाको प्रयोग फोहोरमैलाको प्रमुख कारण बनेको छ। नकुहिने फोहोरमैलामा प्लाष्टिक अग्रस्थानमा छ । प्लास्टिक झोलाको बढ्दो प्रयोगसँगै पानीको स्रोत, जमिन, वायु प्रदूषण, चौपाया तथा खेतीमा हानी पुर्याउने जस्ता समस्या भित्रिएका छन्।