कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्। फरार अभियुक्त धादिङ सल्यानटारका मदन परियारलाई प्रहरीले पक्राउ गरेको हो। एक विवाह उत्सवमा मदनले गोरखा कान्द्राङका ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गरी हत्या गरेका थिए।
धादिङ आगिन्चोकमा २०५९ बैशाख ८ गते राति १२ बजेको समयमा विवाह उत्सव चलिरहँदा २४ वर्षीय मदनले कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटपछि लिलामानको मृत्यु भएको थियो। काठमाडौंको ढल्कुबाट पक्राउ मदनलाई कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालत समक्ष म्याद अनुमतिका लागि पेश गरिएको प्रहरीले जनाएको छ।