स्थानीय सर्वसाधारण नागरिकले श्रमदान गरेर प्रहरी चाैकी बनाएका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ गोठीखोलामा नयाँ अस्थायी प्रहरी चौकी जनताको सहयोगबाट निर्माण पुरा भएको हो। झन्डै १४ लाखको लागतमा निर्माण भएको नयाँ अस्थायी चौकी मंगलरबारबाट संचालनमा आएको छ।
चौकी निर्माणको लागि स्थानीय दलबहादुर विष्टले झन्डै १ कठ्ठा बराबरको जग्गा दान गरेको चौकीका प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद श्रेष्ठले बताए।
प्रहरीको भवन निर्माण गर्न स्थानीय आमा समूह, सहकारी समुहले श्रमदान गरेको श्रेष्ठले बताए। तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ ले भवन निर्माणमा ५ लाख सहयोग गरेको थियो।
जस्तापाता उपमहानगरपालिकाले सहयोग गरेको हो। त्यो बाहेक ५ कोठे भवन निर्माणको लागि आवश्यक बालुवा, गिट्टी, ढुङ्गा, रड, सिमेन्ट सबै स्थानीय व्यापारीले सहयोग गरेका हुन्। ‘जनताको सहयोग नभएको भए भवन बन्न संभव थिएन,’ श्रेष्ठले भने।
भवनको उद्घाटन गर्दै तुलसीपुरका मेयर घनश्याम पाण्डेले बदलिँदो संरचना अनुसार स्थानीय तहका सबै ठाउँमा प्रहरी चौकी स्थापना गर्न
लागिएको बताए।
समाजमा शान्ति स्थापना गर्ने सवालमा कुनै पनि कसुर बाँकी नराख्न उनले आग्रह गरे। कार्यक्रममा प्रहरी प्रमुख वेलवहादुर पाण्डेले शान्ति सुरक्षा कायम गर्नका लागि घर परिवारबाटै पहल गर्नुपर्ने तर्क गरे। ‘सन्तानले के गरिरहेका छन् भन्ने बारेमा चनाखो भएर सयममै सोच्न सक्ने हो भने अपराध न्यूनीकरणमा सहयोग पुग्छ’ उनले भने।