सोमबार दिउँसो आधा घण्टा परेको भीषण वर्षाले बुटवल बजार जलमग्न भयो।
दिउँसो करिब चार बजेदेखि परेको वर्षाले बुटवलको मुख्य बजार क्षेत्र नै डुबानमा परेको हो।
आधा घण्टामात्र परेको भीषण वर्षाले मुख्य बजार क्षेत्र ट्राफिक चोक, अमरपथ, बीपी चोक, मिलन चोक, राजमार्ग चौराहलगायतको क्षेत्र जलमग्न भएको थियो।
देशका पूर्वी जिल्लासँगै विभिन्न क्षेत्रमा वर्षाले जनधनको ठूलो क्षति पुर्याइरहेका बेला छोटो समय परेको भए पनि भीषण वर्षाले सर्वसाधारण त्रसित बनेका थिए।
अहिले पानी रोकिएपछि बजारक्षेत्रमा डुबान हटेको छ। बुटवलमा निर्माण गरिएको सडक किनारको ढल अत्यन्त साँघुरो बनाइएको र त्यसैमा बजार क्षेत्रको फोहोर गएर भरिँदा ढल तथा नाली जाम भएको कारण सामान्य वर्षा हुँदा समेत बुटवलको सडक जलमग्न हुने गरेको छ।
तिनाउ खोलाको उद्गम पाल्पाको दोभान र शिद्धबाबा क्षेत्रमा भने अहिले भीषण पानी परेको छ।
खोलामा पानीको सतह बढ्दै गएकोले स्थानीय प्रशासन र बुटवल उपमहानगरपालिकाले सतर्क रहन खोला किनारका बासिन्दालाई आग्रह गरेको छ।
तस्बिर : भगवती पाण्डे/सेतोपाटी