चार दिनदेखिको अविरल वर्षाका कारण झापाको कन्काइ, मेची, विरीङ, मावा, कमल, निन्दा, देउनियालगायत नदीमा पानीको बहाव बढेको छ।
आइतबार दिउँसोदेखि वर्षा रोकिए पनि नदी नालामा पानीको सतह घटेको छैन। नदीहरूमा पानीको बहाव बढ्दा तटीय क्षेत्र कटान सुरू भएको छ। नदी आसपासका स्थानीयलाई सुरक्षित स्थानतर्फ हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
शनिबार राति कन्काइमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दै बाँधसमेत फुटाएको छ। बाँध फुटाउँदा गौरीगञ्जका करिब ३२ घरपरिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ।
साबिक महाभारा पाँच हाल गौरीगञ्ज गाउँपालिका होकलबाडीका ३२ घरपरिवार बाढीका कारण विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।विस्थापित भएका घरपरिवारलाई स्थानीय इन्द्रेणी प्रावि गौरीगञ्जमा राखिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
कन्काइमा रहेको जनता तटबन्ध भत्किएको कारण बाँध फुटेर बस्तीमा पानी छिरेपछि उनीहरूलाई सुरक्षित स्थानतर्फ सारिएको हो।
त्यसैगरी अविरल वर्षाले घर भत्किँदा झापा गाउँपालिकामा २ जना घाइते भएका छन्। घाइते हुनेमा ३५ वर्षीय राजकुमार कोच र उनका १२ वर्षीय छोरा रामचन्द्र कोच रहेका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।
दुवै जनाको स्थानीय स्वास्थय चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी साँवा लिम्बू र प्रदेश सांसद झलकबहादुर दर्लामी मगरले आफ्नो निर्वाचन क्षेत्रमा बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गरेका छन्। शिवसताक्षीको वडा नम्बर ४,५,६,८ गौरिगञ्ज गाउँपालिकाको १ र २ नम्बर वडामा बाढीले पुर्याएको क्षतिको बारेमा उनीहरूले जानकारी लिएका हुन्।
सांसद साँवा र मगरले बाढीबाट चपेटामा परेका परिवारसँग प्रत्यक्ष कुराकानी समेत गरेका छन्। सांसदद्वयले बाढीबाट पीडित बनेका परिवारलाई तत्काल राहतका लागि आफूले सरकारसँग पहल गर्ने बताए।
बाढीको दीर्घकालीन समाधानका लागि तटबन्धलगायतका अन्य कार्यक्रमलाई आउँदो आवमा समेट्ने पनि उनीहरूले विस्थापित परिवारलाई आश्वासन दिए।