अबको शैक्षिक पाठ्यक्रम कस्तो बनाउने भन्ने विषयमा बुटवल उपमहानगरपालिकाले बहस शुभारम्भ गरेको छ।
स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र कक्षा ११/१२ का लागि प्राविधिक तथा व्यवसायिक, सीपमूलक शिक्षाका विषयमा विज्ञहरूलाई एकै ठाउँमा भेला गराएर बुटवलले नौलो थालनी गरेको हो।
अबको शिक्षा कस्तो बनाउने र त्यसबाट उत्पादित जनशक्तिलाई कहाँ उपयोग गर्ने भन्ने विषयमा योजना बनाउन बहसले सहज बनाएको छ।
कार्यक्रममा सहभागीहरूले पढाउने, सिकाउने र सँगसँगै तत्परता जगाउने खालको शिक्षाको विकास गर्ने खालको पाठ्यक्रम बनाउन सुझाव दिए।
बुटवलले तयार पारेको स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षाका विषयमा सुझाव संकलनका लागि गोष्ठी गरिएको हो।
विज्ञहरूले स्थानीय पाठ्यक्रमले बुटवलको चिनारी गराउने र यहाँको समृद्धिका लागि यहीँको समुदायबाट जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
बुटवलको आवश्यकता र त्यसलाई पूर्ती गर्न चाहिने जनशक्ति यहीँ उत्पादन गर्ने लक्ष्य राखेर पाठ्यक्रम बनाउन उनीहरूले उपमहानगरपालिकालाई सुझाव दिए।
यहाँको मौलिकता, संस्कृति र पहिचान जोगाउँदै श्रम र परम्परागत सीपलाई जोडेर उत्पादनमा लगाउनुपर्ने बताए।
बुटवलले स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षाको मस्यौदा तयार पारेको छ।
आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने यिनै विषयका मस्यौदामा उपमहानगरपालिकाले विज्ञहरूको सुझाव संकलन गरेको हो।
गोष्ठीमा बोल्दै प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शैक्षिक विकासका लागि नयाँ नीति र नयाँ योजनाको खाँचो रहेको बताए।
बुटवलले बनाएको स्थानीय पाठ्यक्रमले यहाँका अरु स्थानीय तहका लागि पनि उपयोगी दस्ताबेजको काम गर्ने मन्त्री बरालले विश्वास व्यक्त गरे।
उपमहानगरपालिका प्रमुख सुवेदीले स्थानीय पाठ्यक्रममा समेट्ने विषयहरू र लक्षित विद्यार्थीहरूको उमेर समूहको आधारमा पाठ्यभार निर्धारण गरिएको बताए।
शिक्षाविद् डा.विद्यानाथ कोइरालाले विद्यालयलाई बालबालिकाका लागि बहुज्ञान सिकाउने थलोका रूपमा विकास गर्न र उनीहरूले रोजेको मातृभाषाका कक्षा चलाउन सुझाव दिए।
बालबालिकालाई चुनौतीका बारेमा जानकार गराउने र चुनौतीसँग जुध्न पनि सिकाउनुपर्ने भन्दै विज्ञ कोइरालाले समुदायसँग जोड्ने र समुदायबाटै केही कुरा सिक्ने वातावरणको विकास गर्नुपर्नेमा जोड दिए।
प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षा काठमाडौंका प्राध्यापक डा राजेन्द्रप्रसाद अधिकारी, पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराई, शिक्षाविज्ञ रमाकान्त सापकोटा, रामलाल श्रेष्ठ, बुद्धिसागर भट्टराई र छवि नेपालले बुटवलले शैक्षिक विकासका क्षेत्रमा नमूना काम गरेको भन्दै प्रशंसा गरे।
त्यसअवसरमा बुटवल उपमहानगरपालिकाका स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षाका बारेमा बुटवलका लागि तयार पारिएका योजनाहरू प्रस्तुत गरिएको थियो।
विज्ञहरूका सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिइने र आउँदो शैक्षिक सत्रदेखि लागू गरिने बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव मित्रमणी खनालले जानकारी दिए।
बुटवल उपमहानगरपालिकाले आधारभूत तहदेखि कक्षा ८ सम्म पठनपाठन हुने गरी एकसय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार पारेको छ। बुटवलको ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक, धार्मिक, सामाजिक र विविध विषयहरू समेटेर बुटवलको चिनारी गराउने उद्देश्यले यहाँको अलग्गै स्थानीय पाठ्यक्रम तयार पारिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन्।
बुटवलको स्थानीय आवश्यकताका विषयवस्तु यहीँका नागरिकको अपनत्व हुने गरी स्थानीय ज्ञान, सीप र प्रविधिलाई पाठ्यक्रममा समेटिएको छ।
केन्द्रबाट तय हुने राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतका पक्षलाई समेट्ने गरि स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार स्थानीय तहमा आएको थियो।
सोही अवधारणा र संवैधानिक व्यवस्था बमोजिम बुटवलको स्थानीय पाठ्यक्रम तयार पारिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।