प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ।
आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरूको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३० जना बेपत्ता भएका छन्। अहिलेसम्म एक हजार ११०४ जनाको उद्धार गरिएको छ।
प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं– १ मा १७, प्रदेश नं– २ मा आठ, प्रदेश नं– ३ मा १३, प्रदेश नं– ५ र ६ मा दुई/दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ५० जनाको ज्यान गएको हो।
उपत्यकाको काठमाडौंमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन्। प्रदेश नं– १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एक/एक जनाको ज्यान गएको छ।
प्रदेश नं– २ अन्तर्गत धनुषा र बारामा दुईदुई तथा पर्सा, रौतहट, सिरहा,महोत्तरीमा एक/एक गरी सात जनाको मृत्यु भएको छ। प्रदेश नं–३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीन/तीन, सिन्धुलीमा तीन र धादिङमा दुई तथा रामेछाप र चितवनमा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै प्रदेश नं– ५ को पाल्पा र दाङमा एक/एक तथा प्रदेश नं– ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ ।
बेपत्ता हुनेमा काठमाडौं र ललितपुरमा एक/एक जना, प्रदेश नं– १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एक/एक तथा मोरङ र इलाममा तीन/तीन जना छन्। प्रदेश नं– २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एक/एक जना बेपत्ता छन्। प्रदेश नं– ३ को सिन्धुलीमा ५ जना र धादिङमा एक जना बेपत्ता छन्।
यस्तै, कर्णालीको डोल्पास्थित कासिल खोलाले बगाएर ७ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं– १ मा आठ, प्रदेश नं– ३ मा १२ जना रहेका छन्। सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं– १ बाट १२ जना, प्रदेश नं– २ बाट ८२७ जना, प्रदेश नं– ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ।
अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।