विगत तीन दिनदेखिको लगातारको वर्षापछि स्थानीय खोलामा आएको बाढीले तुलसीपुर–घोराही–लमही सडकखण्ड अवरूद्ध भएको छ । घोराही–लमही सडकखण्डको बीचमा पर्ने बबई, सिस्ने,पत्रेलगायत तीनवटा खोलामा आएको बाढीले घोराही–लमही सडक खण्डको यातायात सेवा ठप्प भएको हो।
त्यस्तै, तुलसीपुर– घोराही सडकखण्डको गुर्जे खोलामा आएको बाढीले साना सवारी साधन बिहानदेखि सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
बिहान दस बजेदेखि ठूला सवारी साधनमात्रै सञ्चालनमा आएको एसपी पाण्डेले बताए । त्यस्तै पत्रे र ग्वारखोलामा समेत बाढी आएको एसपी पाण्डेले जानकारी दिए।
ग्वारखोलामा एक्कासी आएको बाढीले शुक्रबार बेलुका धुन भनी लगेको एउटा बस पनि बगाएको थियो।
तुलसीपुर हुँदै लमहीसम्म झन्डै एक दर्जनजति खहरे खोलाहरू पर्छन्। त्यसमध्ये आधा दर्जन जति खोलाहरूमा पुल निर्माण भइरहेको छ। पुल निर्माणाधीन खोलाहरूमा निर्माण गरिएको डाइभर्सन समेत खोलाले बगाएपछि तथा विगारेपछि यातायातका साधन सञ्चालन हुन नसकेका हुन्।
विभिन्न खोलाहरूमा आएको बाढीका कारण ट्रक, बस,ट्याक्टर लगायतका साधन फाट्टफुट्ट सञ्चालनमा आएको भएपनि साना सवारी साधन भने सञ्चालनमा आउन सकेका छैनन्।
खोलामुनिका पुल (कजवे) विस्थापित गर्न पुल निर्माण कार्य चल्दै आएको भए पनि अधिकांश निर्माण कम्पनीले सम्झौताको मिति गुजारी सकेका छन्। तर पनि पुल निर्माणको कार्य भने अधुरै छ। जसले गर्दा बर्षातको समयमा खोलाहरू धराप बन्न पुगेका छन्।
समयमै पुल निर्माणको काम नसक्दा विगत ४/५ वर्षयता हरेक वर्षातमा तुलसीपुर-अमेलिया सडक खण्डको यात्रा सर्वसाधारणका लागि जोखिमयुक्त बन्ने गरेको छ। स्थानीय खोलाहरूमा आउने बाढीले जिल्ला आन्तरिक रूपमा नाकाबन्दीमा परेजस्तै हुने गर्छ।
तर प्रहरीले नागरिकको सुरक्षाको लागि हरेक खोलाहरूमा प्रहरी खटाउँदै आएको छ।
प्रहरीले खोलाको अवस्था हेरेरमात्रै सवारी चलाउन दिने गरेको छ। एसपी पाण्डेले उद्धार सामग्रीसहित हरेक खोलाहरूमा प्रहरी र ट्राफिक प्रहरी खटाइएको जानकारी दिए।
मोटरसाइकल लगायतका साना सवारी चालकलाई सम्झाइ बुझाइ गरेर प्रहरीले फर्काउने गरेको छ।