तीन दिनदेखि परेको लगातारको वर्षाका कारण सदरमुकाम मार्तडीमा निर्माणाधीन सडक हिलाम्मे हुँदा हिँड्नै सकस भएको छ। समयमा सडक निर्माण सम्पन्न नहुँदा सडकमा हिँड्न स्थानीयलाई सास्ती भएको हो।
सडकका खाल्डाखुल्डीमा पानी जमेको छ। खानेपानीका पाइप फुटेर फोहोर सडकमा बगिरहेको देखिन्छ।
सडक निर्माणका क्रममा खनिएको बाटोमा पैदल यात्री हिँड्ने ठाउँ छैन। त्यति मात्रै होइन, जिल्ला प्रशासन कार्यालय निर्माण भईरहेको सार्वजनिक ठाउँ खुला मञ्चमा समेत निर्माण सामग्री राख्दा हिलोका कारण तलमाथि हिँड्न असहज भएको छ। स्थानीयले चाँडो सडकको काम सकेर समस्याबाट मुक्त गरिदिन माग गरेका छन्।
सदरमुकाम मार्तडीमा बडिमालिका नगरपालिकाले गौडा डिलदेखि जिल्ला प्रशासन कार्यालयसम्म र डिभिजन वन कार्यालयदेखि जिल्ला अस्पतालसम्मको सडक विस्तारको काम एक वर्षमै सक्ने गरी २०७५ मा काम थालेको थियो। एक वर्ष बितिसक्दा पनि काम सम्पन्न भएको छैन। काममा ढिलासुस्ती देखेर छिटो गर्नुपर्ने मागसहित स्थानीयबासी आक्रोसित भएका छन्।
‘समस्या सधैं यस्तै हो,’ व्यापारी सुरेन्द्र नाथले भने, ‘पानी पर्दा हिलोले समस्या हुन्छ। सडक निर्माण समयमा नगर्दा समस्या भएको हो। चाँडै नगरपालिकाले समस्या समाधान गर्नुपर्यो।’
सडकका कारण व्यापार घटेको अर्का एक व्यापारीले बताए। ‘हिलोका कारण ग्राहक आउन सक्ने अवस्था छैन,’ व्यापारी तुला रोकायाले भने, ‘व्यापार नभएको धेरै दिन भयो। सम्बन्धित निकायले समयमा काम सम्पन्न गरोस्।’
सडक निमार्णका लागि २ करोड ५० लाख बडिमालिका नगरपालिकाले विनियोजन गरेको थियो। यता, बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालका अनुसार वर्षाका कारण निमार्णको काम रोकिएको छ। ठेकेदारलाई चाँडो काम सकाउन निर्देशन दिइएको उनले बताए। नगरपालिकाको ६ मिटर चौडाइमा सडक विस्तार गर्ने सहमतिमा काम थालिएको थियो।
स्थानीयले सडकमा परेका संरचना नभत्काउँदा काममा ढिला भएको उनले बताए। ‘सडक विस्तारका लागि ६ मिटर क्लियर भएको ठाउँमा काम छिटो भयो,’ उनले भने, ‘केही ठाउँका संरचना भत्काउन सफल भइयो तर केही ठाउँका संरचना भत्काउन स्थानीयले नमानेपछि अलि ढिला भएको हो।’ उनले स्थानीयले संरचना भत्काउन नमानेपछि ठेकेदारलाई पनि काम नगर्ने निहुँ भएको बताए।