भिएलएनका संचालक रामप्रसाद श्रेष्ठमाथि परेको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालत माग दाबी नपुगेको भन्दै अन्तिम आदेश सुनाएको छ ।
न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले श्रेष्ठमाथि परेको ठगी मुद्दामा माग दाबी नपुगेको भन्दै अन्तिम आदेश सुनाएको हो।
मलेसिया जाने कामदारहरुमाथि ठगी गरेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीमाथी २ अर्व ८६ करोडको मागदाबी गर्दै मुद्दा दायर गरेको थियो। श्रेष्ठले गत मंसिर २६ गते जिल्ला अदालत ललितपुरबाट यही ठगी मुद्दामा सफाई पाएका थिए।
दावी नपुगेको भन्दै अन्तिम फैसला सुनाएको अदालतले जनाएको छ। एक वर्षअघि पक्राउ परेका श्रेष्ठ काठमाडौं जिल्ला अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
उनी रिहा भएपनि ललितपुरमा पनि मुद्दा रहेको भन्दै प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो । जिल्ला अदालत ललितपुरले पनि उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । पछि उनलाई सफाइ दिएको थियो।
भिएलएनसहित, जिएसजी, वान स्टेप सेन्टरलगायतका संस्था श्रम मन्त्री गोकर्ण विष्टले गत जेठमा नै खारेज भएको घोषणा गरेका थिए ।
त्यस यता देखि बन्द मलेसियाको रोजगारी अहिलेसम्म खुल्न सकेको छैन। गत कात्तिकमा मलेसियासँग श्रम समझदारी भएता पनि श्रममन्त्री विष्टले विभिन्न बहानामा मलेसिया रोजगारी रोकेका छन् ।