पाटन दरबार क्षेत्रभित्र रहेको भीमसेन मन्दिर पुनर्निर्माण गर्न स्थानीय व्यवसायी बिके श्रेष्ठले एक करोड रूपैयाँ दान दिएका छन्।
उपत्यकाकै नमूना धरोहरका रूपमा रहेको यस मन्दिरमा आफ्ना पुर्खाले गर्दै आएको योगदानको निरन्तरता स्वरूप यो सहयोग दिएको श्रेष्ठले बताए। उनी एभरेष्ट बैंकका अध्यक्ष हुन्।
मल्लकालमा निर्मित यो मन्दिरलाई २०७२ को भुइँचालोले नराम्ररी क्षति पुर्याएपछि हालै स्थानीय स्तरबाट पुनर्निर्माण सुरू गरिएको छ। मन्दिर पुनर्निर्माणको जिम्मेवारी भारत सरकारले लिए पनि लामो समय थालनी हुन सकेको थिएन।
जीर्ण मन्दिर कुनै पनि समय भत्केर ठूलो जनधन क्षति हुनसक्ने अवस्थामा स्थानीय बासिन्दाले नै सहयोग जुटाएर मन्दिर बनाउने प्रयास थालेका हुन्।
मंगलटोल सुधार समिति, ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर महानगरपालिका र पुरातत्व विभागले यसमा संयुक्त प्रयास गरिरहेका छन्। यसमा 'काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट' को प्रविधिक सहयोग छ।
सुन लेपनबाहेक ४ करोड ९३ लाखको अनुमानित लागतमा सुरू पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले एक करोड र प्रदेश ३ सरकारबाट ५० लाख सहयोग हुने घोषणापछि श्रेष्ठले एक करोड दिने घोषणा गरेका हुन्।
पाटन पुर्खौली घर भएका व्यवसायी श्रेष्ठले उनका पिता एवं आफ्नो समयका चिनिएका साहु गणेशलाल श्रेष्ठको सम्झनामा यो रकम प्रदान गरेका हुन्।
'भिन्द्यको नाममा सहयोग समर्पण गर्न पाउनु मेरो अहोभाग्य हो। भीमसेन पाटनको मात्रै नभई सम्पूर्ण नेवारहरूको इस्टदेव हो। यही मन्दिरमा मेरा पिताजीले आफ्नो समयमा सहयोग गरेका थिए। त्यसपछि हाम्रो परिवारले सदैव सहयोग समर्पण गर्दै आएको छ। यो समर्पण हाम्रो पुर्खौली अभिभारा पनि हो,' श्रेष्ठले भने।
श्रेष्ठले उक्त रकमको चेक ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, मन्दिर पुनर्निर्माण समिति तथा उद्योग वाणिज्य संघका सभापति कृष्णलाल महर्जन, मंगलटोल सुधार समितिका अध्यक्ष तथा पुनर्निर्माण समिति उपाध्यक्ष किरणमान प्रधान र काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्टका प्रमुख रोहित रंजितकारलाइ संयुक्त रूपमा प्रदान गरेका थिए।
चेक लिएपछि मन्दिर पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनले व्यक्तिगत स्तरबाट आएको यति ठूलो सहयोगले आफूहरूमा ऊर्जा र आत्मविश्वास बढाएको बताए।
यो पनि हेर्नुहोस्:
पाँच पाण्डवका एक मात्र भाइ जसको मन्दिरै बनाएर पूजा गरिन्छ