वर्ष ७३, तर जोस भने युवाको जस्तै छ देवीमाया थापामा। लमही नगरपालिका वडा नं. ९ अमेलियामा उनको घर छ, अफिस भने रिहारमा।
अमेलिया र रिहारबीचको दुरी १६ किलोमिटर छ। थापा घरदेखि अफिस जान आउन ३२ किलोमिटर यात्रा गर्नुपर्छ। उनी सधै सार्वजनिक यातायात चढेर यो यात्रा गर्छिन्।
सात वर्ष अघि कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था गठन भएदेखि नै अध्यक्ष थापा निरन्तर स्थानीय दिदीबहिनीको घर आँगन र बस्तीमा पुग्दै आएकी छन्।
‘अब अध्यक्ष बन्दिन भन्दा पनि समूहका दिदी बहिनीहरुले नै मान्दैनन्,’ थापाले भनिन्– ‘तपाई नभए यो सहकारी नै चल्दैन भन्छन्। त्यसैले चटक्कै छोड्न पनि सकेकी छैन।’ थापाको लागि सहकारी एउटा परिवारजस्तै बनेको छ।
सहकारीमा महिला मात्रै सेयर सदस्य छन्। सेयर सदस्य संख्या एक हजार २५ पुगेको छ। म्यानेजर हेमनारायण चौधरी र एकजना ट्याक्टरका चालक मात्रै पुरुष कर्मचारी छन्।
‘रातमा पनि जंगलको बाटो पनि हिँड्नुपर्ने हुन्छ। केही काममा महिलालाई अलि समस्या पर्ने हुँदा सहकारीको म्यानेजरमा पुरुष कर्मचारी राखिएको हो,’ अध्यक्ष थापाले भनिन्। म्यानेजर चौधरीले मार्केटिङ र बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गर्दै आएका छन्। सहकारीका सदस्यले उत्पादन गरेका खसी बाख्रा ल्याउन पनि उनी खटिन्छन्।
लमही नगरपालिकाको वडा नं. ८, ९ र राजपुर गाउँपालिका वडा नं. ९ मा गरी सहकारीका ५४ वटा समूह छन्। राजपुरमा ९ वटा समूह छन् भने बाँकी सबै लमही नगरपालिकामा छन्।
सहकारीमा हाल चल अचल गरी २ करोडको सम्पत्ति छ। एक करोड नगद सहकारीमा आबद्ध महिलाहरुले व्यवसायिक काममा परिचालन गरेका छन्। झण्डै एक करोडको कृषि उपकरण छन्। सहकारीको आफ्नै भवन छ। चारकोठा कार्यालय प्रयोजनका लागि प्रयोग गरिएको छ। एउटा कोठामा रासायनिक मल राखिएको छ भने अर्कोमा कृषि उपकरणहरु राखिएको छ।
२० रुपैयाँ उठाएर सुरु भएको कर्मठ महिला सहकारी संस्थामा आज सेयर सदस्यले मासिक १ हजार ५ सयदेखि २ हजारसम्म जम्मा गर्न थालेका छन्।
लमही रातो डाँडास्थित प्रधानमन्त्री परियोजना मकै सुपर जोन कार्यक्रमले सहकारी सदस्यहरुको बारीमा मकै रोपिदिएको छ। थापा सुपर जोन कार्यक्रमकी उपाध्यक्ष समेत हुन्। मेसिनले नै जोत्ने, मकै रोक्ने रासायनिक मल छर्ने, मकै छोडाउने काम हुँदै आएको छ।
सुपर जोनले खेतबारी जोत्नलाई एउटा ठूलो ट्याक्टर, २ वटा सानो ट्याक्टर (च्याम्फा), मकै रोप्ने ज्याक प्लान्टर सिंगल ५ र डबल ५ गरी १० वटा, मकै छोडाउने मेसिन ५ वटा र एउटा ठूलो थ्रेसर दिएको छ। सबै काम मेसिनबाटै हुन थालेपछि स्थानीय महिला दिदी बहिनी खुसी छन्। पिकअप, ट्याक्टर र अन्य सबै कृषि उपकरणहरु सहुलियतमा दिने गरिएको छ।
पानी सिचाइँको लागि एक दर्जन जति स्यालो ‘टिववेल’ गाडिएको छ। राप्ती नदीको किनार भएकाले थोरै खन्दा पानी निस्कन्छ।
६ सय सदस्य बाख्रापालनमा, संकलन एकै ठाउँमा
सहकारीमा आवद्ध एक हजार २५ महिला सेयर सदस्यमध्ये ६ सय बढीले व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका छन्। बाख्रा पाल्नेसँग कम्तीमा दश माउ हुनुपर्ने नियम सहकारीले लगाएको छ। २० जनाले व्यवसायिक भैंसी र ६ जनाले जर्सी गाई पालेका छन्। अरुले सिजन अनुसार तरकारी खेती गरेर फाइदा लिँदै आएका छन्।
लमही नगरको वडा नं. ८ र ९ अन्तर्गतको रिहार, कोलतारा, तेल्ले, हर्देवा, अमेलिया, बाङ्गेताल, शिवखोला, जलकुण्डी, हात्तीखाल लगायत राजपुर गाउँपालिका वडा नं. ९ अन्तर्गतका गोरुवा र राताकाँस गाउँलाई बाख्रा पालन पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ।
‘वरिपरि जंगल प्रशस्त भएकाले बाख्रा चराउन पनि सजिलो छ,’ तीन वर्षदेखि सहकारीको सहयोगमा व्यवसायिक बाख्रा पाल्दै आएकी हुमा वलीले भनिन्। सहकारी बाट २ लाख ऋण लिएकी उनको घरमा हाल ४८ वटा बाख्रा छन्।
केही दिन पहिले मात्रै उनले ६ वटा खसी बेचेको बताइन्। गत दशैंमा वलीले ७० हजारको खसी बेचेकी थिइन्। सहकारीले महिलालाई उद्यमी बनाएको वलीले तर्क गरिन्। सहकारीले सेयर सदस्यलाई डेढ प्रतिसत व्याजमा ऋण लगानी गर्दै आएको छ। ‘सहकारीमा लागेपछि घर खर्च धान्न सजिलो भएको स्थानीय ३३ बर्षीया मिना गिरीले बताइन्।
बाख्रा पालक किसानलाई केही दिन पहिले मात्रै लमही नगरपालिकाले कुल ४ लाख ७० हजारमा खरिद गरेको १० वटा बोयर जातका बोका सहयोग गरेको छ।
सहकारीको कार्यालय परिसरमै खसी संकलन केन्द्र छ। सबै सेयर सदस्यले पालेका खसी तयार भएपछि सल्लाह गरेर एकै ठाउँमा जम्मा गर्छन् र तौलेर बेच्छन्। खसी बाहिर लगेर बेच्नका लागि सहकारीसँग पिकअप गाडी छ। प्रदेश सरकारले हालै अनुदानमा प्रदान गरेको पिकअप अब खसी बजारसम्म लैजान र बजारबाट आवश्यक दाना, मल विउविजन ल्याउनका लागि प्रयोग हुन थालेको थापाले बताइन्।
पिकअपमा एक पटकमा ३० वटा सम्म खसी बोक्न मिल्छ। खसी संकलन केन्द्र भने जिल्ला स्वास्थ्य कार्यालयले निर्माण गरिदिएको हो। खसी बाख्रा जस्तै उत्पादित मकै, तरकारी पनि एकै ठाउँमा जम्मा गरेर विक्रीका लागि बजार पठाउने गरिएको छ।
दाङमै उत्कृष्ट सहकारी
जिल्ला सहकारी संघका अध्यक्ष शुक्रराज भण्डारीका अनुसार दाङ जिल्लामा हाल ६ सय २७ वटा सहकारी क्रियाशील छन्। तर ती सबैलाई उछिन्दै ७३ वर्षीया देवीमाया थापाले नेतृत्व गरेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था उत्कृष्ट सावित भएको छ। ५ नं. प्रदेश सरकारले असार तेस्रो सातातिर यो सहकारीलाई जिल्लामा उत्कृष्ट ठहर गर्दै पिकअप किन्नका लागि १० लाख अनुदान प्रदान गरेको थियो।
त्यसमा सहकारीले ११ लाख ६० हजार थपेर नयाँ पिकअप भ्यान खरिद गरेको छ। यसले सहकारीमा आबद्ध महिलाहरुले उत्पादन गरेको तरकारी, फलफूल, खसी, बाख्रा बजारमा पुर्याउन र बजारबाट दाना ल्याउन सहजता भएको छ।
५ नं. प्रदेशका १२ जिल्लामा १२ वटा यस्तै उत्कृष्ट सहकारी र उद्यमीहरुलाई पिकअप खरिदका लागि सरकारले यो वर्ष अनुदानमा १ करोड २० लाख प्रदान गरेको छ।
सहकारीका सदस्यले उत्पादन गरेको मकैबाट च्याँख्ला, पिठो, आटो उत्पादन गरेर बेच्ने लक्ष्य थापाले लिएकी छन्। त्यस्तै तोरी पेलेर शुद्ध तेल बेच्ने लक्ष्य सहकारीको छ। यसका लागि मिल संचालन गर्ने सहकारीको तयारी छ।
त्यस्तै तुलसीपुर, घोराही, लमही, लमेलिया क्षेत्रमा मासु व्यवसाय संचालन गर्ने लक्ष्य उनले लिएकी छन्। त्यसो भएमा स्थानीय स्तरमै उत्पादित खसी र कुखुरा आफ्नै पसलबाट खपत हुनेछ।
सहकारीले बाँकेको कोहलपुरमा बधशाला निर्माण गर्न २४ लाख रकम संकलन गरिसकेको छ। दाङ, सल्यान, प्यूठान, बाँके, बर्दिया, सुर्खेत जिल्लाका सहकारीहरुसँग मिलेर कोहलपुरमा अत्याधुनिक बधशाला निर्माण गर्ने योजना अनुरुप सो रकम संकलन भएको उनले बताइन्।
असार १९ गते अध्यक्ष थापा काठमाडौं पुगेर युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको सम्झौता गरेर फर्किएकी छन्। जसमध्ये पहिलो किस्तामा २५ लाख सहकारीलाई आउँछ। त्यो रकम कृषि र पशुपालनमै लगानी गर्ने सहकारीको योजना छ।