तुलसीपुरको दुधरास-सक्राम छिल्लीकोट सडकखण्ड स्तरोन्नतिको क्रममा सडकमा ग्राभेलको सट्टा हिलेमाटो हालेपछि त्यसको व्यापक विरोध भएको छ।
सडक निर्माणको जिम्मा पाएको झरना निर्माण सेवा त्रिवेणी रोल्पाले ग्राभेलको सट्टा हिलाम्मे माटो लगेर सडकमा फिजाएपछि स्थानीय विरोधमा उत्रिएका हुन्।
निर्माण कम्पनीका कामदारले स्थानीयवासीले विरोध गर्दागर्दै जवर्जस्ती मध्यसडकमै हिलो माटो फालेपछि स्थानियवासी आक्रोसित छन्।
असार मसान्त नजिक आउँदै गर्दा निर्माण व्यवसायीले निर्माण संहिताविपरीत जबर्जस्ती रूपमा गुणस्तरहीन काम गरेको स्थानीय हरिबहादुर विष्टले बताए।
उनले भने, ‘गुणस्तरहीन काम नगरौं, यो हिले माटो यहाँ नफिजाऊँ भन्दा पनि कामदारले जवर्जस्ती हिलो माटोबीच सडकमै फ्याँकेर गए।’
दिउँसोको समयमा स्थानीयले विरोध गर्न थालेपछि निर्माण जिम्मा लिएको कामदारले अनुगमन समितिलाई समेत झुक्याएर रातको समयमा हिलो माटो ल्याएर फिजाएको बताए।
‘हामीलाई झुक्याएर रातको समयमा ठेकेदारले ‘मिस्कट’ राख्नुपर्ने स्थानमा हिलो माटो फालेको रहेछ, त्यसैको विरोध गर्न यहाँ आएका हौं’, आयोजना अनुगमन समितिका संयोजक ज्ञान बहादुर बस्नेतले भने। निर्माण कम्पनीले स्थानीय सिँचाइ कुलोमा समेत पानी नचढ्ने गरी हिमपाइप पनि बिच्छाएको आरोप लगाएको छ।
स्थानीयको व्यापक विरोधपछि तुलसीपुर उपमहागरपालिका वडा नं. १७ का वडा अध्यक्ष माधव वलीसँगै स्थानीयले निर्माण कम्पनीका प्रोपाइटर मानबहादुर विष्टलाई बोलाएर तत्कालै सडकमा राखिएको हिले माटो हटाउन लगाएका थिए।
सडक स्तरोन्नतिको जिम्मा लिएका निर्माण कम्पनीका प्रोपाइटर बुढाथोकीले गल्तीबस यस्तो भएको भन्दै माफी मागेका थिए। त्यसपछि उनले रातमा सडकमा फालिएको हिलोमाटो उठाएर लगेका थिए।
प्रदेश सरकारको योजनामा झन्डै १ करोड ८९ लाख ९६ हजार ६ सय ४४ रुपैयाँ लागत अनुमान गरिएको सो सडक झरना निर्माण सेवाले करिब ६० लाख रुपैयाभन्दा पनि कम टेण्डरमा लिएको थियो।
धेरै कममा काम गरेको निर्माण कम्पनीले मुनाफा नहुने निश्चित जस्तै रहेको हुँदा मिस्कटको सट्टा हिलो माटो हालेर सडकको स्तरोन्नति गर्न थालेको स्थानीयवासी कृष्णबहादुर डाँगीको दाबी छ।
निर्माण कम्पनीले २०७६ जेठ ३० गते काम सक्ने सर्तमा २०७५ फागुन २१ सम्झौता गरेको थियो। यो सडकको प्राविधिक अनुगमन र निगमनको जिम्मा जिल्ला भौतिक पूर्वाधार कार्यालयले लिएको छ। तर उक्त कार्यालयका प्राविधिकहरू भने व्यापक लापरवाही र जनगुनासो भइरहँदा समेत फिल्डमा आएका छैनन्। कार्यालयका प्रमुख वाशुदेव भण्डारीले भने निर्माण कम्पनीलाई असारे झरीमा काम रोक्न निर्देशन दिइसकेको बताए।
‘हामीले काम रोक्न भनिसकेका छौं, अब सडकमा रहेका खाल्टाखुल्टी पुरेर रोलिङ गर्ने मात्रै हो, पक्की र थप ग्राभेलको काम हुँदैन,’कार्यालय प्रमुख भण्डारीले भने।
उनले ग्राभेलको ठाउँमा सडकमा राखिएको हिलेमाटो तत्काल हटाउन निर्देशन दिइसकेको बताए ।