गएको असार १३ गते विषालु च्याउ खाँदा राक्सिराङकी १३ वर्षीया एक बालिकाको मृत्यु भयो। च्याउ खाएर बिरामी परेका चेपाङ परिवारले स्वास्थ्य संस्था वा अस्पताल जानुपर्छ भन्ने भेउ समेत पाएनन्। उनीहरुले च्याउको विष मार्न झारफुक र तन्त्रमन्त्रको सहारा लिए।
तीन दिनसम्म चिन्ता बस्ने, ढ्याङ्ग्रो ठोक्ने र बलि दिने गर्दा पनि विषको असर कम भएन। उल्टै च्याउ खाएर बिरामी परेकाहरु झन् सिकिस्त हुँदै गए। तेह्र वर्षीया बुञ्जीमायाँ चेपाङको त मृत्यु नै भयो।
घटना बाहिरिएपछि राक्सिराङमा कार्यरत गैरसरकारी संस्था दिगो विकासका लागि एकता नेपालले लिजा हिमालयको सहयोगमा हेलिकप्टर मगाएर अन्य बिरामीलाई अस्पताल पुर्यायो। चितवनमा उपचाररत् घाइते तीन जनामध्ये १९ वर्षीय बर्दलाल चेपाङको २० गते निधन भयो। बाँकी दुईको चितवनमा उपचार भइरहेको छ।
संस्थाका अञ्जन पौडेलका अनुसार बाँकी दुई जनाको अवस्था पनि खतरामुक्त छैन। जानकारहरुका अनुसार उनीहरुलाई तत्काल अस्पताल लगिएको भए ज्यान जाने थिएन तर, उनीहरु धामीको भर परे।
मकवानपुरकै कैलाश गाउँपालिका-७ भार्ताका झाँक्री चित्रबहादुर चेपाङ भने आफूकहाँ झारफुकका लागि आएका बिरामीहरुलाई उनीहरुको चित्त बुझाएर अस्पताल पठाउने गर्छन्। उनी भन्छन्, ‘पहिला पहिला त म पनि फुकेर निको हुन्छ भन्ठान्थेँ तर, अहिले डाक्टरहरुले परीक्षण गरेर रोग पत्ता लगाउँछन् र रोग अनुसारको उपचार गर्छन् भन्ने कुरा थाहा भयो। झारफुक त मनोवैज्ञानिक उपचार विधि रहेछ। जीउका कीटाणु दबाई नखाई मर्दोरहेनछ। बाहिर फुकेर भाँचिएको हाड जोडिन्छ भन्नु पनि सत्य हुने कुरै भएन।’
आफ्नो रोग निको पार्न निरीह पशुपन्छीको बलि दिनु झन् पाप गर्नु हो भन्ने उनी ठान्छन्। तर, मनका बिरामीहरुको भने रातभर फलाकेर उपचार गर्ने उनी बताउँछन्। ‘उनीहरुलाई मैले फुकेर बिसेक भएको भन्ने लाग्छ। मनले नै मानेपछि धेरै मनोरोगहरु निको हुन्छ,’ उनी भन्छन्।
अनौठो बानी भएका झाँक्री चित्रबहादुर बालबच्चाहरुलाई विद्यालय पठाउने अभियानमा पनि उत्तिकै लागेका छन्। उनीसँग जोडिएको अर्को पाटो पनि रोचक छ।
कैलाशस्थित सरस्वती आधारभूत विद्यालयमा अहिले ९९ जना विद्यार्थी छन्। कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा एक जना बाल विकास शिक्षक र एक जना प्रावि राहत शिक्षक मात्रैले इसिडीसहित ६ वटै कक्षा पढाउँछन्।
विगतमा थोरै विद्यार्थीहरु मात्र भएकाले शिक्षक सङ्ख्या बढाउन पहल नै भएन तर, यो शैक्षिक सत्रदेखि भने यस विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै बढ्यो। एक जना शिक्षकले धान्न नसक्ने अवस्था आएपछि एक मात्र शिक्षक तथा प्रधानाध्यापक रमिला हिमडुङले कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानलाई विद्यार्थी सङ्ख्या बढेकाले शिक्षक थपिदिन अनुरोध गरिन्।
गाउँपालिका अध्यक्ष मोक्तानलाई मकवानपुरको कर्णाली भनेर चिनिने विकट भार्ताको चेपाङ बाहुल्य क्षेत्र, जहाँ अधिकाँश बालबालिकाहरुलाई विद्यालय पठाइँदैन। एकाएक विद्यार्थी सङ्ख्या बढ्नुको कारण जान्न मन लाग्यो उनलाई। उनले कारण थाहा पाइन्।
जसलाई हामी अन्धविश्वासका संस्थापक मान्छौं, उनले नै बढाएका थिए विद्यार्थी सङ्ख्या। उनी थिए झाँक्री चित्रबहादुर चेपाङ।
बालबालिका बिरामी परेर झारफुकका लागि बोलाएका बखत उनी विद्यालय नगएकाले बिरामी परेको भनेर तिनीहरुलाई सम्झाउँदा रहेछन्। ‘पढे सफा सुग्घर हुन्छ, सफा भए रोग लाग्दैन, जागिर खान पाइन्छ, इज्जत बढ्छ भनेर सम्झाउँछु,’ चेपाङले भने। वास्तवमा उनी एक सामान्य झाँक्री मात्रै भने होइन, शैक्षिक उत्प्रेरक र समाजसेवी पनि छन्।
आफूकहाँ आउने बिरामीलाई उहाँ तत्काल अस्पताल जान अनुरोध गर्छन्। बिरामीको नाममा घरमै बसेर झारफुक गरिदिने गरेको बताउँछन्। अस्पताल लगे बिरामीको रोगको सही उपचार हुन्छ, झारफुक गरे मनको उपचार हुन्छ भन्ने उनको कथन छ। ‘गाउँमा अशिक्षा छ, उनीहरुमा अन्धविश्वास पनि छ, उनीहरुको विश्वास म हुँ, मैले ठाउँ देखेको छु, डुलेको छु, तालीमहरु लिएको छु, मेरो विश्वास अस्पताल हो,’ उनले भने।
झाँक्री चेपाङ गाउँका गरीब चेपाङ समुदायका लागि साँच्चै नै भगवान् सरह छन्। उनको अभियानले गाउँका धेरै बालबालिका विद्यालय गएका छन् भन्छन् स्थानीय समाजसेवी नमुना चेपाङ। ‘चित्र दाइ धामी मात्र होइन समाजसेवी पनि हो, अझ भार्ताको कृषि क्षेत्रमा उहाँको ठूलो योगदान छ,’ कृषि जेटिए निशा ढुङ्गाना भन्छिन्। उनी काठको हलो जुवा बनाउने मात्र हैन अहिले विशेष तालिम लिएर हाते ट्याक्टर पनि मर्मत गर्छन्।
गाउँका हाते ट्याक्टर बिग्रिए उनी विकल्प हुन्। गाउँ विकासका विभिन्न योजनाहरुमा अग्रसर चित्रबहादुरले स्थानीय जातका कुखुरा पाल्न, मौरी पालन गर्न तथा फलफूलको बिरुवाहरु रोप्न गाउँलेहरुलाई अनुरोध पनि गर्छन्। उनी स्वयंले पनि कुखुरा पालन, मौरी पालन तथा फलफूल खेती गरेका छन्।
शिक्षिका रमिला हिमडुङ पनि उनलाई असल व्यक्तिको रुपमा चित्रण गर्छिन्। ‘आफ्ना बालबालिकालाई विद्यालय पठाउन नचाहने अभिभावकहरुलाई झारफुक नगरिदिने भनेर मनोवैज्ञानिक दबाब दिएर भए बालबालिकालाई विद्यालय पुर्याउन उहाँले भूमिका खेल्दैआउनुभएको छ,’ शिक्षक हिमडुङले भनिन्। गाउँपालिका अध्यक्ष टंक मोक्तान झाँक्री चेपाङलाई एक समाज सुधारक र शैक्षिक अभियन्ताको रुपमा चित्रण गर्छन् उनको उत्प्रेरणाका कारण विद्यालय जान छाडेका र भर्ना नै नभएका थुप्रै बालबालिकाहरु विद्यालय जान थालेको मोक्तान बताउँछन्।