स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बित्यो।
प्रदेश नम्बर १, ५ र ७ मा २०७४ साल असार १४ गते दोस्रो चरणको निर्वाचन भएको थियो।
दाङको तुलसीपुर उपमहाननगरपालिकामा स्थानीय जनप्रतिनिधि चयन भएको पनि दुई वर्ष पुगेको छ।
मेयर घनश्याम पाण्डेले आफ्नो घोषणापत्रमा तुलसीपुरलाई नेपालकै नमुना र स्मार्ट सहर बनाउने घोषणा गरेका थिए।
निर्वाचन जितेपछि गर्ने प्राय: सबै भाषणमा यही कुरा दोहोर्याउँछन्।
उनका भाषणमा तुलसीपुर स्मार्ट सिटी, स्मार्ट किसान,स्मार्ट छोरी,स्पोर्ट सिटी, स्मार्ट टिचर शब्द छुट्दैनन्।
मेयरले भाषणमा भनेजस्तो तुलसीपुर बजार स्मार्ट भने बनिसकेको छैन नत बन्ने सुरसार नै छ।
पाण्डे मेयरका रूपमा निर्वाचित हुँदै गर्दा बिग्रने क्रममा रहेका सिसी क्यामेरा अझैं मर्मत वा नयाँ जडान गरिएका छैनन्।
मुख्य बजारमा तुलसीपुर उद्योग वाणिज्य संघले प्रहरीको आग्रहमा झन्डै डेढ दर्जन जति सिसी क्यामेरा जडान गरिदिएको थियो। प्रहरीले बजारमा बिग्रिएका सिसी क्यामेरा जडान गर्न वा नयाँ सिसी क्यामेरा राख्न माग गर्दै लामो समयदेखि उपमहानगरपालिकालाई भनेको भन्यै छ। तर अहिलेसम्म सुनुवाइ भएको छैन।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले प्रमुख बनेर आएलगतै मेयर पाण्डेलाई भेटेर दुई दर्जन जति सिसी क्यामेरा जडानको लागि आग्रह गरे पनि अझैं सम्बोधन नभएको बताए।
उनले सिसी क्यामेरा नहुँदा रातमा हुने घटना वा दुर्घटना अनुसन्धान गर्न समस्या हुने गरेको र ट्राफिक प्रहरीलाई समेत गल्ती गर्ने सवारी चालकलाई निगरानी, कारबाही र सवारी व्यवस्थापनमा समस्या भइरहेको बताए।
तुलसीपुरको अर्को मुख्य समस्या सडक बत्तीको हो।
सडकमा जडान गरिएका सोलार बत्ती बिग्रिएर बल्न छोडेको एक वर्ष हुन थाल्यो, मर्मत गर्नेतिर उपमहानगरको चासो छैन।
केही दिनअघि तुलसीपुरको मुख्य सडकमै रहेका पसलमा चोरी भयो। प्रहरीलाई चोर पत्ता लगाउन मुस्किल भएको छ किनकी न फुटेज हेर्न सिसिटिभी छैन।
दुई वर्षसम्म बजारका सबै सिसिटिभी बिग्रिएर काम नलाग्ने भइसक्दा पनि किन मर्मत वा नयाँ स्थापना गर्न चासो नदिइएको हो? भन्ने प्रश्नमा मेयर पाण्डले छिट्टै २५ वटा सिसिटिभी जडान गर्न लागेको जानकारी बताए। सडक बत्ती नबल्दा रातमा बजार अन्धकार र असुरक्षित भएको प्रसंगमा उनले आफू आउनुभन्दा पहिले जडान गरिएका सोलार बत्ती कमसल खालको भएकाले मर्मत गर्न नसकिएको तर्क गरे।
हेर्नुस् भिडिओ