एक सातापछि सोमबारदेखि फोहोर संकलन सुरू गरिए पनि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन विकल्प देखिएको छैन।
ककनी गाउँपालिकास्थित सिसडोलमा स्थानीयवासीले विभिन्न माग राखेर समय-समयमा अवरोध सिर्जना गरिरहेका छन् भने अर्कातिर बञ्चरेडाँडामा निर्माण गरिने भनिएको ‘ल्याण्डफिल साइट’ निर्माण सम्पन्न हुन तीन वर्ष लाग्ने भनिएको छ।
अहिले उपत्यकाका सबै स्थानबाट कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेर संकलन भइरहेको छ। फोहोरको वर्गीकरण हुन नसक्नु नै फोहोर व्यवस्थापनको मुख्य समस्याका रूपमा देखिएको महानगर वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए। अझै पनि यहाँको फोहोर वर्गीकरण नगर्ने हो भने सिसडोल, बञ्चरेडाँडा वा अरू कुनै फोहर विसर्जनस्थल छोटो समयका लागि मात्रै हुने उनको भनाइ थियो। उनले भने, ‘हामीले बञ्चरेडाँडामा फोहोर केही वर्ष फाल्छौं फेरि यही अवस्था आइहाल्छ।’
वर्गीकरण गरेर नकुहिने र पुनः प्रयोग नहुने फोहोर मात्रै ल्याण्डफिल साइटमा पठाउँदा मात्रै फोहोर व्यवस्थापनको समस्या नहुने प्रमुख श्रेष्ठको भनाइ छ। महानगरवासीले कुहिने फोहोर र नकुहिने फोहोर छुट्टाछुट्टै राख्नुपर्नेमा जोड दिँदै उनले थोरै भए पनि करेसाबारी भएकाले तरकारी र फलफूलका खेर गएका भागबाट आफूलाई चाहिने मल तयार गर्न सक्ने बताए।
उपत्यकामा उत्पादन हुने फोहोरको आधा फोहोर कुहिने फोहोर भएको बताउँदै उनले तीबाहेक पनि कागज, प्लास्टिकलगायत फोहोर घरघरमै लिन आउनेलाई पठाउने र त्यसबाहेकको फोहोर मात्रै फोहोर संकलन गर्ने गाडीमा पठाउनुपर्ने धारणा व्यक्त गरे।
उनले भने, ‘यसले गर्दा एकातिर फोहोरको मात्रा ज्यादै कम हुन्छ भने अर्कातिर कम्पोष्ट मलको उत्पादन हुन्छ।’
भविष्यमा महानगर आफैंले प्राङ्गारिक मल उत्पादनको योजना बनाएको प्रमुख श्रेष्ठले बताए।
सङ्कलित फोहोर वर्गीकरण गरे कुहिनेबाट कम्पोष्ट मल बनाउने योजना बनाइएको छ।
सडक छेउमा फोहोर फाल्ने भाडा राखे पनि उपत्यकावासीको जथाभावी फोहोर फाल्ने बानीमा सुधार नआएको उनले बताए।
प्रमुख श्रेष्ठले भने, ‘यहाँका कर्मचारीले बिहानभर सफा गरेको सडक दिउँसोसम्म कागज र प्लास्टिकले भरिसक्छ।’
काठमाडौं मात्रै नभएर उपत्यकाका अधिकांश पालिकाले सिसडोलमा नै फोहोर विसर्जन गर्दै आएका छन्।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा स्थानीय तह र निजी कम्पनीले दैनिक आ-आफ्नै तरिकाले फोहोर सङ्कलन तथा व्यवस्थापन गरिरहेका छन्। फोहोर सङ्कलन गर्ने निजी कम्पनी अहिलेसम्म दर्ता प्रक्रियामा नआएकाले तिनलाई प्रक्रियामा ल्याउन पहल भइरहेको पनि श्रेष्ठले जानकारी दिए। निजी कम्पनीले घरघरबाट र स्थानीय तहले सडकमा थुपारिएका तथा सार्वजनिकस्थल र केही पुराना बस्तीका फोहोर सङ्कलन गर्ने गरेका छन्। स्थानीय तह र निजी कम्पनी दुवैले आ-आफ्नै टिपरमार्फत् नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन गर्दै आएका छन्।
उपत्यकाका २१ पालिकामध्ये दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिका छन्। त्यसमध्ये १८ स्थानीय तहको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। उपत्यकामा फोहोर सङ्कलन गर्ने ४६ निजी कम्पनी छन्। निजी कम्पनीमा सफाइ मजदूर, चालक र अन्य प्रशासनिक गरी दुई हजार ६०० कर्मचारी कार्यरत छन्।
निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहोर सिसडोलमा विसर्जन गर्दै आएका छन्। उनीहरूले त्यसरी विसर्जन गरेको फोहोरबापत काठमाडौं महानगरपालिकालाई प्रतिटिपरको रु ३५० बुझाउने गरेको श्रेष्ठले जानकारी दिए।
उपत्यकामा स्थानीय तहले आफैं पनि फोहोर सङ्कलन गर्ने गरेका छन्। काठमाडौं महानगरपालिकाले दैनिक ३५० मेट्रिक टन फोहोर आफैं सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए। सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन्। ललितपुर महानगरपालिकाले दैनिक आठ टिपरमार्फत आफैं दैनिक ४० देखि ५० मेट्रिक टन फोहोर संकलन गर्ने गरेको छ।
बञ्चरेडाँडामा निर्माण सुरू
सहरी विकास मन्त्रालयले नुवाकोटको बञ्चरेडाँडामा करिब रु ३८ करोडको लागतमा दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण थालेको छ।
सरकारले उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको सो ल्याडफिल साइट सिसडोलभन्दा दुई किलोमिटर टाढा रहेको छ।
हाल काठमाडौं उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहोर निस्कन्छ। काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।
दुई वर्षका लागि भन्दै १३ वर्षसम्म
विसं २०६२ देखि कामपाले सिसडोलमा फोहोर विसर्जन गर्दै आएको छ। कामपापछि अरू स्थानीय तहले समेत सङ्कलित फोहोर सिसडोल नै लैजाने गरेका छन्।
दुई वर्षका लागि भनेर सुरू भएकामा अहिले १३ वर्ष बित्दा पनि सिसडोलमै फोहोर विसर्जन भइरहेको हो। फोहोरका कारण दुर्गन्ध फैलिएको र स्वास्थ्यमा असर पुगेको भन्दै स्थानीयवासीले पटक/पटक अवरोध गर्दै आएका छन्।