राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका काममा विभिन्न जिल्लामा खटेका प्राविधिकलाई कारबाही गरेको छ।
भूकम्प प्रभावित विभिन्न स्थानीय तहमा खटिएका प्राविधिकले गैरकानुनी काम गरेको भन्दै प्राधिकरणले १९ प्राविधिकलाई कारबाही गरेको हो।
भूकम्प पीडितबाट गैरकानुनी रूपमा रकम असुल गरेको, भूकम्प पीडितलाई अनावश्यक दु:ख दिएको र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर कीर्ते गरी हाजिर सिफारिस गर्ने प्राविधिकलाई कारबाही गरिएको हो।
१२ जना इञ्जिनियर र पाँच जना सवइञ्जिनियर र दुई जना असिष्टेण्ट सवइञ्जिनियर कारबाहीमा परेका हुन्। ती प्राविधिकको करार सम्झौता तोडिएको छ।
नुवाकोटमा कार्यरत आठ र काभ्रेपलाञ्चोकमा कार्यरत तीन, सिन्धुपाल्चोकमा कार्यरत दुई, दोलखामा कार्यरत दुई, धादिङमा कार्यरत दुई, भोजपुरमा कार्यरत एक र सोलुखुम्बुमा कार्यरत एक जना कारबाहीमा परेका छन्।
कारबाहीमा परेकाहरूको नाम खुलाइएको छैन।
उनीहरूले केन्द्रीय आयोजना कार्यान्वयन इकाइ तथा जिल्ला आयोजना कार्यान्वयन इकाइले दिएका निर्देशन पालना पनि नगरेको प्राधिकरणको भनाइ छ।