हुम्लामा गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता भएको जीप दुर्घटनाको खोजी गर्न गएको गोताखोर टोलीले बिहीबार पनि केही पत्ता लगाउन सकेको छैन।
गोताखोर टोलीसँगै रहेका सशस्त्र बल प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतले सेतोपाटीसँग भने, ‘आज पनि गोताखोरले १२ पटकभन्दा बढी खोज्यो। तर केही पत्ता लागेन।’
गोताखोरले घटनास्थलबाट ५ सय मिटर वरपर खोजी गरेको उनले बताए। उनले भने, ‘नदीको बीच भागमा ठूल्ठूला ढुंगा छ। धेरै टाढा जीपलाई बगाएर लगेको नहुनुपर्ने। त्यस्तै ढुंगामा अड्किएको हुनुपर्छ।’
खोजी कार्यको लागि आज ‘र्याफ्ट’ पनि प्रयोग गरिएको थियो। उनले भने,‘हामी र्याफ्टिङ गर्दै २ किलोमिटरसम्म नदीको किनार-किनार खोज्दै गयौं। तर केही भेटिएन।’
भोलि पनि बिहानैदेखि खोजी कार्य गर्ने गरी गोताखोर टोली घटनास्थलबाट फर्किएको छ।
बुधबार पनि गोताखोर टोलीले चारपटक खोजी गरेको थियो।
नदीमा पानीको बाहव बढी भएकाले खोजी कार्यमा कठिनाइ भएको निरीक्षक बस्नेतले बताए।
मंगलबार हुम्लाको खार्पुनाथ- ५ स्थित कैलेबालुबाट जीप कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता छन्।