विद्यार्थी कुटेको आरोपमा उदयपुरमा पत्रकार पक्राउ परेका छन्। प्रहरीले पत्रकार देवराज राईलाई आइतबार पक्राउ गरेको हो।
पत्रकार राईसहितका चार जनाले चौदण्डीगढी नगरपालिका–६ स्थित ज्योति बहुमुखी क्याम्पस बेल्टारमा विद्यार्थी कुटेको आरोप लागेको छ। बिएड प्रथम वर्षमा अध्ययनरत् विद्यार्थीमाथि कक्षा कोठामा नै कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको जानकारी दिएको हो।
क्याम्पसमा दिउँसो ४ः३० बजे शिक्षकले पढाइरहेको अवस्थामा कक्षा कोठामा नै पुगेर बिएड प्रथम वर्षका अजय राईलाई कुटपिट गरेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक गंगा पौडेलले बताए।
शिक्षक द्रोण पराजुलीले पढाइरहेको अवस्थामा एक्कासी पत्रकार कक्षा कोठामा पसेर विद्यार्थीमामाथि कुटपिट गरेको प्रहरी निरीक्षक पौडेलको भनाई छ।
प्रहरीले पक्राउ परेकालाई सार्वजनिक हित, शान्ति तथा खल्बल्याएको आरोपमा अनुसन्धान थालेको छ।
पत्रकार राई उदयपुर पत्रकार महासंघमा आवद्ध साधारण सदस्य हुन्। राईको टोलीमा उदयपुरबाटै प्रकाशन हुने उदयपुर सिम्रिक दैनिकका कार्यकारी सम्पदक चित्रकुमार कार्की, मिस प्रदेश–१ की बिजेता रमिला बस्नेत रहेकी छिन्। कार्की र बस्नेत पत्रकार महासंघमा आवद्ध छैनन्।
प्रहरीका अनुसार विद्यार्थी र पत्रकारबीच भएको झगडाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।