महानगरीय प्रहरी परिसर काठमाडौंले जेठ महिनामा राजधानीबाट ८२ जना पाकेटमारलाई पक्राउ गरेको छ।
समूह बनाएर सार्वजनिक यातायातका साधनमा यात्रुहरू लुट्ने उनीहरूलाई पक्राउ गरी विभिन्न मुद्दामा अनुसन्धान थालिएको परिसरले जनाएको छ।
बस तथा माइक्रोबसका यात्रुबाट गोजी तथा झोलामा रहेको नगद, मोबाइल, गरगहना चोरी गरिरहेकै अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ। ८२ मध्ये चार जना महिला छन्।
परिसरले केही समययता सार्वजनिक सवारीसाधनमा सादा पोशाकका प्रहरी खटाएको छ। तिनीहरूले यात्रुहरूको सुरक्षा अवस्थाबारे निगरानी गर्छन्। अभियानकै रुपमा जेठ १ गतेदेखि प्रहरीले यसलाई निरन्तरता दिएको थियो।
यातायात साधनमा चोरी, लुटपाट, महिला हिंसा तथा यौनजन्य क्रियाकलाप बढेपछि प्रहरी खटाउन थालिएको परिसर प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताए। ‘यौनजन्य क्रियाकलापको छानबिन तथा अनुसन्धान महानगरीय प्रहरी कार्यालय रानीपोखरीले हेरिरहेको छ,’ उनले भने।
ती व्यक्तिहरूको साथबाट ६ लाखभन्दा बढी रुपैयाँ बरामद भएको प्रहरीले जनायो। जसमा २१ थान मोबाइल र ल्यापटप २ थान पनि छन्।