दाङमा एक निर्माणाधिन सिमेन्ट उद्योगमा बिम भाँचिदा तीन मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
घाइते मध्य दुईजनाको अवस्था गम्भीर रहेको छ भने एकजना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
यसरी मृत्यु हुने तीनै जना भारतीय नागरिक भएको जानकारी दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले दिएका छन्।
मृत्यु हुनेमा भारतको झारखण्ड प्रदेशको राँची जिल्लाको पगलपुर निवासी ४५ वर्षीय मंगल केस्यव, २२ वर्षीय दयाल हरेन्द्र ४६ वर्षीय लाल साहेव रहेका छन् ।
तीन जनाको उपचारको क्रममा लमहीमा साढे ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी दुर्घटनामा घाइते हुनेमा २३ वर्षिय अजय हेरेन्द्र, ४६ वर्षिय नरेन्द्र साईवेन र २२ वर्षिय दिपेन गोडा छन् । घाइते मध्य हेरेन्द्र र साईवेनको अवस्था गम्भीर छ ।
उनीहरुलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवल रेफर गरिएको एसपी पाण्डेले बताए । घाइते गोडा भने लमहीको उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
दाङको लमही नगरपालिका वडा नम्बर ७ मा रहेको निर्माणाधिन सम्राट सिमेन्ट उद्योगमा सो दुर्घटना शनिवार विहान साढे एक बजेतिर भएको हो ।
नयाँ प्लान निर्माणको क्रममा ५औं तलाको विमको सेटिङको बार भत्किदा घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक अरुणकुमार सिंहले सेतोपाटीलाई बताए ।
‘निर्माणाधिन नयाँ सिमेन्ट उद्योग निर्माणगर्ने मजदुरहरु मध्य ६ जना दुर्घटनामा परेछन्,’ सिंहले भने ‘५औं तलामा काम गर्दा विम भाँचिन पुगेको रहेछ।’
उनले ५औं तलाबाट भूईंमा खस्नेहरुको मृत्यु भएको र माथि अड्किएकाहरु घाइते भएको जानकारी दिए ।
घटनावारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।