सरकारले आमनागरिकलाई सिंहदरबार प्रवेशमा कडाइ गरेको छ।
केही दिन यता सिंहदरबार जाने नागरिकलाई सुरक्षाकर्मीले तीन ठाउँमा कडा चेकजाँच गर्ने गरेका छन्।
सुरक्षा व्यवस्था कडा भएसँगै दैनिक प्रशासकीय कामका लागि सिंहदरबार जाने नागरिकलाई सास्ती भएको छ।
सिंहदरबार जान भित्रबाट पास मगाएकाले अस्थायी प्रवेश पास पाउने दक्षिण गेटमा पास पठाउनेको नाम र दर्जा टिपाइसकेपछिमात्र पास दिइन्छ।
सवारी साधनमा जानेले पनि सबै खानतलासी गरेपछिमात्रै सिंहदरबारभित्र छिर्न पाउँछन्।
गृह मन्त्रालयले सिंहदरबारभित्रका सबै निकायलाई अस्थायी प्रवेश पास बनाउन र आधिकारिक व्यक्तिले मात्रै सिंहदरबार प्रवेश गर्ने नागरिकका लागि प्रवेश पास पठाउन परिपत्र गरेको छ।
सिंहदरबार छिरेपछि जानु पर्ने मन्त्रालयको मुख्य गेट र जानु पर्ने शाखामा सुरक्षा जाँच भइसकेपछि मात्रै नागरिक सम्बन्धित व्यक्ति या शाखामा छिर्न पाउँछन्।
सिंहदरबार दक्षिण गेटमा तैनाथ सुरक्षाकर्मीहरुले ‘माथिको आदेश’ भन्दै कडा चेकजाँच गर्न थालेपछि सिंहदरबार दक्षिण गेटमा सवारी साधन जाममा पर्न थालेका छन्।
यसअघि सिंहदरबारभित्रबाट आएको पास देखाएपछि सजिलै प्रवेश पाइने भए पनि अहिले भने सुरक्षा व्यवस्था कडा भएको हो।
गृहमन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर सिंहदरबार प्रवेशलाई व्यवस्थित बनाउन खोजिएको बताए।
‘हामीले नागरिकलाई दु:ख दिन नभइ सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर यस्तो व्यवस्था गरेका हौं।अब यसलाई अझै थप व्यवस्थित बनाउँदै छौं,’ अधिकारीले भने।