मकवानपुरको राक्सिराङ गाउँपालिकामा डोजर पहिरोमा पुरिँदा दुई जनाको मृत्यु भएको छ।
गाउँपालिकाको वडा नम्बर ८ ठूलो तोड्के भन्ने ठाउँमा पहिरो खस्दा सडक विस्तार गरिराखेको डोजर पुरिएको हो। माथिबाट खसेको पहिरोमा पुरिएर सन्दिप श्रेष्ठ र रोशन बुढाथोकीको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सेतोपाटीलाई जानकारी दिए।
डोजरका चालकलाई स्थानीय बासिन्दाले पहिरो पन्छाएर उद्धार गरेका छन्। मृत्यु हुनेहरु भने चालकका सहगोगी रहेको उनले बताए। घटनास्थल दुर्गम ठाउँमा रहेकोले प्रहरी पुग्न समय लाग्ने अध्यक्ष मल्लको भनाइ छ।
‘मनहरीबाट प्रहरीहरु घटनास्थलतर्फ जाँदै छन्, पाँच–छ घण्टा लाग्ला,’ उनले भने, ‘प्रदेश सरकारको भूमि तथा कृषि मन्त्रालयबाट बजेट पठाएको थियो। त्यही बजेटले त्यहाँ सडक बनाउन डोजर लगाएको रहेछ। त्यही पहिरोमा परी दुई जनाको मृत्यु भएको हो।’