महिला माथि एसिड प्रहार गर्ने एकजना व्यक्तिलाई अदालतले चार बर्ष कैदको फैसला सुनाएको छ । अदालतले ४ वर्ष कैदसहित पीडकलाई एक लाख जरिवाना र पीडितलाई एक लाख ४५ हजार क्षतिपूर्ती भराउन आदेश पनि दिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी २६ बर्षीया रीता चौधरी माथि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ निवासी ३७ वर्षीय बद्रिविशाल मिश्रले एसिड प्रहार गरेका थिए ।
चार बर्ष अगाडि २०७२ फागुन २७ गते साँझ पसलमै बसिरहेको समयमा चौधरीमाथि एसिड प्रहार भएको थियो । एसिड प्रहारबाट चौधरीको छाति र घाँटीको भाग जलेको थियो ।
उक्त मुद्दामा सोमवार फैसला गर्दै दाङ देउखुरी जिल्ला अदालतले हालसालै त्यस्तो फैसला गरेको हो ।
अदालतका न्यायाधीश हेमन्त रावलको ईजलासले मिश्रलाई दोषी ठहर गर्दै चार वर्ष कैद, एकलाख जरिवाना र पीडितलाई एक लाख ४५ हजार रुपैंया क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने फैसला सुनाएको हो ।
अदालतले जरिवाना स्वरूपको एक लाख रुपैंया पीडितलाई नै उपलब्ध गराउन आदेश दिएको श्रेस्तेदार धनिप्रसाद चापाँईले बताएका छन् ।
त्यसैगरी घटनाका अन्य आरोपितहरु घोराही १७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई भने सफाई दिएको छ ।