वीरगञ्जको रेल्वे माध्यमिक विद्यालयमा सोमबारदेखि सिसिटिभी क्यामेराको निगरानीमा पठनपाठन सुरू भएको छ।
वीरगञ्ज महानगरपालिकाभित्र रहेका एक सय वटै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी र सिसिटिभी क्यामेरा जडान गरिने योजना छ।
वीरगञ्ज घण्टाघरस्थित रेल्वे माविमा विद्युतीय हाजिरी र सिसिटिभी क्यामेरा जडान उद्घाटन गर्दै नगर प्रमखु विजयकुमार सरावगीले त्यस्तो घोषणा गरेका हुन्।
महानगरको शिक्षालाई गुणस्तरीय बनाउन सबै समुदायिक विद्यालयहरूमा यस्तो प्राविधि लागू गराइने उनले बताए।
इ-हाजिरीले शिक्षकलाई थप जिम्मेवार बनाउने र सिसिटिभीले विद्यार्थी तथा शिक्षकको क्रियाकलापलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको उनले बताए।
सामुदायिक विद्यालयमा स्थानीय सरकारको निगरानी बढाउनका लागि तीन वर्षभित्र वीरगञ्जका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी र सिसिटिभी जडान भइसक्ने मेयर सरावगीले बताए। छिट्टै १८ वटा माविमा जडान हुने उनले बताए।
सामुदायिक विद्यालयमा जडान गरिएका सिसिटिभी क्यामेराको निगरानीका लागि महानगरपालिकामा निगरानी कक्ष निर्माण गरिएको छ।
विद्युतीय हाजिरी र सिसिटिभी क्यामेराको जडानले शिक्षकलाई जिम्मेवार, सजग र सचेत बनाउने उनले बताए।
प्रविधिमैत्री सँगसँगै सामुदायिक विद्यालयबाट स्तरीय शिक्षा आवश्यक रहेको उनले बताए।
नगर प्रमुख सरावगीले पार्टी जिल्ला अध्यक्षहरू आफ्नो राजनीतिक व्यवसाय चलाउन विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बन्नु दूभाग्यपूर्ण भएको बताउँदै विद्यालयलाई राजनीतिकबाट मुक्त गराउने आफ्नो अभियान जारी रहेको बताए।
वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले आधुनिक प्रविधिले कुनै पनि ठाउँमा बसेर विद्यालय हेर्न सकिने अवस्था बनाएको बताए। विद्युतीय हाजिरी र सिसिटीभी क्यामेरा जडान गर्न एउटा विद्यालयमा तीन लाख जति मात्रै खर्च भएको उनले जानकारी दिए।