पुल शिलान्यास गर्न गएका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी खोलामा फसेको छ।
सोमबार अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलामा पुल शिलान्यास गर्न पुगेका मन्त्रीकै गाडी सोही खोलामा फसेको हो।
प्रहरीका अनुसार मन्त्री चढेको बा२झ ४०२९ नम्बरको गाडी खोलाको बीचमा पुगेपछि तर्न नसकेर हो।
गाडी आधासरो डुबेको थियो। गाडी डुबेपछि मन्त्री महासेठ ओर्लिएर अर्को गाडीमा सदरमुकामसम्म आएका थिए।
प्रहरी नायब उपरीक्षक नवीन भण्डारीका अनुसार मन्त्री महासेठ शिलान्यास गर्न जाँदा अर्कै बाटोबाट गएका थिए। फर्किने क्रममा पुल शिलान्यास भएकै खोलामा गाडी फसेको थियो।
तर, भण्डारीले घटना सामान्य भएको भन्दै यसबारे विस्तृत जानकारी दिएनन्। मन्त्री महासेठको अघिपछि अन्य थुप्रै गाडीको लस्कर र सुरक्षाकर्मी पनि थिए। मन्त्रीको गाडी खोलाबाट निकालिसकिएको प्रहरीले जनायो।
मन्त्री महासेठले शिलान्यास गरेर फर्किंदा सामान्य घटना भएको र गाडीमा कुनै पनि क्षति नभएको बताए। ‘खोलामा गाडी सामान्य रुपमा फसेको हो, केही पनि चोटपटक लागेन, गाडीमा क्षति पनि भएन,’ महासेठले सेतोपाटीसँग भने। गाडी डुबेपछि अर्कै गाडीले सदरमुकामसम्म ल्याएकाले कसरी फसेको गाडी निकालियो आफूलाई जानकारी नभएकाे उनले बताए।
पुल शिलान्यास भएको ठाउँ स्याङ्जा सदरमुकामबाट करिब २२ किलोमिटर टाढा पर्छ।