संयुक्त विद्यार्थी संघर्ष समितिले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।
संविधानको मर्म र भावनाविपरीत खुलाइएको सो विज्ञापन सच्याउन दबाब दिँदै समितिले सोमबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरूद्ध प्रदर्शन गरेको हो।
समावेशी र समानुपातिक सिद्धान्तविपरीत लोक सेवा आयोगले विज्ञापन खुलाएकाले त्यसविरूद्ध सडक सघर्ष गर्नु परेको नेपाल विद्यार्थी संघका नेता कपिलेश्वर यादवले जानकारी दिए।
प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले संविधानको मर्मविपरीत लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाएको भन्दै सरकारविरूद्ध चर्का नाराबाजी गरेका थिए। उनीहरूले सो विज्ञापन तत्काल रद्द नगरे सरकारविरूद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्।