कैलाली टीकापुरकी २५ वर्षीया रिता चौधरी एक महिनादेखि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरीस्थित प्रादेशिक आयुर्वेदिक अस्पताल विजौरीमा उपचाररत छिन्।
सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका निवासी ४८ वर्षीय कृष्णबहादुर डाँगी पनि विजौरीमै उपचारको लागि भर्ना छन्। उनीहरू दुवै जना पायल्सका बिरामी हुन्।
अहिले पायल्स, फिसर, फिस्टुला जस्ता रोगबाट पीडित व्यक्ति विभिन्न जिल्लाबाट आयुर्वेदिक अस्पतालमा उपचारका लागि आउने गरेका छन्। चौधरीले यसअघि बर्दिया, कैलालीलगायतका जिल्लामा उपचार गरे पनि रोग निको भएन। बरु झनै बल्झियो।
सल्यानका डाँगी पनि विगत १२ वर्षदेखि पायल्स रोगबाट पीडित रहेछन्। यसअघि उपचारको लागि डाँगी पनि देशका प्रमुख सहरहरूमा पुगे। नेपागञ्ज, बुटवल, पोखरा, काठमाडौं तर जति नै खर्च गरे पनि रोगबाट छुटकारा पाएनन्।
यो बीचमा डाँगीले आयुर्वेद अस्पतालमा पायल्सको लागि राम्रो डाक्टर आएको थाहा पाए।
लगत्तै डाँगी चैत १५ गते विजौरी अस्पताल पुगे। पुग्दा बिरामीले अस्पताल भरिभराउ थियो। त्यो अवधिमा उपचार र अपरेसन गर्नेहरूको नाम लिष्टले एक महिनाको समय प्याक थियो। डाक्टरले डाँगीलाई वैशाख १६ गते बोलाए। महिना दिन कुरेर डाँगी भनेकै दिए अस्पताल पुगे। अनि भर्ना भए। भर्ना भएको दोस्रो दिन डाँगीको अपरेसन भयो। अहिले डाँगी अस्पतालमा उपचाररत छन्।
चौधरी र डाँगी जस्तै अन्य थुप्रै बिरामी अहिले विजौरी अस्पतालमा उपचार गराइरहेका छन्।
फिस्टुलाका बिरामी तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का यमप्रसाद भुसालले विगत ४ महिनादेखि विजौरीमा उपचार गराउँदै आएको बताए।
रोग देखिएपछि भुसाल उपचारका लागि सुरूमा काठमाडौं गए तर डाक्टरले फिस्टुलाको उपचार दाङमै राम्रो भएको भन्दै उनलाई दाङमै उपचार गर्न सुझाए।
यस्तै, तुलसीपुर ७ मोतिपुरकै ५८ वर्षीया धनकुमारी ढकाल पनि विगत २६ वर्षदेखि पायल्स रोगबाट पीडित छन्। हाल उनी पनि विजौरीमै उपचाररत छिन्।
उनले रोग जति लुकायो त्यति बढ्ने भन्दै रोग लागे उपचार गर्न सुझाइन्।
विजौरीमा पायल्सको मात्रै हैन अन्य थुप्रै रोगको पनि आयुर्वेदिक पद्धतिबाट उपचार हुँदै आएको छ। ढाडको समस्याबाट ग्रसित तुलसीपुर १५ फूलबारी निवासी ५५ वर्षीय रमेश नेपाली पनि आयुर्वेद अस्पताल विजौरीमा केही समय यता उपचार गराइरहेका छन्। ६/७ वर्षदेखि सिधा गरी हिँड्न नसक्ने नेपाली आज उपचारपछि सिधा उभिन र हिँड्न सक्ने भएको बताउँछन्।
जसले अस्पतालमा सुधार ल्याए ...
प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीमा निमित्त निर्देशकको रूपमा डा. रामकामेश्वर ठाकुर झन्डै एक डेढ वर्ष अगाडि आउँदा यो अस्पतालमा दैनिक मुश्किलले एक / दुइ जनासम्म बिरामी आउँथे। प्राय: सुनसान। बिरामी कम चिकित्सक धेरै। तर अहिले अस्पतालको स्वरूप फेरिएको छ।
अस्पताल खचाखच बिरामीले भरिएको हुन्छ। आयुर्वेदिक अस्पताल फेरि बौँरिदै गरेको देखेर सर्वसाधारण खुसी छन्।
विक्रम संवत २०४८ सालमा स्थापना भएको विजौरी आयर्वेद अस्पतालमा स्थापनाको केही वर्षसम्म बिरामीको अत्यधिक चाप हुन्थ्यो। बिरामी हुँदा होस् वा सवारी दुर्घटना हुँदा जिल्लाका अरु अस्पतालमा नलगी यही ल्याइन्थ्यो। पछि यो अस्पताल विस्तारै राजनीतिक दलहरूका कार्यकर्ताको भर्ती केन्द्र जस्तै बन्यो। उपचार कम राजनीति धेरै हुन थाल्यो। जनतामा अस्पतालप्रतिको विश्वास घट्दै गयो।
जब डा. रामकामेश्वर ठाकुर निमित्त निर्देशकको रूपमा यहाँ आए। उनले अस्पतालको स्वरूपमै परिवर्तन ल्याइदिए। डा. ठाकुर लगायतका मेहेनतले बिरामी आउनै छोडेको अस्पतालमा फेरि बिरामी आउन थाले।
अस्पतालको अवस्थामा सुधार आएपछि अहिले बिरामीले उपचारका लागि एक/ डेढ महिनासम्म पालो कुर्नेपर्ने अवस्था छ।
ड्युटी हैन,बिरामीको सेवा गर्ने हो : डा. ठाकुर
शुक्रवार संवादाता डेढ बजे नै अस्पताल पुग्दा डा. ठाकुर र उनको टिम बिरामीको उपचारमा तल्लिन थियो। अपरेसनका लागि थप २ जना बिरामी लाइनमा थिए। घाउ ड्रेसिङ गराउनेहरू ६ जना बढी लाइनमा बसेका। उनी झन्डै साढे ५ बजेपछि मात्रै अपरेसन कक्षबाट निस्किए। ‘हामी जस्ताले ड्युटी गर्ने होइन, समय हेर्ने होइन, यो बार, त्यो बार भन्ने होइन। बिरामीको सेवा गर्ने हो,’ डा. ठाकुरले भने ।
सर्वसुलभ सेवा, बेड चार्ज दैनिक १०० रुपैयाँ
यहाँ दुई हजारमै पायल्सको अपरेसन हुन्छ। एलोपेथिक विधिभन्दा आयुर्वेदिक पद्धतिबाट उपचार गर्दा स्वास्थ्य पनि जोखिममा पर्ने संभावना कम रहने चिकित्सक बताउँछन्।
अस्पतलामा दैनिक एक सय रुपैयाँमात्र बेड चार्ज छ। यहाँ ओपिडीसम्बन्धी सेवाहरू छन्। जनरल सेवा पनि दिने गरिएको छ। स्त्रीसम्बन्धी रोग, पायल्स, फिस्टुला, पटे सम्बन्धी, स्वासप्रश्वास सम्बन्धीका रोगका बिरामीको उपचार पनि हुने गरेको छ। पछिल्लो समय यो अस्पतालमा छिमेकी देश भारत, नेपालका बारा, पर्शा, डोल्पा, सुर्खेत, बुटवल, नेपालगञ्ज,रोल्पा, प्युठानलगायतका ठाउँबाट बढी बिरामी आउने गरेको अस्पताल प्रशासनले जानकारी दियो।
ओपिडीमा सेवा लिन आउने बिरामीको संख्या धेरै छ। यहाँ प्याथोलोजीको उपचार पनि हुने गरेको छ। हप्ता दिनभित्रमै एक्सरे सेवा पनि सुरू गरिँदै छ।
अल्ट्रा साउन्ड,पायल्स, फिस्टुलाको क्षार सुत्र विधिबाट उपचार हुँदै आएको छ। जहाँ अग्निकर्मको र पञ्चकर्म विधिबाट पनि उपचार हुने गरेको छ। तर भौतिक पूर्वाधार र दरबन्दी अनुसारको चिकित्सकको अभावले गर्दा पूर्णरूपमा पंचकर्मको उपचार हुन नसकेको अस्पताल प्रशासनले बताएको छ। क्षारसूत्रको पनि अपरेसन थिएटर सञ्चालन गरेर फूलफेजमा सञ्चालन गर्ने, इनडोरमा ५० बेडको भए ४० बेड जनरल सेवाको लागि राख्ने, भिआइपी र भिभिआइपी यूनिट राखेर आयुर्वेदको उपचार सेवा दिने अस्पतालले तयारी गरेको छ। अस्पतालमा योगाको कक्षा पनि चलिरहेको छ ।
दरबन्दी अनुसार चिकित्सकको अभाव
अस्पतालमा ७ जना चिकित्सकको दरबन्दी छ। ५ जना विशेषज्ञ र २ जना आयुर्वेद चिकित्सको दरबन्दी। तर हाल निमित्त निर्देशकको रूपमा डा. रामकामेश्वर ठाकुर मात्रै छन्। त्यो भन्दा तल्लो तहका पारामेटिक स्टाप ९ जनाको ठाउँमा जम्मा ३ जना मात्रै छन्। त्यसले गर्दा रातदिन खटेर काम गर्नुपरेको डा. ठाकुरले बताए। चालू आर्थिक वर्षमा यो अस्पताललाई एक करोड बजेट परेको छ। त्यसमध्ये ५० लाख रुपैयाँ अफिस व्यवस्थापनमै खर्च हुन्छ भने बाँकी रकमले ल्याब, इन्डोरको बेड, ओपिडी सेवा सुरू गरिएको अस्पताल प्रशासनले बताएको छ।
पायल्स, फिसर र फिस्टुला कस्तो रोग हो ?
पछिल्लो समय धेरै मानिसहरू पायल्स,फिसर र फिस्टुला जस्ता रोगबाट पीडित छन्। यो रोग मलद्वारमा हुने गर्छ।
डा. ठाकुरका अनुसार घरको खाना भन्दा धेरै बाहिरका खानेकुरा खानु। सागसब्जी तथा रेशायुक्त खानेकुरा कम खानु। पानी कम खानु । तारेको भुटेको, चिल्लो पिरो खानेकुरा धेरै खानु अर्थात् खानेकुराको मेल नभएपछि शरीरमा कब्जियत हुन्छ। कब्जियत हुँदा दिसा सुख्खा हुन्छ। बल गरेर शौच गर्नुपर्ने हुँदा मलद्वारका रक्तनलीहरू सुनिएर बाहिर आउँछन्। जसलाई पायल्स भन्ने गरिन्छ।
त्यस्तै दिसा गोटा पर्दा बलजफती शौच गर्न खोज्दा मलद्वार च्यातिन्छ र त्यसलाई फिसर भन्ने गरिन्छ। त्यस्तै मलद्वार च्यातिएर घाउ बनेको ठाउँमा पछि छालाको डल्लो थुप्रिनुलाई फिस्टुला भन्ने गरिएको डा. ठाकुरले बताए। त्यसमध्ये सबभन्दा जोखिमयुक्त फिस्टुला हुने डा. ठाकुरले जानकारी दिए।
खाना र ट्वाइलेट व्यवस्थित नभएमा मलद्वार अन्तरगतका रोगहरू लाग्ने डा. ठाकुरले बताए। यस्ता रोगहरूबाट बच्न माछा मासु खान नहुने, खार्ने परे वाइल गरेको खाने, टिम्मुर, अदुवा जस्ता वस्तु नखाने, काँक्रा र सागपात बढी खाने, मध्यपान तथा धुम्रपान नगर्ने, शारीरिक व्यायम गर्नुपर्ने डा. ठाकुरले सुझाए।
रोग लागेको आशंका हुनसाथ जहाँ पायो त्यही उपचार नगरी सम्बन्धित विशेषज्ञ डाक्टरसँग उपचार गराएमा रोग निको हुने उनले जानकारी दिए।