जंगलमा बाटो ढुकेर एक महिलाबाट रकम लुटपाट गरेको अभियोगमा प्यूठानमा चार जना युवा पक्राउ परेका छन्।
जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. २ निवासी २२ बर्षीय जीवन हमाल, २५ बर्षीय निरधोज सेन ठकुरी, १७ बर्षीय निरज बिक र १७ बर्षकै कुसल सेनलाई रकम लुटपाट गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए ।
बुधवार साँझ ५ बजेतिर स्वर्गद्धारी नगरपालिका खाल गाउँबाट सुर्योदय लघुवित्तमा संकलन भएको बचत रकम साथमा लिएर भिंग्री तर्फ जाँदै गरेकी कर्मचारी सुशिला केसीलाई जंगलमा ढुकेर बसेका युवाहरुको समूहले लुटपाट गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी बुढाथोकीले सेतोपाटीलाई जानकारी दिए।
‘बाटो ढुकेर बसेका उनीहरुले जंगलमा हिँडिरहेकी केसीलाई एक्कासी टाउकोबाट अनुहार छोपिने गरि ब्ल्याँकेट ओढाएर ३ लाख १२ हजार ५ सय ६० रुपैयाँ लुटेको खुल्न आएको छ,’ डिएसपी बुढाथोकीले भने । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको उनले बताए।
लघुबित्त संस्थाकी कर्मचारी सुशिला केसीबाट रकम लुटेर फरार युवाहरुलाई बिहीवार दिउँसो प्रहरीले लुटपाट भएको रकमसहित पक्राउ गरेको थियो। पक्राउ पर्ने मध्ये जीवन हमाल संचारकर्मी हुन्। एक हप्ता आगडि मात्रै उनलाई रेडियो स्वर्गद्धारीले रेडियोबाट निस्कासित गरेको थियो। त्यस्तै सेन ठकुरी एकजना कुखुरा व्यवसायी हुन भने थप दुईजना विद्यार्थी रहेको प्रहरीले बताएको छ ।