५ नं. प्रदेशका प्रहरी प्रमुख (डिआईजी) पिताम्बर अधिकारीले प्रहरीमा दरवन्दी भन्दा पनि प्रविधि बढाउन आवश्यक रहेको बताएका छन्।
शुक्रवार दाङको तुलसीपुरस्थित मलवारमा नव निर्मित वडा नं. १५ को प्रहरी भवनको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दैै अधिकारीले समयानुकुल प्रहरीलाई प्रविधिले स्मार्ट बनाउन सके मात्रै सेवा चुस्त हुने बताए।
‘थोरै जनशक्तिले धेरै काम गर्न सक्ने हुन आवश्यक छ,’ डिआईजी अधिकारीले ‘पहिले जस्तै लाठी समाएर चोकमा उभिएर मात्रै अबको चुनौति झेल्न मुस्किल पर्छ।’ अधिकारीले जुनसुकै स्थानमा बसे पनि प्रविधिको प्रयोगले छिटो छरितो सेवा पुग्ने उनले बताए।
दाङ लगायत ५ नं. प्रदेशका सबै प्रमुख शहरहरुमा ३ करोडको लागतमा सिसी क्यामेरा जडानको काम सुरु भएको र अबको एक महिनाभित्रै सिसी क्यामेरा जडान कार्य पुरा हुने उनले जानकारी दिए। सिसी क्यामेरा जडान पछि अपराध अनुसन्धान र न्याय सम्पादनमा प्रहरीलाई थप सजिलो हुने उनको दावी छ। सदैव समाजको शान्ति सुरक्षा, समाजको हितमा लाग्न उनले मातहतलाई निर्देशन दिए।
कार्यक्रममा तुलसीपुर वडा नं. १५ का वडा अध्यक्ष लक्ष्मण चौधरीले शान्ति र विकाश एक अर्काको परिपुरुक भएको बताउँदै हरेक सचेत नागरिकले समाजमा हुने अपराधिक गतिविधिका बारेमा प्रहरीलाई सूचना दिएर सघाउनु पर्ने बताए।
नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले प्रहरीको लागि नयाँ भवन निर्माण गर्न २ बिघा बढी जग्गा दान गर्ने सर्वसाधारणलाई धन्यवाद दिँदै प्रहरीप्रतिको पुरानो धारणा परिवर्तन हुन जरुरी रहेको बताए। उनले नागरिक र प्रहरी हातेमालो गरेर अगाडि बढेमा मात्रै समाजमा अपराधिक घटना न्यूनिकरण गर्न सजिलो हुने तर्क गरे।
प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले दाङको सीमा नाकामा रहेका ६ वटा अस्थायी प्रहरी चौकी मध्य अझैसम्म ५ वटा नाकामा प्रहरी भाडामा बसेको, आफ्नै जग्गा जमिन नभएको, फुसको टहरामा बसेर कार्य संचालन गर्दै आएको भन्दै स्तरोन्नतिका लागि आग्रह गरे।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले ईप्रका मलवारले आसपासका ३८ गाउँका १४ हजार जनसंख्याको सुरक्षा दिदै आएको बताए। अझैंपनि ईप्रका मलवारमा कम्पाउन्डको तारवार, मुलगेट निर्माण, खाली जग्गामा बोट विरुवा लगाउने, गाडि पार्किङ स्थल निर्माण लगायका कामहरु गर्न बाँकी रहेको बताए।
२ करोड १० लाखमा नयाँ भवन
ईप्रका मलवारमा शुक्रवार उद्घाटन गरिएको सुविधा सम्पन्न आधुनिक भवन दुई करोड दश लाख ७३ हजारको लागतमा निर्माण भएको हो। प्रहरी निरीक्षक तथा ईञ्जिनियर चिरिञ्जवी महतोले रोयल कन्ष्ट्रक्सन कम्पनी धनगढी कैलाली र ईप्रका तुलसीपुरका बीच २०७५ साल जेठ ४ गते निर्माण कार्य सुरु भएको जानकारी दिए।
गत चैत ५ गते निर्माण कार्य सम्पन्न भएको साढे २ तल्ले पक्की भवनमा कुल १५वटा कोठाहरु छन्। त्यसमा शौचालय ३ वटा, स्नानगृह ३ वटा, ३ कोठे युक्त एक तले भान्सा घर पनि निर्माण गरिएको छ ।
त्यस्तै महिला र पुरुष थुनुवाको लागि छुट्टाछुट्टै कोठा छन्। जसमा अट्याच बाथरुमको पनि व्यवस्था छ । झ्यालहरुमा लामखुट्टे प्रवेश गर्न नपाउन् भनेर तारजाली पनि लगाइएको छ।
२०३९ सालमा स्थापना भएको ईप्रका मलवारको नाममा १७ कठ्ठा ३ धुर जग्गा छ। यो जग्गा स्थानीय बासीले प्रहरीलाई दान गरेका हुन्। मलवारमा २३ जनाको दरवन्दी रहेता पनि हाल प्रहरी नायव निरीक्षकको कमाण्डमा जम्मा ८ जना मात्रै कार्यरत छन्।