विद्यार्थीलाई ‘अनुशासन सिकाउने’ निहुँमा पाँच जना छात्राको हात भाँचिदिएकी रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा चलाएको छ।
सोमबार विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई ईलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मेघनाथ चौलागाईंको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको थियो।
शिक्षिका पुनले विद्यार्थीलाई कुटपिट गरी हात नै भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख (डिएसपी) दीपक खड्काले शिक्षिका पुनलाई पक्राउ गर्न निर्देशन दिएका थिए।
‘हिजो पक्राउ गरेर ईप्रका होलेरीमा राखिएकी शिक्षिका पुनलाई आज जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइँदैछ। आजै जिल्ला प्रशासनमार्फत् अनुसन्धानका लागि म्याद थप हुन्छ होला,’ डिएसपी खड्काले भने।
ईप्रका होलेरीका प्रमुख प्रहरी निरीक्षक मेघनाथ चौलागाईंले विद्यार्थी कुटपिट गर्ने शिक्षिकालाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पठाइएको सेतोपाटीलाई बताए।
‘पक्राउ परेकी शिक्षिकालाई बिहानको पहिलो गाडीमार्फत् पठाइएको छ। झन्डै ४ घन्टाको यात्रा पछि मात्रै यहाँ वाट जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगिन्छ,’ चौलागाईंले भने।
अभिभावकको जाहेरीको आधारमा शिक्षिका पुनलाई ‘अभ्रद व्यवहार’ सम्बन्धी मुद्दा चलाइएको उनले जानकारी दिए।
अनुशासन कायम राख्न आफूले विद्यार्थीलाई कुटेको शिक्षिका पुनको दाबी छ।
शिक्षिका पुनमाथि १४ विद्यार्थीलाई कुटपिट गरेको आरोप लागेको छ। त्यसमध्ये पाँच जनाको हात भाँचिएको छ।
यी पनि :
‘अनुशासन सिकाउन’ शिक्षिकाले पिट्दा भाँचियो पाँच बालिकाको हात
कुटेर पाँच विद्यार्थीको हात भाँच्ने शिक्षिका प्रहरी नियन्त्रणमा