सल्यानको कपुरकोट गाउँपालिका वडा नं. २ गर्पा निवासी ७८ वर्षीया जयमती खत्री आइतबार औधी खुसी थिइन्। भनिन् ‘बाबु, आज मैले फेरि संसार हेर्न पाएँ। म धन्य रहेछु।’ खत्री यसरी खुसी हुनुको कारण आइतबार उनको अप्रेशसन पछि बर्षौंदेखि गुमेको आँखाको दृष्टि फेरि फिर्ता पाउनु हो।
‘अब म फेरि नातिनतिनालाई ताते ताते हिँडाउन सक्ने भएँ। बाख्रा र गाई बस्तुलाई घाँस हाल्न सक्ने भए,’ खत्रीले भनिन् ‘मेरो उपचार गरेर गुमेको ज्योति फर्काइदिने डाक्टर सावलाई मुरी मुरी धन्यवाद।’ उनले फेरि जीवनमा आइतबार नयाँ जन्म पाए जस्तै अनुभूति भएको तर्क गरिन्। ‘अब फेरि कहिलै देख्न सक्दिनँ होला जस्तो लाग्थ्यो। तर अप्रेशनपछि फेरि आँखा देख्न सक्ने भएँ।’ उपचार हुँदैन कि भनेर कसैलाई पनि लापरबाही नगर्न उनी सुझाव दिन्छिन्।
जिल्लाको गर्पा निवासी ७४ वर्षीय मनिलाल बिक पनि नयाँ ज्योति पाउँदा दंग थिए। ‘हामीलाई यस्तो ज्ञान नै थिएन। बुढेसकालमा हुने समस्या नै भन्ठानेका थियौँ। पटक्कै नदेख्ने आँखा पनि अप्रेशनपछि देख्न सकिँदो रहेछ, दंग छु’
आफूलाई यस्तो उपचारको बारेमा यसअघि थाहा नभएको उनले बताए। ‘अस्पतालसम्म आउन पैंसा पनि थिएन र हामीलाई उपचार गरेपछि सञ्चो हुन्छ भन्ने कसैले जानकारी पनि दिएन,’ विकले भने ।
सल्यानकै मुलपानी निवासी ७० वर्षीया चन्द्रकुमारी सेनको अनुहारमा पनि मोतियाविन्दु्को उपचार पछि नयाँ दृष्टि पाउँदाको खुसीको सीमा थिएन। ‘हिजोसम्म मेरो संसार नै अन्धकार थियो, तर आज मैले सबै चिजबस्तु देख्न सक्ने भएकी छु’ सेनले त्यति भन्दै गर्दा उनको आँखामा खुसीको आँशु छल्किएको थियो।
सेनका अनुसार उनीहरु जस्ता ८५ जनालाई सल्यानको कपुरकोट गाउँपालिकाले गाडीको समेत ब्यवस्था गरेर आँखाको उपचारको लागि दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा ल्याएको थियो। उनले उपचार पछि नयाँ दृष्टि दिने डाक्टरलाई भगवानको संज्ञा दिँदै धन्यवाद दिइन्।
रक्षाचौरमा एकै दिन ८५ जनाको आँखा ‘अप्रेशन’
नेपाल नेत्र ज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले एकै दिन ८५ जनाको मोतियाविन्दुको सल्लेक्रिया गरेको छ। अस्पतालले दाङ, सल्यान लगायतका विभिन्न जिल्लाका स्थानीय तहसँग सहकार्य गरेर सयौँलाई नयाँ दृष्टि प्रदान गर्ने काम गर्दै आएको अस्पताल विकास समितिका सचिव सुरेन्द्रबहादुर खड्काले जानकारी दिए।
आइतबार रक्षाचौरस्थित आँखा अस्पतालमा मोतियाविन्दु भएका विरामीको शल्यक्रिया पछि आयोजित चश्मा र औषधि वितरण कार्यक्रममा खड्काले कपुरकोट गाउँपालिका सँगको सहकार्यमा शिविर संचालन गरिएको बताए। उक्त शिविरमा फेला परेका ७५ जना मोतीयाविन्दुका रोगीहरुको तुलसीपुरस्थित रक्षाचौर अस्पतालमा ल्याएर सल्यक्रिया गरिएको हो।
राप्ती आँखा अस्पतालका डा. सुरेश रसायलीले रातको १० बजेसम्म शल्यक्रिया गरिएको जानकारी दिए। ‘५६ वेड सुविधाको राप्ती आँखा अस्पतालमा एकै पटक ७५ जना बढीको शल्यक्रिया गर्नुपर्ने भएपछि शुरुमा बिरामी राख्न केही समस्या हुन्छ कि, भन्ने लागेको थियो।
तर, हामीले आवश्यक व्यवस्था मिलाएर सबैलाई राख्न सक्यौँ र राति १० बजेसम्म सबैको शल्यक्रिया गर्न संभव भयो,’ डा. रसायलीले भने। उनका अनुसार कपुरकोटको शिविरमा ६ सय १२ जनाको आँखा जाँच गरिएको थियो। त्यसमध्ये ४० वर्ष माथिका १ सय २५ जनालाई गाउँपालिकाको आर्थिक सहयोगमा निःशुल्क चश्मा वितरण गरिएको छ ।
कपुरकोट गाउँपालिकाकी उपाध्यक्ष तिला बुढा मगरले अबदेखि गाउँपालिकाले हरेक वडामा आँखा जाँच शिविर सञ्चालन गर्ने र अस्पतालसँग सहकार्य गर्ने जानकारी दिइन्।
कार्यक्रममा नेत्र ज्योति संघका केन्द्रीय सदस्य तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले सबैमा नयाँ दृष्टि प्रदान गर्नको लागि हरेक स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रममा स्वास्थ्यका कुरा समावेश गर्न जरुरी रहेको तर्क गरे।
उनले आर्थिक अभावका कारण कोही पनि सेवा पाउनबाट वञ्चित हुन नपरोस् भनेर विभिन्न संघसंस्थासंगको सहकार्यमा ठाउँ ठाउँमा निःशुल्क शिविर सञ्चालन गर्दै आएको जानकारी दिए। नेत्र ज्योति संघ अन्तर्गत नेपालमा १८ वटा आँखा अस्पताल र ८६ वटा आँखा उपचार केन्द्रहरुले सेवा प्रदान गर्दै आइहरेका छन्।