काठमाडौंको कागेश्वरी-मनहरा नगरपालिका-१, गागलफेदीमा केही दिनयता एउटा चितुवा देखिन्थ्यो। नजिकैको ईश्वरी सामूदायिक वनबाट आएको चितुवाले केही गर्ला कि भनेर स्थानीयलाई डर थियो तर मंगलबार बिहान झिसमिसेमै उनीहरूले चितुवा बिजुलीको ट्रान्सफर्मरमा अल्झेको देखे।
‘कहिले खेतमा सुत्ने कहिले जंगल छेउमा भेटिने चितुवालाई मैले बिहान छ बजेतिर ट्रान्सफर्मरमा अल्झेको देखें,’ स्थानीय रवीन्द्र खड्काले भने,‘गएर हेर्दा त मरिसकेको रैछ।’
त्यसपछि स्थानीयले घटनाबारे जिल्ला वन कार्यालयमा खबर गरे।
गोकर्ण सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत अरूण गुप्ताको टोली घटनास्थल पुग्यो।
‘ट्रान्सफर्मर छेऊको चराको गुँडमा जान लाग्दा चितुवा हाइभोल्टेजको ट्रान्सफर्मरमा परेछ, पहिलो पटक करेन्ट लागेर चितुवा मरेको देखें,’ गुप्ताले सेतोपाटीसँग भने, ‘एक वर्ष पनि नपुगेको पोथी चितुवा रैछ। निकै दु:ख लाग्यो।’
गुप्ताको टोलीले मृत चितुवालाई ल्याएर गोकर्णको जंगलमा गाडेको छ।
सहायक वन अधिकृत गुप्ताले ट्रान्सफर्मरको फेदमा माटो भरेकाले चितुवा माथि चढेको बताए। जमिनको सतहबाट साढे २ देखि तीन मिटरमाथि हुनु पर्ने ट्रान्सफर्मर जगमा माटो हालेपछि सतह र ट्रान्सफर्मरको दूरी १ मिटरभन्दा कम भएको थियो।
ट्रान्सफर्मरको छेउमा पर्खाल लगाएर माटो भर्ने काम खड्काले गरेका थिए।
‘घडेरी बनाउन माथिको जग्गा सम्याउँदा आएको माटोलाई पर्खाल लगाएर राखेको थिएँ,’ खड्काले भने,‘बिजुलीको पोल र ट्रान्सफर्मर सार्ने भन्दाभन्दै आज घटना भइहाल्यो।’
उनले आजै विद्युत प्राधिकरणको माखलबारी कार्यालयमा गएर निवेदन दिइसकेको बताए।
‘उहाँहरूले छिटै पोल र ट्रान्सफर्मर सारिदिन्छौं भन्नुभएको छ,’ खड्काले भने।