संसदीय पत्रकारहरूको अन्तरप्रदेश सम्मेलन ६ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ।
संसदीय मामिला पत्रकार समाज प्रदेश ५ ले आयोजना गरेको संसदीय पत्रकार अन्तरप्रदेश सम्मेलनले संसदीय मामिला पत्रकारहरूले सञ्चारसम्बन्धी ऐन, कानुन निर्माण तथा संशोधन एवं कार्यान्वयनका सन्दर्भमा सरोकारवाला निकायसँगको गहन छलफल र सुझावसहित सञ्चारमैत्री बनाउन माग गरेको छ।
सम्मेलनले राज्यको पुनर्संरचनापछि संघीय पद्धतिअन्तर्गत प्रदेश सभाको व्यवस्था नौलो र प्रदेशस्तरमा संसदीय क्षेत्रमा कलम चलाउने विषय पत्रकारहरूको लागि पनि नौलो रहेकोले पत्रकारहरूको क्षमता अभिवृद्धिको व्यवस्था गर्न सात वटै प्रदेशका प्रदेश सभा र प्रदेश सरकारसँग माग गरेको छ।
यस्तै, सम्मेलनले प्रदेश सभामा रिपोर्टिङ गर्नका लागि पत्रकारहरूलाई सहज वातावरण बनाउन, मिडिया सेन्टर स्थापना गर्न, विभिन्न माध्यमहरूबाट ज्ञान एवं अनुभव आदान प्रदान गर्न, अर्थपूर्ण सहभागिताका लागि तथा सूचना प्राप्त गर्ने सहज वातावरण बनाउनका लागि प्रदेश सभाहरूसँग माग गरेको छ।
यस्तै, संसदीय पत्रकारहरूबीच समन्वय, सहकार्य र संयुक्त कार्यक्रम, अनुसन्धान र अध्ययनलाई सहज बनाउन संसदीय पत्रकार अन्तर प्रदेश सञ्जाल गठन भएको छ।
प्रदेश नं. ५ का अध्यक्ष विष्णुप्रसाद घिमिरेको संयोजकत्वमा गठन गरिएको सञ्जालमा सबै प्रदेशका संसदीय मामिला पत्रकार समाजका अध्यक्षहरू सदस्य र प्रदेश नं. ५ का महासचिव सिपी खनाल सदस्य सचिव रहेका छन्।
संसद सहयोग परियोजना युएनडिपीको सहकार्यमा लुम्बिनीमा दुई दिनसम्म भएको तालिममा ७ वटै प्रदेशका ४० जना संसदीय पत्रकारको सहभागिता रहेको थियो।
खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउंले, वरिष्ठ पत्रकार तारानाथ दाहाल र डिआर घिमिरेले नेपालको संसदीय पत्रकारिता अभ्यास, प्रदेश सभामा पत्रकारिताको अभ्यास र चुनौती, संसद्, संसदीय समितिहरूमा समाचारका स्रोत, संसदमा खोज पत्रकारिता लगायतका विषयमा सहजीकरण गरेका थिए ।